क्रिकेट ट्रफीसँग रचना रिमालः क्यानले स्पष्टीकरण सोधेको हो ? – Nepal Press

क्रिकेट ट्रफीसँग रचना रिमालः क्यानले स्पष्टीकरण सोधेको हो ?

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा सोमबार नेपाल र पपुआ न्युगिनी (पीएनजी) बीच क्रिकेट चलिरहँदा एक परिचित सेलिब्रिटी दर्शकदिर्घामा देखिइन् । नेपालको झण्डा बोकेकी उनी हुटिङ गर्दै नेपाली खेलाडीहरुलाई जोस्याइरहेकी थिइन् ।

यी क्रिकेटप्रेमी सेलिब्रिटी हुन् गायिका रचना रिमाल । उनी टिकट काटेरै त्रिकोणात्मक टी-२० सिरिजको फाइनल हेर्न पुगेकी थिइन् । खेल अवधिभर दर्शकदिर्घामा रमाइरहेकी रचना पुरस्कार वितरण समारोहमा भने एकाएक मैदानमा देखिइन् । उनले कप्तान सन्दीप लामिछानेसँग ट्रफीसहित खिचेको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । दर्शकका रूपमा खेल हेर्न पुगेकी उनले मैदानमै गएर ट्रफी समात्ने अवसर कसरी पाइन् भन्ने कतिपयले चासो पनि राखेका छन् ।

नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार रचनाले आधाजति समय आम दर्शकहरूसँग बसेर खेल हेरेकी थिइन् । त्यसपछि आफूहरूले नै बोलाएर भीआईपी बस्ने ठाउँमा लगेको उनले जानकारी दिए ।

‘रचनाजी दर्शकतिर रहेको थाहा पाएपछि उहाँलाई हामीले भीआईपी एरियामा बोलाएका हौँ । उहाँ र मैले सँगै बसेर खेल हेरेका हौँ’, मल्लले भने ।

भीआईपीमा रहेकैले रचनाले अतिथिका रूपमा मैदान प्रवेश गरेको र तस्विर खिचाएको हुन सक्ने मल्लले बताए ।

‘खेल सकिएपछि अतिथिहरू मैदान प्रवेश गरेर बधाई आदानप्रदान गर्ने चलन हुन्छ,’ उनले भने, ‘भीआईपीमा बसेका कतिपयलाई क्यान आफैले बोलाएको हो भने कतिपयले सम्पर्क गरेपछि पास उपलब्ध गराइएको हो ।’

यसपटक क्यानले प्रतियोगिताको म्यानेजमेन्ट गर्ने जिम्मा सुन्बी होल्डिङलाई एक करोड २० लाख रूपैयाँमा दिएको थियो । क्यानलाई उक्त रकम दिएबापत होल्डिङले प्रायोजन, टिकटमार्फत आउने रकम आफैंले राख्न पाउने थियो । खेल भइरहेका बेला ठूलो संख्यामा दर्शक गेट भत्काउँदै प्रवेश गरेको विषयमा क्यानले सुन्बीसँग जानकारी मागेको मल्लले बताए ।

यता रचनाले ट्रफीसँग तस्बिर खिचाएको विषयमा क्यानले स्पष्टीकरण सोधेको भनेर पनि समाचारहरु आएका छन् । मल्लले भने यसको खण्डन गरे । ‘मेरो भनाइलाई तोडमोड गरेर समाचारहरू आइरहेका छन्, स्पष्टीकरण सोधिएको भन्ने कुरा गलत हो,’ उनले नेपाल प्रेससँग भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर