एआईजी सिफारिसविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन – Nepal Press

एआईजी सिफारिसविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अदालतले प्रतिवादीहरूलाई कारण देखाउ आदेशसहित अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाएको छ ।

डीआईजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ कार्कीले दर्ता गरेको रिटमा मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।

उनीहरू तीनैजना वैशाख १८ बाट अनिवार्य अवकाशमा जाँदैछन् ।

नेपाल प्रहरीमा थपिएका तीनवटा एआईजी दरबन्दीमा गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको बढुवा समितिले धिरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई सिफारिस गरेको थियो । तर, वरिष्ठता मिचेर बढुवा सिफारिस गरेको भन्दै कार्कीद्वय र अर्याल उजुरी सुन्ने समितिमा पुगेका थिए ।

लोक सेवा आयोगका अध्यक्षले नेतृत्व गर्ने उजुरी सुन्ने समितीले बढुवा समितिको निर्णय सदर गरेपछि असन्तुष्ट डीआईजीहरू सर्वोच्च अदालत पुगेका हुन् । बढुवा सिफारिसमा परेका डीआईजीलाई भने सरकारले एआईजीमा बढुवा गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *