गुल्मीको मालिका गाउँपालिकामा यसरी बाँडे गठबन्धनले पद – Nepal Press

गुल्मीको मालिका गाउँपालिकामा यसरी बाँडे गठबन्धनले पद

रुपन्देही । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा सत्तारुढ गठबन्धन दलहरुले पद बाँडफाँडसहितको चुनावी तालमेलको घोषणा गरेका छन् ।

यो गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेका हुन् ।

गठबन्धनको चुनावी घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा मालिका गाउँपालिकाको अर्खबाङ्गमा गरिएको पत्रकार सम्मेलनमा भागबन्डा मिलेको गठबन्धन दलले जनाए । मालिका गाउँपालिकामा अध्यक्षसहित २ वटा वडाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

नेपाली कांग्रेसको भागमा उपाध्यक्षसहित ६ वटा वडाध्यक्ष परेको नेपाली कांग्रेस मालिका गाउँपालिकाका सभापति उपेन्द्र अर्यालले जानकारी दिए । गठबन्धन दलबाट अध्यक्ष पदका उमेदवार बनेका नेकपा माओवादी केन्द्र मालिका गाउँ कमिटी अध्यक्ष देविराम अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रको भागमा गाउँपालिकाको वडानम्बर ३ र वडानम्बर ८ परेको हो । बाँकी वडाहरु नेपाली कांग्रेसको भागमा परेको छ । नेकपा (एकीकृत समाजवादी)को भागमा भने वडासदस्यहरु परेका छन् ।

नेपाली कांग्रेसले पालिकाको उपाध्यक्ष पदको उम्मेदवार भने अझै टुङ्गाएको छैन । गठबन्धन दलले लिखित रुपमा भागबन्डाको सम्झौता गरेपछि गठबन्धनको चुनावी घोषणा कार्यक्रम अर्खबाङ्गमा आयोजना गरेका हुन् ।

मालिका गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदार गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित विजयी भएका थिए । मुख्य ३ वटा दल छुट्टाछुट्टै निर्वाचनमा गएका थिए । मालिका गाउँपालिकामा ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको मत ४ हजार ४२ नेपाली कांग्रेसले ३ हजार ४४७ र नेकपा माओवादी केन्द्रको २ हजार ४० मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर