त्रिपुरासुन्दरीको अध्यक्षमा पौडेलको सशक्त दाबी, भन्छन्- चारै पुस्ताको भावना समेटेर अघि बढ्छु – Nepal Press

त्रिपुरासुन्दरीको अध्यक्षमा पौडेलको सशक्त दाबी, भन्छन्- चारै पुस्ताको भावना समेटेर अघि बढ्छु

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको पुराना नेता मेघनाथ पौडेलले वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा त्रिपुरासुन्दरी गाउँपालिकामा अध्यक्ष पदमा सशक्त दाबी गर्ने भएका छन् ।

लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेका पौडेलको अघिल्लो स्थानीय निर्वाचनमा पनि अध्यक्षमा दाबी थियो । अन्तिममा पार्टीभित्र समस्या नबन्ने भन्दै हालका गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठलाई समर्थन गर्दै उनी ब्याक भएका थिए । योपटक भने चारै पुस्ताको भावनालाई समेटेर अघि बढ्ने भन्दै गाउँपालिका अध्यक्षमा टिकट पाउनेमा पौडेल विश्वस्थ छन् ।

सामन्त र पन्चायतको विरोध गरेबापत पटक–पटक जेल परेका पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै दुई वर्ष जेल जीवनमा थिए । यति मात्रै होइन पार्टीमा प्रतिबद्ध भएर लागेबापत नै पौडेललाई माओवादी युद्धका क्रममा एक महिनासम्म अपहरण गरेर बेपत्ता बनाइएको थियो । एमाले केन्द्र र जिल्लाको दबाबमा पौडेललाई अपहरण गरेको एक महिनापछि सकुशल रिहा गर्न माओवादी बाध्य भएको थियो ।

पार्टी र समग्र त्रिपुरासुन्दरी गाउँपालिकाको विकासको लागि आफू लामोसमयदेखि सक्रिय रहँदै आएकोले पार्टीले योपटक आफूलाई न्याय गर्नेमा विश्वस्थ रहेको पौडेलले बताए । ‘म योपटक चारै पुस्ताको भावना समेट्ने गरेर गाउँपालिका अध्यक्षमा दाबी गर्छु’, पौडेलले भने, ‘मेरो दाबी मात्रै होइन, पार्टीले योपटक मलाई न्याय नै गर्नेमा विश्वस्थ छु ।’

पौडेलको राजनीतिक जीवन, पौडेलकै शब्दमा

२०२७–२८ सालमा गाउँ घरमा सामान्य मान्छेलाई ठूलाबढा भन्नेहरुले असाध्यै धेरै शोषण गर्थे, दमन गर्थे । दमनको विरुद्ध म धेरै त बोल्न सक्ने भैसकेको थिइनँ तर टुलुटुलु हेरेर बस्नसक्ने अवस्था पनि थिएन । अति भएको देखेपछि त्यहीं शोषण दमनको विरोधमा लाग्न थालें । पछि थाहा पाएँ, त्यसरी शोषण दमनको विरुद्धमा लाग्नेहरुलाइ कम्युनिष्ट भनिँदो रहेछ ।

म सुरुमा कम्युनिष्ट हुन लागेको हैन । अन्याय अत्याचार र उत्पीडनको विरुद्धमा बोल्न थालें । यसरी उत्पीडितको पक्षमा लाग्ने र उत्पीडनको विरोध गर्नेहरु कम्युनिष्ट हुँदा रहेछन् । म पार्टीमा नै संगठीत भएको २०३३ सालदेखि हो । २०३८–३९ साल देखि अलिअलि पार्टी काममा सहभागी हुन थालियो । त्यतिबेला किसान संघको इलाका कमिटीबाट मेरो राजनीतिक यात्रा सुरु भएको थियो ।

४० सालको सेरोफेरोमा पिस्करलगायत जिल्लाका विभिन्न भागमा सामन्तहरुको अन्याय अत्याचारका विरुद्धमा विभिन्न साँस्कृतिक सचेतनाका कार्यक्रमहरु हुन थालेका थिए । यही अभियानअन्र्तगत म पनि आफूलाई खटाएको क्षेत्रमा क्रियाशील थिएँ ।

हामीहरुले चिनियाँ चित्रकथाहरुका आधारमा जनतालाई सचेत गराउने कार्यक्रमहरु आयोजना गर्ने गरेका थियौं । त्यही कार्यक्रमहरुको माध्यमबाट जनतालाई जागरुक बनाउँथ्यौं । अभियानका क्रममा हाम्रा साथीहरु पिस्करमा ‘आधारातमा बास्ने भाले’ भन्ने नाटक देखाउँदै थिए । पञ्चायती शासकहरुले नाटक देखाउँदै गर्दा अन्धाधुन्ध गोली चलाए । इली र वीरबहादुर थामी दुई जनासाथीहरुको गोली लागेर त्यहीं मृत्यु भयो । मेरो जिम्मेवारी चै त्यो दिन पिस्कर थिएन । मेरो जिम्मा चोकटीको लाटुमा आयोजना भएको त्यस्तै अर्काे कार्यक्रममा थियो ।

जेल जीवन

त्यति बेला सामन्त र उनीहरुका मतियारले व्यवस्था परीवर्तनमा लाग्नेहरुलाई विभिन्न झुठा आरोप लगाएर भए पनि जेलनेलको सजायँ दिन्थे । म पनि त्यस्तो धेरै यातनाको शिकार भएको छु । पक्राउ परिन्थ्यो । पुलिसले लैजान्थ्यो तर के अभियोग भन्ने थाहा हुँदैन थियो । मैले पटक–पटक यस्ता क्रुर यातनाहरुको कठोर सामना गरेको छु ।

विभिन्न जेलका ती कठिन दिनहरु सम्झँदा अहिले पनि दुःख होइन, बेथिति विकृतिका विरुद्ध आगो ओकल्ने साहासको पुनरागमन हुन्छ । जेल जीवनका विभिन्न सुखद, दःुखद अनुभूतिहरु यति धेरै छन् कि ती दिनकै मात्रै छुट्टै कथा बन्छ जस्तो लाग्छ । मसँग त्यतिबेला एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत धेरै नेताहरु जेलमा सँगै थियौं । जेलमा बस्दा उहाँले हामीलाई धेरै माया गर्नुहुन्थ्यो ।

जेलबाट रिहा भइसकेपछि २०४४ साल कात्तिकबाट मलाई पार्टीले काममा खटायो । जिल्ला कमिटीमा आबद्ध भएँ । जिल्लाकै बाहुनेपाटीमा बसेर हामीले पाँचजनाको पार्टी जिल्ला कमिटी गठन गरेका थियौं । त्यसभित्र ३ जना जिल्ला र २ जना बाहिरको हुनुहुन्थ्यो ।

केशव बडाल र बालचन्द्र मिश्र जिल्ला बाहिरका हुनुहुन्थ्यो । डम्बर अर्याल, मेघनाथ पौडेल र रामप्रसाद नेपाल हामी तिन जना मात्रै सिन्धुपाल्चोकका थियौं । त्यसयता म निरन्तर पार्टीले दिएको जिल्ला उपाध्यक्षसहितको विभिन्न जिम्मेवारी पूरा गर्दै आइरहेको छु ।

सिन्धुपाल्चोकमा एमाले कमजोर भएको छैन

रुपमा एमाले कमजोर भए जस्तो कसैलाई लाग्ला तर सारमा त्यस्तो छैन । यो नेताहरुले जोगाएको वा बचाएको पार्टी हैन । नेताहरुले आफ्ना स्वार्थ हितका लागि पटक पटक पार्टी फोर्दै आएका छन् । तर नेकपा एमाले आमशोषित, पीडित र पछिल्ला वर्षहरुमा सुःखी नेपाली समृद्ध नेपालको चाहाना राख्ने आम मतदाता र तल्लो तहको भूगोलमा काम गर्ने हामी जस्ता कार्याकर्ताहरुले जोगाएको पार्टी हो ।

दुई छाक टार्न नसक्ने आमादिदी बहिनीहरु, पैताला फाटेका किसान, न्यून मूल्यमा श्रम बेच्न बाध्य मजदुर तथा यस्तै यस्तै देशभक्ती र राष्ट्रभक्ति भावले ओतप्रोत भएका जनताको मायाले बाँचेको पार्टी भएकाले एमाले मानिसहरुले हल्ला गरेजस्तो कमजोर पार्टी हैन । यद्यपि, केही समस्याहरु भएजस्तो लाग्छ मलाई । फुटको कुनै पनि असर छैन भन्न त सक्दिनँ । तर आत्तिनुपर्ने अवस्था छैन ।

उम्मेदवारीमा दाबी

मेरो अघिल्लोपटक नै अध्यक्षमा दाबी थियो । तर सहमति गरौं भन्ने हिसाबले मैले छाडेको हुँ । उम्मेदवारी दाखिल र छलफलका कतिपय मापदण्डलाई अलि हतारमा टुंग्याइयो त्यतिबेला ।

यसपटक मेरो पनि गाउँपालिका अध्यक्षका लागि दाबेदारी छ । र विजय हुने आधारहरु पनि पर्याप्त छन् । यसपाला म मेरो निजी राजीखुसीले मात्रै दाबी गर्ने होइन । पार्टी नेतृत्व र आम त्रिपुराबासी दाजुभाइ दिदीबहिनीसँग सल्लाह गरेर पार्टीको विधि पद्धतिसम्मत ढंगले दाबी गर्छु ।

मभन्दा अग्रज र पछिका गरी चारै पुस्ताका धेरैले मलाई योपटक पालिकाको नेतृत्व लिन उत्प्रेरीत गर्नु भएको छ । र मैले पनि स्वभाविक ठानेर तयारी निकै अघि बढाइसकेको छु । म योपटक ब्याक हुँदिन । किनकि म अघिल्लोपटक पनि पार्टीको आग्रहमा ब्याक भएको छु । मैले पार्टीले भन्दा पटक पटक त्याग गर्दै आएको छु र योपटक त्याग अरु साथीहरुले गर्नुपर्छ । एकै व्यक्तिलाई पटक पटक पार्टीले अवसर दिनु हुँदैन । अवसरको समान बाँडफाँट हुनु पर्छ भन्ने मेरो मान्यता छ ।

नेकपा एमालेले गाउँपालिका जितेपछिको विकास

२०७४ को स्थानीय निर्वाचनमा जितेपछि नेकपा एमालेले त्रिपुरासुन्दरी गाउँपालिकामा धेरै विकास निर्माणको कामहरु गरेको छ । म पार्टीको अगुवा भएको नाताले गाउँपालिका अध्यक्षले हरेक सवालहरुमा सरसल्लाह र छलफल गरेर अगाडि बढ्नु भएकाले पनि अहिले गाउँपालिकाले गरेका राम्रा, नराम्रो सबै कामको भागिदार म पनि हुन्छु नै । असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । धेरै कामहरु राम्रा भएका छन् ।

पहिलो अनुभव भएकाले धेरै कामहरु अपेक्षित हुन सकेनन् होला । तर समयावधि सकिँदै गरेका प्रतिनिधिले राम्रै काम गरेको देख्छु म । जुनजुन क्षेत्रमा विशेष योजनाका साथ लाग्नुपर्ने थियो, त्यस्ता क्षेत्रको पहिचान भएको जस्तो लागेको छैन । जनताको जीवनस्तर उकास्ने किसिमका योजनाहरु ल्याउन सक्नुपथ्र्यो । त्यता अलि कम ध्यान पुगेजस्तो लाग्छ । तर सामग्रमा त्रिपुरासुन्दरी गाउँपालिकाले धेरै उदाहरणीय कामहरु गरेको छ ।

गाउँपालिकाको विकासमा अगुवाइ

पहिला पनि गाउँ र यो क्षेत्रको अगुवा भएकाले यस क्षेत्रको समग्र विकासका लागि मैले सुरुदेखि नै पहल र प्रयत्न गरेको छु । मेरो अगुवाइमा सुरुवात भएको बाह्रबिसे–बुदेपा सडक अहिले स्तोरन्नति हुँदैछ ।

बाह्रबिसे–धुस्कुन–पात्ले–लाटु सडकमा नियमित बस सन्चालनमा छ । बगर–लाटु सडक स्तर सुधार हुँदैछ । सबैकुरा मैले नै गरे भनेर दाबी पनि गर्दिनँ । तर मैले हिजो विकासको एउटा खाका कोरेको थिएँ र अहिले पनि मसँग विभिन्न विकासका दृष्टिकोण छन् । म सबै जनसमुदायलाई सहभागी गराएर, जनताले छनोट गरेका विषयमा जनताले नै अपनत्व लिनेगरी विभिन्न योजनाहरुलाई अघि बढाउँछु ।

अहिले पनि जनस्तरबाट कतिपय असन्तुष्टिहरु आइरहेका छन् । म जनताका असन्तुष्टिलाई कम गर्ने गरी काम गर्छु । मान्छेका आधारभूत सवाल, जस्तै शिक्षा स्वास्थ्य रोजगारीलगायतका विषय उठाउने छु । प्रशासनिक सुधारमा सुशासनलाई प्राथमिकतामा राखेर काम गर्नेछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर