बाँदर आतंकले राजारानीका खेतबारी बाँझै, तनावमा स्थानीय – Nepal Press

बाँदर आतंकले राजारानीका खेतबारी बाँझै, तनावमा स्थानीय

इटहरी । सानुमाया मगर बिहे गरेर उत्तरी मोरङको लेटाङ नगरपालिका– १ राजारानीमा आएको ३५ वर्ष भयो । यो अवधिमा गाउँमा धेरै परिवर्तन भएको छ । गाउँमा बिजुली बल्यो, सडक खनियो, विद्यालय भवन बने । तर एउटै कुरा फेरिएको छैन– बाँदर आतंक ।

सानुमायाले जुन अन्नबाली लागाए पनि बाँदरले खाएर हैरान पारेको छ । ‘खोप्रा (बाँदर रुङ्दा बस्न बनाइएको ओत)मा बसेर बाँदर रुँघे पनि आँखा झिमिक्क हुनासाथ बालीनाली खाइहाल्ने’, सानुमायाले भनिन्, ‘त्यहीं हैरानीले गर्दा मैले खेतीपाती गर्न छोडेको २७ वर्ष भयो ।’

उनले करिब १० रोपनी जग्गमा अमलिसो, केरा, कोदो, मकै, तोरी जस्ता बाली लगाउँथिन् । तर बाँदरले दुःख दिन थालेपछि उनले बाली लगाउनै छाडेकी छन् । भनिन्, ‘खेती गर्दा बाँदरलाई अधिँया लाएको जस्तो भयो । आधाभन्दा धेरै बाँदरको, बाँकी मात्रै घरको भयो । लगानी उठ्नै गाह्रो भयो ।’

बाँदरका कारण उब्जनीमा समस्या पारेपछि सानुमायाको परिवारले ७ रोपनी जग्गा नै बिक्रि गर्यो । अहिले उनले गाउँमै पसल खोलेकी छिन् । खेतीपातीमा उनको परिवार निर्भर छैन ।

रानी पोखरी शीर, राजा पोखरी शीर, लोप्रा खोला, थाकलबारी आदि क्षेत्रबाट हुलका हुल आउने बाँदर आतंकबाट पीडित अर्की स्थानीय हुन् मनमाया मगर । मनमाया बिहे गरेर राजारानी आएको ३० वर्ष पुग्यो । एक रोपनी नम्बरी जग्गा र केही ऐलानी जग्गामा खेतीपाती गर्ने मनमायाले बाँदरको तनाव झेलेको पनि ३० वर्ष नै भयो । ‘मेरो एक रोपनीको पाखो छ, त्यहाँ केही उमार्यो कि बाँदरले खाइजान्छ’, मनमाया भन्छिन्, ‘बाँदरले सबै कुरा खान्छ । कतिपय त उम्रन पनि पाउँदैन ।’ बाँदर तनावले खेतीपातीबाट मनमायाको परिवार पनि विस्थापित जस्तै भएको छ ।

बाँदरले नखाने बाली अदुवा मात्रै देखेको मनमाया बताउँछिन् । अदुवा पिरो हुनाले मात्रै बाँदरले नरुचाएको हुनसक्ने उनको अनुमान छ ।

सानुमाया र मनमाया जस्तै पीडा धेरै गाँउलेको छ । यो पीडाको ठूलो बोझ गाउँका महिलाको भएको सानुमाया बताउँछिन् । उनी भन्छिन्, ‘घर हेर्नु कि बाँदर हेर्नु कि के हेर्नु, स्वास्नीमान्छेलाई धौधौ छ ।’

सानुमाया र मनमाया जस्तै बाँदर आतंक भोगेका र देखेका स्थानीय हुन् अकलबहादुर मगर । ५८ वर्षका अकलबहादुर राजारानीमै जन्मेको बताउँछन् । ५८ वर्षमा उनले बाँदरको समस्या घट्नुको साटो बढेको सुनाउँछन् । उनी भन्छन्, ‘बरु गाउँलेको जनसंख्या बसाइसराइले घट्यो होला तर बाँदरको संख्या बढेर तनाव झन् बढेको छ ।’

बाँदर तनावका कारण अकलबहादुरले आफ्नो १० रोपनी जग्गामा आफूले चाहेको खेतीपाती गर्न सकेका छैनन् । उनले केरा खेती लाएका छन् । भन्छन्, ‘केरा पनि खान्छ तर अरु बाली जस्तो सबै चाहिँ खाँदैन ।’

लेटाङ १ का सानुमाया, मनमाया र अकलबहादुर मात्रै पीडित बाँदरपीडित हैनन् । वडाका चार सय घरधुरी बाँदरबाट पीडित बनेको बताउँछन् वडा अध्यक्ष विष्णुकुमार मगर । मगरका अनुसार झन्डै पाँच हजार जनसंख्या भएको वडामा ८६५ घर छन् । त्यसमा चार सय घरलाई बाँदरको तनाव छ । ‘बाँदरको समस्या बिकराल छ’, अध्यक्ष मगर भन्छन्, ‘यसको स्थायी समाधान निकाल्न अहिलेसम्म सकिएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *