भूमिहीनलाई लालपुर्जा बाँड्दै प्रचण्डले भने- भरतपुरमा विकासको लहर, रेणुको बुबा भनेर चिनिन थालेँ (भिडिओ) – Nepal Press

भूमिहीनलाई लालपुर्जा बाँड्दै प्रचण्डले भने- भरतपुरमा विकासको लहर, रेणुको बुबा भनेर चिनिन थालेँ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरपुर महानगरमा विकासको सृष्टि भएको दाबी गरेका छन् ।

महानगरकी मेयर आफ्नी छोरी रेणु दाहालको उनले खुलेर तारिफ गरे ।

भरतपुरको आँपटारीमा भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र बाँड्दै प्रचण्डले आफू चितवनमा रेणुको बुवाको रूपमा चिनिन थालेको बताए ।

उनले भने, ‘युद्ध कालदेखि राजनीतिमा रेणुको आफ्नै त्याग–तपस्या थियो । तर, २०७४ सालको चुनावमा रेणु चितवन आउँदा प्रचण्डको छोरी आइन् भन्ने गर्थे । अहिले त्यो फेरिएको छ । अहिले रेणुको बुवा प्रचण्ड भनेर चिनिन थालेको छु ।’

महिलाहरूले चाहेमा धेरै गर्न सक्छन् भन्ने पुष्टि भएको प्रचण्डले उल्लेख गरे । माओवादीबाट सरकारमा रहेका महिला मन्त्रीहरूको पनि उनले प्रशंसा गरे ।

‘शशीजी (शशी श्रेष्ठ) को इच्छाशक्ति र दृढता देखेर भूमि व्यवस्था मन्त्री बनाएको थिए । अहिले यस्तो राम्रो काम गर्नुभएको छ । उर्जामन्त्री पम्फालाई बनाइयो । उहाँले २० युनिट बिजुली निः शुल्क गरिदिनुभयो । महिलाले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता र सुशासन बढी देखिएको छ ।’ प्रचण्डले भने ।

प्रचण्डले आगामी स्थानीय तह निर्वाचनमा महिलालाई धेरै ठाउँमा मेयर र पालिका प्रमुख बनाउने विचार रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर