सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरीको बीओपी स्थापना
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका तीन गुम्बामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधवार एक समारोहकाबिच बीओपीको उद्घाटन गरेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा स्थापना भएको उक्त बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी पैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध जिम्मेवारीमा परिचालित हुनेछ ।
सिन्धुपाल्चोकको सदरमुकामदेखि करिब एक सय १४ किलोमिटरको दुरीमा नेपाल चीन सीमा नाकामा स्थापना गरिएको उक्त बीओपीले बुधवारबाटै कार्य सञ्चालन गरेको हो ।
त्यसै अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारको सिमानाकामा सशस्त्र प्रहरीको परिचालन बढाउने नीति अनुरूप सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्दै लगिएको बताए ।
सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमबहादुर भट्टराईको कमान्डमा आवश्यक बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपालको टोली त्यस ठाउँमा खटिएको छ ।