अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने महिलामन्त्री रेग्मीको प्रतिवद्धता


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकी छन् । नेपाल अपाङ्ग पुर्नस्थापना केन्द्रले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता भएका समुदायको हकहितको लागि रोकिएर बसेका अपाङ्गता सम्बन्धी कार्यविधि यथाशिघ्र परिमार्जित गरेर कार्यान्वयन गर्न पहल भइरहेको बताईन ।
मन्त्री रेग्मीले अहिले रातो कार्ड भएकाले मात्रै सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था भएकोले त्यसलाई परिमार्जन गरेर निलो वा अरू कार्ड भएकालाई पनि सामाजिक सुरक्षा भत्ता दिलाउने प्रयासमा आफू प्रयासरत रहेको बताईन । अपाङ्गता भएका विभिन्न व्यक्तिलाई सामग्री वितरण गर्दै मन्त्री रेग्मीले भनिन्, ‘एउटा हात नभएको व्यक्तिले कसरी गरी खाने ? अपाङ्गताको श्रेणीमा मात्र राखेर भएन, गरेर खाने व्यवस्था पनि त हुन पर्याे।’
अपाङ्गता भएका समुदायको हकहितको लागि आफू सधैँ अग्र पङ्क्तिमा रहेको बताउदैँ मन्त्री रेग्मीले आगामी बजेटमा अपाङ्गता क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएकोसमेत बताईन । ‘राज्यको स्रोत साधनले नभ्याएर पनि होला, तर अपाङ्गता भएका समुदायलाई गाँस काटेर भए पनि प्राथमिकता दिन पर्छ । आफ्नो अधिकारको लागि सबैले सशक्त रूपमा आवाज उठाउन जरुरी छ ।’ नेपाल अपाङ्ग पुर्नस्थापना केन्द्रले अपाङ्गता भएका विभिन्न व्यक्तिलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमार्फत व्हिल चेयर, कमोड चेयर, हट ब्याग, सेनिटरि प्याड, बैसाखी लगायतका सामग्रीवितरण गरेको हो ।