तीनपटक ‘जय नेपाल’ भन्दै शेखरले भने- महाधिवेशनका तिक्तता बिर्सौं – Nepal Press

तीनपटक ‘जय नेपाल’ भन्दै शेखरले भने- महाधिवेशनका तिक्तता बिर्सौं

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालै सम्पन्न पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा हुँदा देखिएको तिक्तता बिर्सेर चुनावमा होमिन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले पार्टीभित्रको प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसले राष्ट्रिय निर्वाचनमा असर गर्न नहुने बताए ।

‘भर्खरै महाधिवेशन भएकोले केही न केही तिक्तता होला । त्यसलाई म अस्वाभाविक मान्दिनँ । तर, अहिले ती तिक्तता मेटाउन जरुरी छ । कांग्रेसलाई जिताउन तिक्तता हटाउनैपर्छ । नेपाली कांग्रेस मात्रै एक भयो भने कसैले हराउन सक्दैन’, कोइरालाले भने ।

उनले कांग्रेस एक लोकतान्त्रिक पार्टी भएकोले बोलेका कुरा गरेर देखाउनुपर्ने र गर्नसक्ने कुरा मात्रै बोल्नुपर्ने बताए ।

‘नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । हामी जे भन्छौं त्यो गर्छौं । अब चुनावको बेला छ, जति काम हामी गर्नसक्छौं त्यतिमात्रै बोलौं’, उनले भने ।

कोइरालाले स्थानीय निर्वाचनको घोषणापत्र बनाउँदा ५ वर्षमा गर्न सकिने काम मात्रै उल्लेख गर्न सुझाव दिए । कोइरालाले भ्यू टावरमा नभइ शिक्षा र स्वास्थ्यमा स्थानीय तहले लगानी गर्नुपर्ने बताए ।

आफ्नो सम्बोधनको अन्तिममा कोइरालाले सभामा उपस्थित कार्यकर्ताहरुलाई आफूसँगै ३ पटक ‘जय नेपाल’ भन्न लगाएका थिए । विगतमा गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाले पार्टी कार्यक्रमहरूमा सम्बोधनको अन्त्यमा ३ पटक जय नेपाल भन्ने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर