बर्दियामा ओली पुग्दा उर्लिएको उभार, गुलरियाकी उपमेयर र वडाध्यक्षसहित सयौं एमालेमा (तस्बिरहरु) – Nepal Press

बर्दियामा ओली पुग्दा उर्लिएको उभार, गुलरियाकी उपमेयर र वडाध्यक्षसहित सयौं एमालेमा (तस्बिरहरु)

रुपन्देही । बर्दियामा नेपाली कांग्रेस गुलरिया नगरपालिकाका उपमेयर सुशीला गिरी, वडानम्बर ६ का वडाअध्यक्ष निरज शर्मालगायतका नेपाली कांग्रेसका नेताहरु सहित माओवादी,जसपा र विभिन्न पार्टी परित्याग गरी ४ हजार ५ सय जना एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले बिहीबार बर्दिया पुगेर उनीहरुलाई एमालेमा भित्राएका छन् । दिउसोको चर्को गर्मीका बाबजुत सदरमुकाम गुलरियामा भएको विशाल कार्यक्रममा स्थानीयको खचाखच रहेको थियो ।

त्यो भन्दा अगाडि बाँकेमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बाँकेका उपसचिव ईश्वर थापासहित नेकपा एसकै युवा संघका केन्द्रीय सदस्य राजु तामाङसहित पाँच सय जनालाई ओलीले एमालेमा प्रवेश गराएका थिए ।

एमाले केन्द्रीय सदस्य किस्मतकुमार कक्षपतिले बाँके बर्दियामा एमालेको असाधारण जनलहर आएको बताए ।

सो अवसरमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताएका छन् । लोकतन्त्र र विकास निर्माणको कामलाई अगाडि बढाउन एमालेले जित्नुपर्ने ओलीले बताए ।

बाँके र बर्दियामा आएको लहरले ले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा एमालेले जितेमात्रै देशको लोकतन्त्र र विकास निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने दावी गरे ।

ओलीले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने बताए । अध्यक्ष ओलीले भने, ‘देशलाई झन गरीव हुनबाट बचाउन सकिदैन र यी सबै समस्याबाट पार पाउन आगामी चुनावमा एमालेलाई जिताउनुपर्छ ।’ उनले सरकारले अस्पताल र विद्यालयका आयोजनाहरु समेत बन्द गर्न थालेकाले बृद्ध भत्तासमेत बाँड्न रोक्ने आशङ्का गरे ।

ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक-एक लाख रकम दिने घोषणा गरे । मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने ओलीले बताए । उनले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताए ।

उनले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने दाबी गरे । नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको ओलीले बताए ।

ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् । ‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ उनले भने,‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभर जनलहर चलेको छ ।’

किन आयो बाँके बर्दियामा एमालेको लहर ?

मंसिर १ गते एमाले अध्यक्ष ओलीले नेपालगन्ज निवासी मधेस आन्दोलनका एकजना नेता, राजपाका पूर्व सहमहामन्त्री, स्वतन्त्र राजनीतिक विचार समूहका नेता पशुपतिदयाल मिश्र एमालेमा औपचारिकरुपले प्रवेश गराएका थिए । उनीसहित त्यो दिन नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा करिब चार हजार ५ सय व्यक्तिहरु एमाले प्रवेश गरेपछि यहाँको राजनीति एकाएक चर्चित भएको हो ।

एमाले प्रवेश गरेपछि नेता मिश्रले एमालेको कार्यशैली र केपी ओलीको दृढता मन परेर पार्टीमा प्रवेश गरेको बताएका थिए । उनले नेकपा एमाले मधेश विरोधी भनेर लाग्ने आरोप गलत भएको पनि बताउँदे भने, ‘नेकपा एमाले मधेश विरोधी हो भनेर आरोप लाग्ने गरेको थियो, कि यो पार्टी मधेश विरोधी हो भनेर । केही कुराहरुले त्यो स्थापित भएको थियो । तर अहिले जब सहकार्य गर्‍यौँ, यो पार्टीको कार्य गर्ने शैली, अध्यक्ष कमरेड केपी ओलीको कार्य गर्ने शैली, मधेशप्रतिको दृष्टिकोण र कदम क्लियर छ । उहाँले धेरै विकास आयोजनाहरु मधेशमा ल्याउनुभएको छ । उहाँको निणर्य शक्ति दृढ हिसाबले काम गर्नुभयो ।’

नेपालगन्जको बालेगाउँस्थित मेरो प्लानेट फनपार्कमा ओलीले भनेका थिए ‘बाँकेको भलो होस् । बाँकेमा विकास होस् र बाँकेवासीको जय होस् ।’ ओलीले एमाले प्रवेश गरेका पशुपतिदयाल मिश्रको तारिफ गर्दै अब बाँकेलाई एमालेको लालकिल्ला बनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

मिश्रसँगै करिम खाँ, गिरिजा पाठकलगायतका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेपछि यसअघि नेपालगन्जमा एमालेले गुमाएको स्थानीय सरकार हात पार्ने आंकलन गरिएको छ ।

यस्तो थियो गत स्थानीय तहमा यहाँको मत परिणाम

बाँके
१. कोहोलपुर नगरपालिका: एमाले(९००७), कांग्रेस (८९२४), माओवादी (६२२१)

२. खजुरा गाउँपालिका: एमाले (८०७०), कांग्रेस (४९५४), माओवादी (६८९२)

३. जानकी गाउँपालिका: एमाले (३०८३), कांग्रेस (३००९), संघीय समाजवादी (२१५८), माओवादी(१९३४)

४. डुडुवा गाउँपालिका: कांग्रेस (४६९१), संघीय समाजवादी (४१९२), एमाले(१४६६), माओवादी (९३७)

५. नरैनापुर गाउँपालिका: संघीय समाजवादी(४०८०), कांग्रेस(३३८८), एमाले(१८७२), माओवादी(५७८)

६.नेपालगंज उपमहानगरपालिक: राप्रपा(१२५१५), कांग्रेस(८७३०), माओवादी(७१९८), एमाले(६९६५)

७. बैजनाथ गाउँपालिका: एमाले (९७७२), कांग्रेस(६५७६), माओवादी (५३६३)

८. राप्ती रोनारी गाउँपालिका: कांग्रेस (८२३६), एमाले(६९००), माओवादी(६६६४)

बर्दिया

१. गुलरिया नगरपालिका: कांग्रेस (६२०७), एमाले(५७३६), माओवादी (४९०४)

२. गेरुवा गाउँपालिका: कांग्रेस (६००३), माओवादी(५१५८), एमाले(२७०९)

३. ठाकुरबाबा नगरपालिका: एमाले (७०७४), माओवादी(६९५५), कांग्रेस(४५४०)

४. बढैयाताल गाउँपालिका: एमाले (८१९८), माओवादी(६८९६), कांग्रेस(४९६१)

५. बारबर्दिया नगरपालिका: माओवादी(११०४२), एमाले(८६४५), कांग्रेस (८१९९)

६. बासगढी नगरपालिका: एमाले (८७७५), माओवादी(७८२२), कांग्रेस(६४७६)

७. मधुवन नगरपालिका: माओवादी(८४३१), एमाले(५९२३), कांग्रेस(५४३१)

८. राजापुर नगरपालिका: माओवादी(९५३५), कांग्रेस(८८८३), एमाले(५२३५)

 


प्रतिक्रिया

One thought on “बर्दियामा ओली पुग्दा उर्लिएको उभार, गुलरियाकी उपमेयर र वडाध्यक्षसहित सयौं एमालेमा (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर