खुलामञ्चबाट लिङदेनको गर्जन : साँढेले दूध दिँदैन, चुनावमा कांग्रेस कम्युनिष्टको बाकस खालि गरिदिनुस् (भिडिओ) – Nepal Press

खुलामञ्चबाट लिङदेनको गर्जन : साँढेले दूध दिँदैन, चुनावमा कांग्रेस कम्युनिष्टको बाकस खालि गरिदिनुस् (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिष्टलाई भोट दिएर देश बन्छ भन्ने भ्रम नपाल्न आह्वान गरेका छन् । अबको चुनावमा जनताले विवेक नपुर्‍याए नेपाल श्रीलङ्का वा युक्रेन बन्न सक्ने उनले चेतावनी दिए ।

पार्टीले खुलामञ्चमा आयोजना गरेको जनसभामा बोल्दै लिङदेनले चुनावमा कांग्रेस, एमाले र माओवादीको बाकस खालि गरिदिन आह्वान गरेका थिए । ती दलहरूलाई ‘साँढे’ को संज्ञा दिँदै उनले तिनीहरूबाट दूधको आशा नराख्न सुझाव दिए ।

लिङदेनले भने, ‘साढेको टाङमुनि बाल्टी थापेर के दूधको आशा गर्नु ? जति सिर्कना हाने पनि, जति सुमसुम्याए पनि, जति दाना हाले पनि आउँदैन । किनकि साँढेको धर्म नै दूध दिने होइन । यी पार्टीहरू पनि यस्तै बाँझे भइसके ।’

एक वा दुई कार्यकालमा काम देखाउन नसकेकाले तेस्रोमा पनि नसक्ने उनको दाबी छ । नयाँ सोचका साथ देशलाई अगाडि लैजानका लागि राप्रपालाई भोट दिन लिङदेनले आग्रह गरे ।

आफ्नो पार्टीले जितेका स्थानीय तहमा १२ कक्षासम्म निशूल्क शिक्षा दिने उनले घोषणा गरे । महिनाको एक चोटि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण घरमै गएर गर्ने आश्वासन पनि उनले दिए ।

‘हामीले जितेको पालिकामा सुशासन कायम हुन्छ, आजको काम भोलि भन्ने हुँदैन,’ उनले भने, ‘मैले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भनेर मैले अतिरिक्त शपथ खाएको छु ।’

नेपाल अहिलेकै अवस्थामा अघि बढिरहे असफल राष्ट्र बन्न सक्ने लिङदेनले चेतावनी दिए ।

उनले भने, ‘ऋण लिएर देश चलाउने नेताहरूले देशलाई कहाँ पुर्‍याए ? १ केजी टमाटरको १८ सय पुग्यो रे । नेपाल पनि त्यही बाटोमा छ । यो ३१ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानाजस्तो बन्यो ।’

लिङदेनले तीन तहको निर्वाचनमा ठूला पार्टीहरूको बाकस खाली गरिदिन आह्वान गरे ।

‘यिनीहरूले बेइमानी गरे, तर यिनीहरूको बाटो छेक्नुस्, ढुङ्गा हाल्नुस्, कालो मोसो दल्नुस् भन्दैनौँ । यत्ति भन्छौँ, यो एक वर्षभित्र यिनीहरूको बाकस खालि गरेर देखाइदिनुस् । जनता कुनै पार्टीको गोठको गाई वस्तु होइन, सार्वभौम हुन् भन्ने प्रमाणित गरिदिनुस् । कति भाग्यलाई दोष दिएर बस्नुहुन्छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर