भारतमा पत्रकारमाथि प्रहरीको ज्यादती, अर्धनग्न बनाएर सामाजिक संजालमा फोटो पाेस्ट
काठमाडौं । छिमेकी मुलुक भारतमा प्रहरीले पत्रकारमाथि गरेको चरम ज्यादतीको एक तस्विर भाइरल बनिरहेको छ ।
उक्त तस्विर भारतको मध्य प्रदेश स्थित सिन्धी जिल्लाको हो भने तस्विरमा ८ जनालाई अर्धनग्न अवस्थामा उभाइएको देख्न सकिन्छ । स्थानीय संचार माध्यमले जानकारी गराएअनुसार तस्विरमा देखाइएका मध्ये दुई जना पत्रकार हुन् भने बाँकी ६ जना नाट्यकर्मी हुन् ।
भाजपाबाट निर्वाचित विधान सभा सदस्य केदारनाथ शुक्ला र उनका छोराको विरोध गरेको आरोपमा सिन्धी जिल्लाका एक नाट्यकर्मीलाई गिरफ्तार गरेपश्चात गत अप्रिल २ मा केही नाट्यकर्मीहरुले विरोध प्रदर्शन गरेका थिए भने केही पत्रकारले उक्त प्रदर्शनको रिपोर्टिङ गरिरहेका थिए ।
सोही क्रममा प्रहरीले नाट्यकर्मी सहित पत्रकारहरुलाई पनि पक्राउ गरेको थियो । पक्राउ गरेकाहरुलाई प्रहरीले चौकीमा लागि अर्धनग्न बनाई परेड गराएको र उनीहरुलाई लज्जित बनाउने लक्ष्यका साथ सामाजिक संजालमा फोटो हालेको बताइएको छ ।
यद्यपी प्रहरीले भने यसको खण्डन गरेको छ । पक्राउ परेका पत्रकार कनीष्क तिवारीले प्रहरीले विधान सभा सदस्य केदारनाथ शुक्लाको निर्देशनमा आफूहरु माथि ज्यादती गरेको बताएका छ्न् ।
सामाजिक संजालमा उक्त तस्विर भाइरल बने पश्चात भारतका संचार माध्यमहरुका सम्पादकहरुको समुह ईडिटर्स गिल्डले पनि हालै एक व्यक्तव्य जारी गरि घटनाको निन्दा गरेको छ ।
उक्त घटनामा संलग्न प्रहरीलाई निष्कासित गरिएता पनि घटनाको सत्य तथ्य छानविन गरिनुपर्ने इडिटर्स गिल्डको माग रहेको छ ।