दलहरूको छलफलबिनै पहिलोपल्ट आचारसंहिताः ओली – Nepal Press

दलहरूको छलफलबिनै पहिलोपल्ट आचारसंहिताः ओली

‘हामीलाई थाहा पनि छैन, दस्तखत पनि छैन’

काठमाडौं । सबै राजनीतिक दलहरूको छलफल र परामर्श बिनै निर्वाचन आयोगले आचारसंहिता ल्याएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । विपक्षी दलहरूसँग आचारसंहिताका विषयमा फिटिक्कै पनि छलफल/परामर्श नगरीएको उनको गुनासो छ ।

राजधानी आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले भने,‘२०४८ देखि हामी निर्वाचन लडिरहेका छौँ । राजनीतिक दलहरूसँग छलफल नगरीकन, सत्तापक्षिय दलहरूसँग मात्रै परामर्श गरेर आचारसंहिता पहिलोपल्ट लगाइयो ।’

विपक्षी दलका प्रतिनिधिहरूलाई आयोगले आचारसंहिता पढ्न पनि नदिएको अध्यक्ष ओलीको आरोप छ । ‘हाम्रा प्रतिनिधिहरूलाई निर्वाचन आयोगले पढ्न पनि दिनुभएन, बोल्न पनि दिनुभएन ।’

‘नपढेर वा बोल्न नै नपाएर कसरी सही गर्ने? ’ भनेर प्रश्न सोध्दा आयोगले धम्कीपूर्ण जवाफ फर्काएको उनको भनाई छ । ‘तपाईहरूले सही गर्नुस या नगर्नुस केही अर्थ छैन’, आयोगको भनाई उद्धृत गर्दै उनले भने,‘मनलागे गर्नुस्, मनलागे नगर्नुस् । हुनुपर्ने ठाउँमा सल्लाह भइसक्या छ । केही छैन, हामी अगाडि बढ्छौँ । जसले मान्दैन त्यल्लाई कारबाही गर्छौ भनेर!’ आयोगको यो रवैयाले आचारसंहितामा ‘नमान्ने कुरा पनि राख्या छ की’ भन्ने भन्ने यसै देखिएन ?’ उनले प्रश्न गरे ।

आयोगले आचारसंहिता नमान्नेलाई जुनसुकै होस कारबाही गरिन्छ, भनेर थर्काएर बोल्ने गरेका अध्यक्ष ओलीले टिप्पणी गरे । आयोगले देशको प्रमुख राजनीतिक दलसँग परामर्श गर्न आवश्यक नठानेको बताउँदै उनले भने,‘बरु तपाईहरूसँग परामर्श गर्न आवश्यक छैन । सही गर्न मनलागे गर्नुस् नलागे नगर्नुस् । तपाईहरूको सही चाहिया पनि छैन हामी जारी गर्छौ भनेर दंभपूर्ण अभिव्यक्ति दिनुभो ।’

त्यसकारण एमालेका प्रतिनिधिहरूले आचारसंहिताको प्रतिवद्धतापत्रमा सही नगरेको उनले बताए । उनले भने, ‘हाम्रो जानकारीमा पनि छैन । हाम्रो हस्ताक्षर पनि छैन ।’ यसको अर्थ एमाले आचारसंहिता मान्दैनौँ भन्ने आशय नभन्ने नभएको उनले बताए । ‘हामी कानुन मान्छौँ । हामी धेरै षडयन्त्र, जालझेल गर्दैनौँ । हामी कानूनका अधिनमा बस्छौँ । तर कानून उपयूक्त ढंगले पहिला निर्माण हुनुपर्छ, त्यसको कार्यान्वयन सबैका लागि हुनुपर्छ,’ उनले भने ।

आयोगले प्रतिपक्षी दलका कुरा सुन्दै नसुन्ने गरेको गुनासो गर्दै अध्यक्ष ओलीले सत्तापक्षका कुरा भने तत्काल सुन्ने गरेको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर