एक स्वप्निल, हजारौँ स्मृति – Nepal Press

एक स्वप्निल, हजारौँ स्मृति

जाने ठाउँ ठ्याक्कै नभएकाको पनि कतै न कतै जाने ठाउँ हुन्छ । तर, उसले हिँड्नुपर्छ । उसले बग्नुपर्छ । उसले चलमलाउनुपर्छ । जमेर बस्यो भने जहाँ बस्यो, त्यहीँ उसको ठाउँ हो । तर, मान्छेलाई जमेर बस्ने छुट छ त ?

कवि स्वप्निल स्मृतिको एक शब्दे जवाफ छ, ‘छैन ।’

र पनि स्मृतिको जाने ठाउँ ठ्याक्कै छैन । ताल्छिखेलको कोठादेखि बालुवाटारको अफिस र ताल्छिखेलदेखि बागबजारसम्म भेटिने साथीभाइ छन् । अनि ‘बाडुली र सुदूर सम्झना’ कवितासंग्रह र मनमै कुँदिरहेका नयाँ कविताहरू खेस्राहरू छन् । उनको सबै थोक यही हो । यतै कतै हराइरहेका भेटिन्छन् ।

र भन्छन्, ‘अहिले त मेरो ठ्याक्कै जाने ठाउँ छैन । बुवा आमा नभएपछि सम्झाउने मान्छे छैनन् । आफैँले आफैँलाई सम्झाउनुपर्छ । आफैँ बच्चाजस्तो हुन्छु । बच्चाजस्तो आफैं बाचा गर्छु, आफैँ तोड्छु । दार्शनिकहरूले आफ्नै मनलाई जित्न सक्नुपर्छ भने पनि मैले सकेको छैन ।’

१४ वर्ष भयो, स्वप्निल स्मृति ताल्छिखेल बस्न थालेको । त्यही अँध्यारो कोठा, त्यही चारकुना र त्यही सिमेन्टको चिसो भित्ता । कोठाको कुनै स्वरूप बदलिएको छैन । तर, उनको भने धेरै थोक बदलिएको छ । त्यहीँ जन्मिएको छोरो नै १४ वर्षको भइसकेको छ । उनको जीवनको इकोसिस्टममै फेरबदल भएको छ ।

स्वप्निल स्मृतिको छोरा सात वर्षको मात्रै थिए, आमाले छाडेर अन्तै गइन् । स्वप्निल स्मृतिको आमा थिइन्, उनले पनि छाडेर सदाको लागि गइन् । बाँकी जिम्दा बा थिए, बा पनि सदाका लागि आमासँगै गए । ्

र त उनी भन्छन्, ‘मेरो त ठ्याक्कै जाने ठाउँ नै कतै छैन ।’

बच्चा हुनु पनि आफैँ, अभिभावक हुनु पनि आफैँ । यही दोसाँधको बीचमा स्वप्निल स्मृति सम्झनाहरुसितै बाँचिरहेका छन् ।

जिन्दगी यसरी नै जाला या नजाला, तर उनलाई अहिले बाँचिरहेको जीवनशैली पनि रमाइलै लाग्छ । समस्याहरू खासै धेरै छैनन् । ठूलो महत्वकांक्षा खासै केही छैन ।

‘छोरो हुर्किएकाले अलि तनाव हुन्छ । नत्र त दिनभर काम ग¥यो, खायो, हिँड्यो । अब कोही भएको भए माया गरेको नाममा नियन्त्रणमा होइन्थ्यो होला । कसैले नियन्त्रणमा लिएको जीवन गाह्रो हुन्छ । कि कसैको बसमा छु भनेर थाहा हुनुभएन । थाहा भयो भने गाह्रो हुन्छ,’ उनी भन्छन् ।

तर, जिन्दगी सधैँ यसरी एकलकाँटे भएर मात्रै त नजाला ! यही लय र रफ्तारमा मात्रै जिन्दगी अगाडि नजाला । लय फेरिएला, रफ्तार फेरिएला । यात्रा र बाटो पनि फेरिएला !

उनलाई पनि डर लाग्छ, कतै यसरी नै पो जीवन जाला कि !

फेरि सहयात्राप्रति संशय पनि प्रकट गर्छन्, ‘सहयात्रा गर्ने सोच्दा पनि डर लाग्छ फेरि । अहिलेसम्म ठिकै छ, एक शोक, एक भोगले हिँडेको मान्छे ।’

अहिलेसम्म स्वप्निल स्मृति मिडलाइफमा आइपुगिसके, ४० टेकिसके । भनिन्छ, खास जीवन यही उमेरबाट सुरु हुन्छ । यो उमेरमा आइसकेपछि एक खालको अस्तित्वको संकटमा पनि पर्छ रे मान्छे ! उपलब्धि के भयो त जीवनमा ? समीक्षा गर्न थाल्छ रे मान्छेले । अस्तित्ववोधको गह्रौँ भारीले थिचेपछि ठोस उत्तरको खोजीमा भौँतारिन्छ रे मान्छे !

खैर, कवि स्वप्निल स्मृतिलाई यस्ता खोजीमा उस्तो चासो छैन । उनलाई जीवनका उत्ति धेरै प्रश्नको उत्तर खोजिबस्नु पनि छैन । त्यस्तो अग्लो उचाइमा पुगेर जीवनलाई अर्थ्याउनु पनि छैन । तर, ४० वरिपरि पुगेपछि एक खाले संकट चाहिँ महसुस गरेका रहेछन् । कता कता के के नपुगेजस्तो, कता कता के के छुटेजस्तो !

तर, भन्छन्, ‘मान्छेले बाँच्नु चाहिँ खासमा एक दिन रहेछ । आज एक दिन बाँच्नु प¥यो । अनि भोलि फेरि एक दिन बाँच्नु प¥यो । एक दिन एक दिन ठेल्दै ठेल्दै जानुपर्ने रहेछ हामीले ।’

चालीस वरिपरि आएपछि उनको अनुभव छ, सृजनशीलता चाहिँ पहिलाभन्दा कम हुँदो रहेछ ।

पहिला त नामकै भोकले पनि कति कविता लेखे होलान् उनले । कति कविता कथे होलान् पत्रपत्रिकामा छपाउनकै लागि । कति दौडधुप थियो होला । तर, अब त्यस्तो गर्न त्यति साह्रो मनै नलाग्ने अवस्थामा आइपुगेका छन् ।

‘लेख्नुभन्दा बरु बढी जसो पढ्न मन लाग्छ । अरूलाई हेरेर बाँच्ने हो नि हामी त । कसैलाई पनि पुगिसरी छैन,’ उनको भनाइ छ ।

तर, बाँच्नका लागि चाहिँ माथि माथि होइन, तलतल भुईँतिर हेरेर बाँच्न सुझाउँछन् । धेरै माथिमाथि मात्रै हे¥यो भने बाँच्न गाह्रो हुने बताउँछन् । माथिलाई चाहिँ प्रेरणा मात्रै लिनुपर्ने बताउँदै चालीसे गफ गर्छन् स्वप्निल स्मृति, ‘यो उमेरमा आइपुगेपछि अलिकति आत्मिक हुँदै गइने रहेछ । आफैँलाई बढी कोट्याउँदै गइँदो रहेछ ।’

आफैँलाई कोट्याउँदा कोट्याउँदै कहिलेकाहीँ सिरानी निथ्रुक्क भिजिदिन्छ उनको । सम्झना र स्मृतिहरूले कहिलेकाहीँ बढी चिमोट्छन् उनलाई । कहिलेकाहीँ अनिँदै बसिदिएर सकाइदिन्छन् रातहरूलाई । कहिलेकाहीँ आँखाहरू रसाइदिन्छन् उनका । आफैँ झरिरहेको हुन्छ उनको आँखामा आँसु । दुवै आँखाबाट झरेर दुवै कानको छेवै भएर सिरानीमा गएर सोसिन्छन् आँसुहरू ।

उनी सुनाउँछन्, ‘अनेक कुरा सोच्दासोच्दै तह–तहमा पुगिन्छ । एउटा तहमा पुगेपछि जुरुक्क उठिन्छ । विशेष गरेर चाडबाडमा सम्झनाहरूले साह्रै सताउँछन् ।’

कहिलेकाहीँ एक्लो महसुस पनि गर्छन् । एकदमै धेरै एक्लोपनले सताएको वेला कोठाबाट फुत्त बाहिर निस्कन्छन् । र अन्य मान्छेहरूलाई हेर्छन् ।

‘बाहिर निस्केर अरूलाई हेरेर बाँच्ने हो । मान्छेहरू बाटोमा हिँडिरहेका हुन्छन् । कोही बाटो खनिरहेका हुन्छन् । कोही गाडी कुदाइरहेका छन् । उनीहरूलाई देखेपछि जीवन यस्तै रहेछ भनेर आफैँले आफैँलाई सम्झाउँछु,’ उनी हाँस्दै सुनाउँछन् ।

अहिलेको उमेरमा आइपुग्दा कति सम्बन्धहरू बने होलान् स्वप्निल स्मृतिको ? कति साथीभाइ र इष्टमित्र बने होलान् ! पक्कै धेरै नै बने ।

ती सम्बन्धहरूले पनि अबका बाँकी जीवन बाँच्न उस्तो कठिन नहुने बुझाइ छ उनको । संसारको धेरै ठाउँ देखेपछि, साथीभाइ भएपछि, छोराछोरी, परिवार भएपछि बाँकी जीवन यसै पनि जाने बताउँछन् ।

‘धेरै अनुभव प्राप्त गरिसकिएको हुन्छ । बाँच्ने आँट अथवा कला सिकिसकिएको हुन्छ । त्यसैले बाँकी जीवन त्यति गाह्रो हुँदैन,’ भन्छन्, ‘कोही मान्छे बच्चामै मर्छ । कोही युवा कालमै मर्छ । कोही धेरै बाँचेर मर्छ । बाँच्नु भनेको संयोग मात्रै हो ।’

उनलाई यति ठूलो र ठोस परिचय पनि चाहिएको छैन । एउटा कविको परिचय छ, त्यति नै काफी छ ।

‘यो–यो पुगेन’ अथवा ‘भएन’ भन्ने त्यस्तो कुनै कुरा छैन उनका लागि, जसले गहिरो गरी छोओस् । बरु ठिकै छ, चलिरहेकै छ भन्ने सोच्छन् । धेरै बलेर अचानक निभ्न आवश्यक पनि छैन उनलाई । ठिक्क टाइपको जीवन भए पुग्ने बताउँछन् ।

स्वप्निल स्मृतिको भनाइ छ, ‘कसैको मृत्यु हुन्छ, त्यसलाई जलाउँछौँ । ऊ खरानीमा रूपान्तरण हुन्छ । हिजो भएको मान्छे आज छैन । त्यसपछि कोही मान्छे स्मृति, सम्झनाहरूमा रहला । वास्तवमा हुनु भनेको हुनु नै हो लाग्छ अचेल मलाई ।’

अचेल कविता लेखन चाहिँ कम गरेका छन् स्वप्निल स्मृतिले । बरु यो बीचमा गीतहरू लेखिरहेका छन् ।

‘सम्पादनको कामहरू खत्र्याकखुत्रुक गर्‍यो । १०–५ जागिर ग¥यो । यो रुटिनले चोयाले पाता कसेको जस्तो हुँदो रहेछ । थकित भइन्छ । अनप्रोडक्टिभ पनि भइँदो रहेछ जागिरले । त्यही भएर सृजना होइन, सेवा गर्ने बढी भइँदो रहेछ,’ उनी हाँस्दै सुनाउँछन् ।

उनी पनि सेवाभन्दा सृजना गर्न नै खोज्छन्, तर भनेजस्तो भइरहेकै छैन । लगभग सेवा गर्ने जस्तै बनिसके । हाँस्दै भन्छन्, ‘अब चालीस काटेपछि वैदेशिक रोजगारीमा पनि लाँदैन । गाउँ जानु पनि यत्रो वर्ष हराएर गाउँ फिर्दा समाजले हामीलाई राम्रो मान्दैन । त्यहाँ पनि स्थापित हुन गाह्रो छ । यस्तो रे, उस्तो रे भन्ने हुन्छ ।’

तर, अहिलेसम्म कवि भएर सहरमा बाँचिरहेका स्वप्निल स्मृतिले आफ्नै कविता कर्मको निर्मम भएर समीक्षा गर्दा कस्तो देख्छन् आफ्ना कविताहरू ?

‘कस्तो पनि लाग्दैन । मलाई आफ्नो कविताभन्दा अरूको कविता नै बढी मन पर्छ । तर, लेख्न चाहिँ लेखिरहेको हुन्छु । ढाँटेर लेख्न मन लाग्दैन । मान्छेहरूले धेरै जातीय, राजनीतिक मुखर आयो भन्ने टिप्पणी गर्छन् । तर, मलाई जे आयो, त्यही लेखिदिएँ । मैले लेखेको कवितालाई अलिकति चलाउनुपर्छ भन्ने पनि लाग्दैन । कुन शब्द कसरी तौलेर राख्नुपर्छ, मलाई थाहा छ । कतिपय शान्त भएर लेख्नुपर्ने छ भने शान्तै भएर लेख्ने हो । उग्र भएर लेख्नुपर्ने छ भने उग्रै भएर लेख्ने हो ।’

०००


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *