बिस्का जात्राका लागि सिँगारिँदै भैरवनाथको रथ (तस्बिर/भिडिओ) – Nepal Press

बिस्का जात्राका लागि सिँगारिँदै भैरवनाथको रथ (तस्बिर/भिडिओ)

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरू हुँदैछ ।

नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तौमढीस्थीत पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्‍याएर भैरवनाथको रथ तानातान गर्दै सुरू गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । बिहानदेखि स्थानीय रथ तयारी र सिँगार्नमा व्यस्त छन् ।

रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ ।

रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ । जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ-आफ्नो टोलमा लैजाने गर्दछन् । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।

जात्राको दोस्रो दिन शून्य भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ । बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ ।

बिस्का जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ । बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पुर्‍याइ जात्रा सम्पन्न गरिन्छ । नौ दिनसम्म चल्ने जात्राका लागि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गर्ने पूरा तयारी भइसकेको भक्तपुरका महानगरीय प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार जात्राका लागि ९५० नेपाल प्रहरी, ४०० सशस्त्र प्रहरी परिचालन गरिनेछ । आवश्यकता परे थप सुरक्षाकर्मी परिचालन गर्ने गरी तयारीसहित जात्रामा उच्छृंखल गतिविधि गर्ने र हुलदङ्गा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरूपमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *