सत्य बोल्ने शशांक : अंक होइन, आशय महत्वपूर्ण
भनिन्छ, सत्य तीतो हुन्छ । सायद सत्य तीतो हुने भएकै कारण मान्छेहरू ‘तीतो सत्य’ भन्दा ‘मिठो भ्रम’ मै सन्तुष्ट हुन्छन् । नेपालमा राजनीतिप्रति आम नागरिकको बुझाई एकदमै सतही छ । अधिकांश सार्वजनिक बहसहरूमा राजनीतिक दल र नेताहरूप्रति ‘गम्भीर असन्तुष्टी’ व्यक्त हुने गरेका पाइन्छ ।
त्यस्तो असन्तुष्टीको मुख्य जड नेताको भनाइ र गराइमा देखिने भिन्नता हो । नेताहरूले ‘सत्यलाई पर्दा हाल्ने र झूठलाई सामुन्ने राख्ने’ गरेको आरोप लाग्दै आएको छ । सबैजसो राजनीतिक दलका नेताको बोली र व्यवहारमा समानता नदेख्दा आम नागरिकमा राजनीतिप्रति नै ‘वितृष्णा’ बढ्नु स्वाभाविक हो ।
यद्यपि नेपाली समाजको मनोविज्ञान अत्यन्तै ‘द्वन्द्वात्मक’ देखिन्छ । समान विषयमा पनि असमान धारणा बनाउन यसको विशेषता हो । एकातिर राजनीति गर्नेहरू झूठो बोल्छन् भन्ने मान्यताले जरो गाडेको छ भने अर्कोतिर सत्य बोल्नेहरूप्रति ‘स्वीकारोक्ति’ को अभाव छ । यसको पछिल्लो उदाहरण हुन् , कांग्रेस नेता डा. शशांक कोइराला । नेपाली राजनीतिको भागदौड र रस्साकस्सीका बीच शशांक एक शालीन नेताका रूपमा स्थापित छन् । उनी नेपाली कांग्रेसको महामन्त्री भइसकेका छन् र पार्टी नेतृत्वका लागि आकांक्षा पनि राख्दछन् । नवलपरासीबाट ३ पटक निर्वाचन जितेका शशांक संसदमा खरो अभिव्यक्ति दिदैनन् तर सार्वजनिक रूपमा जब बोल्छन्, तरंग पैदा गर्छन् ।
कांग्रेस नेता शशांकले निर्वाचन खर्च बढेर ६ करोडसम्म पुगेको बताएका छन् । अंकका हिसाबले एउटा संसदीय निर्वाचनमा ६ करोड खर्च हुनु चानचुने कुरा होइन । यद्यपि आजसम्म कुनै नेताले यो सत्य बोलेका थिएनन् । शशांकको भनाइलाई अंकमा भन्दा आशयमा गएर बुझ्नु आवश्यक छ ।
नेपालमा निर्वाचन महँगो हुँदै गइरहेको तथ्य कुनै लुकाउनुपर्ने विषय होइन । निर्वाचन आयोगले नै हालै गरेको अन्तरक्रियामा सबैजसो दलका नेताले चुनावका लागि आयोगले तोक्ने खर्चको सिलिङ ‘अव्यवहारिक’ भएको टिप्पणी गरेका थिए । निर्वाचनका लागि परिचालन र प्रचारप्रसारमा हुने खर्च केही लाखभित्र सीमित गर्न व्यवहारिक कठिनाइ पक्कै छन् । त्यहीकारण निर्वाचन आयोगसँग राजनीति दलका प्रतिनिधिहरूले नै खर्चको सीमा व्यवहारिक बनाउन माग गर्दै आएका थिए ।
हालै नेपाल विद्यार्थी संघ इलाम-काठमाडौं सम्पर्क समितिको कार्यक्रममा कांग्रेसका निवर्तमान महामन्त्री शशांकले दिएको अभिव्यक्तिले सार्वजनिक चर्चा पाएको छ । विद्यार्थीहरूलाई राजनीतिमा बढ्दो विकृतिबारे अवगत गराउँदै चुनाव खर्च अस्वाभाविक बन्दै गएको उदाहरण शशांकले प्रस्तुत गरेका थिए । आफैंलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै हरेक निर्वाचनमा खर्च बढ्ने र करोडौं रूपैयाँ खर्च गरेर चुनाव लड्नुपर्ने बाध्यता रहेको तथ्य विद्यार्थीसामु शशांकले पेस गरे ।
शशांकको अभिव्यक्ति तीतो छ तर सत्य छ । कानूनी दृष्टिले शशांक वा अरु कोही पनि नेताले निर्वाचनमा करोडौं रूपैयाँ खर्च गरेका छैनन् । यद्यपि व्यवहारिक दृष्टिले हेर्दा ‘करोड घटी वडाअध्यक्ष लड्न पनि गार्हो हुने’ सबैले बुझेका छन् । हालै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत निर्वाचनमा करोडौ खर्च हुने बताएका थिए ।
अंक होइन आशय महत्वपूर्ण
कांग्रेस नेता शशांकले निर्वाचन खर्च बढेर ६ करोडसम्म पुगेको बताएका छन् । अंकका हिसाबले एउटा संसदीय निर्वाचनमा ६ करोड खर्च हुनु चानचुने कुरा होइन । यद्यपि आजसम्म कुनै नेताले यो सत्य बोलेका थिएनन् । शशांकको भनाइलाई अंकमा भन्दा आशयमा गएर बुझ्नु आवश्यक छ ।
एक निर्वाचन क्षेत्रमा उम्मेदवारले व्यक्तिगत रूपमा खर्च गर्न पाउने रकम निर्वाचन आयोगले तोकिदिएको हुन्छ । तर, निर्वाचन अभियानका लागि पार्टी र शुभचिन्तकहरूले गर्ने खर्चको सीमा तोकिएको हुँदैन । निर्वाचनका दौरान हुने घरदैलो, कोणसभा, आमसभालगायतका कार्यक्रममा उम्मेदवारले मात्रै नभइ पार्टी पंक्तिले नै खर्च गरेको हुन्छ । त्यस्ता खर्चको आँकडा करोड नाघ्नु अस्वाभाविक होइन ।
अर्कोतिर कांग्रेस महामन्त्रीका रूपमा शंशाक आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित थिएनन् । देशका ४० भन्दा बढी जिल्लामा पुगेर उनले पार्टीका उम्मेदवारको पक्षमा मत मागेका थिए । यसरी पार्टीको शीर्ष नेताले देश दौडाहा गर्ने क्रममा व्यक्तिगत, संस्थागत वा शुभचिन्तकको तहबाट हुने खर्च विगतमा भन्दा बढेकै छ ।
निर्वाचन अभियानका लागि पार्टी र शुभचिन्तकहरूले गर्ने खर्चको सीमा तोकिएको हुँदैन । निर्वाचनका दौरान हुने घरदैलो, कोणसभा, आमसभालगायतका कार्यक्रममा उम्मेदवारले मात्रै नभइ पार्टी पंक्तिले नै खर्च गरेको हुन्छ । त्यस्ता खर्चको आँकडा करोड नाघ्नु अस्वाभाविक होइन ।
लोकतन्त्रमा निर्वाचन अपरिहार्य छ । यद्यपि निर्वाचन कम खर्चिलो र पारदर्शी हुनु जरुरी छ । शशांकको अभिव्यक्तिले पारदर्शी र कम खर्चिलो निर्वाचनकै पक्षमा आह्वान गरेको छ ।
युवा विद्यार्थीहरूलाई राजनीतिमा बढ्दो विकृतिबारे जानकारी गराउँदै सचेत रहन आफैंलाई उदाहरण दिँदै शशाकंले व्यक्त गरेका विषयको अंकमा नभएर आशयमा जानु लोकतन्त्र र निर्वाचन प्रणालीलाई परिस्कृत गर्ने दिशामा उपयुक्त हुन्छ ।
शशांकको अभिव्यक्तिलाई बहसको थालनीका रूपमा स्वीकार गरेर लोकतान्त्रिक अभ्यासलाई पैसाकेन्द्रित नभएर सिद्धान्त, विचार र जनताकेन्द्रित बनाउन जरुरी छ ।