एमाले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल भोलि बझाङ आउने – Nepal Press

एमाले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल भोलि बझाङ आउने

बझाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेल भोलि बझाङ आउने भएका छन् ।

एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली र उपाध्यक्ष पौडेल बझाङ आउन लागेका हुन् ।

आज बझाङमा पत्रकार सम्मेलन गर्दै जिल्ला पार्टी कार्यालयले कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

कार्यक्रममा ३० हजार बढी स्थानीय उपस्थित हुने अपेक्षा गरिएको एमाले बझाङ अध्यक्ष दमन भण्डारीले जानकारी दिए । उनले कार्यक्रमको लागि ५ सय भन्दा बढी स्वयंसेवक परिचालन गरिएको समेत बताए ।

‘सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ’ उनले भने ‘बझाङमै पहिलो पटक यति ठुलो कार्यक्रमको आयोजना गर्ने तयारीमा छौँ ।’

भोलि दिन करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन् ।

‘२ हजार बढी कार्यकर्ता एमालेमा भित्राउने गरी एमाले अध्यक्ष ओली बझाङ आउन लाग्नु भएको हो’ एमाले बझाङ इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य भैरव बहादुर सिंहले भने ‘ ‘हामीले राष्ट्रिय स्तरमै चर्चा पाउने गरी कार्यक्रम गर्ने योजना बनाएका छौँ ।’

१० औँ महाधिवेशन पछि पहिलो पटक अध्यक्ष र उपाध्यक्ष सुदूरपश्चिम प्रदेशमा आउन लागेका हुन् । पहिलो पटक अध्यक्ष र उपाध्यक्ष आउने कार्यक्रम ऐतिहासिक हुने एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले भने ।

‘पार्टीलाई सङ्कट पर्दा सधैँ सुदूरपश्चिम अगाडी देखिएको छ’ उनले भने ‘आगामी निर्वाचनमा पनि सूर्य पश्चिमबाट उदाउने सङ्केत गर्दै भोलि कार्यक्रमको आयोजना हुन लागेको हो ।’

उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय झाँकी प्रदर्शन र देउडा प्रतियोगिता समेत आयोजना हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर