सुर्खेतका कांग्रेस नेता रेग्मी भन्छन्: झन् थोरै जित्ने भएपछि किन गठबन्धन गर्नु ? – Nepal Press

सुर्खेतका कांग्रेस नेता रेग्मी भन्छन्: झन् थोरै जित्ने भएपछि किन गठबन्धन गर्नु ?

‘हाम्रो समूहले ४० प्रतिशत नपाए गठबन्धनको अर्थ छैन’

सुर्खेत । सुर्खेत कांग्रेसका निवर्तमान सभापति कमलराज रेग्मीले गठबन्धन गर्दा कांग्रेसले झन् थोरै ठाउँमा जित्ने सम्भावना भएकाले गठबन्धन गर्न नहुने तर्क तरेका छन् । सुर्खेतका नौवटै स्थानीय तह जित्ने भए मात्रै गठबन्धन गर्नु सार्थक हुने भन्दै उनले कांग्रेसले झन् कम स्थानमा जित्ने स्थितिमा गठबन्धन गरेर चुनावमा जान नहुने तर्क गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले सुर्खेतका नौमध्ये ६ पालिकामा एक्लै चुनाव जितेको थियो । त्यतिबेला सुर्खेत कांग्रेस सभापति रहेका रेग्मी भन्छन्– हामी केन्द्रीय समितिले गठबन्धन बनाएर जानुपर्छ भन्ने निर्णयको विरुद्धमा छैनौं । तर अहिलेसम्म पार्टी नेतृत्वले गठबन्धनमा कसरी जाने भनेर हामीसँग कुनै पनि छलफल गरेको छैन । गठबन्धनमा जान पनि कांग्रेस एक हुनुपर्ने स्थिति छ ।

उनले आफू गठबन्धनको विपक्षमा नभए पनि कांग्रेसलाई घाटा नहुने गरी जानुपर्नेमा जोड दिएका छन् । ‘हामी गठबन्धनका विपक्षी होइनौं । म आफैं पार्टी सभापति भएको समयमा काँग्रेस एक्लैले ६ पालिकामा चुनाव जितेको हो । मैले टिकट वितरण गर्दा एकाध व्यक्तिबाहेक सबै खुशी थिए र त्यो जित हात परेको हो’, उनले भने, ‘अब गठबन्धन गर्ने हो भने सुर्खेतका नौवटै पालिकामा नै जित्नपर्छ । पहिलाको भन्दा कम ठाउँमा जित्न त कि गठबन्धन चाहियो ?’

सुर्खेतको राजनीति अन्यत्र भन्दा फरक भएको उनको बुझाइ छ । ‘यहाँ हाम्रो विचार समूहका वरिष्ठ नेताहरु अहिले भूमिकाविहीन अवस्थामा हुनुहुन्छ । उहाँहरुलाई पार्टीले मिलाएर लैजानुपर्छ । हाम्रो विचार समूहमा ४० प्रतिशत जनता छन् । त्यहीं जनताको मतभारअनुसार कांग्रेसको भागमा पर्ने पालिकाको कुल संख्याको ४० प्रतिशत हामीले पाउनुपर्छ’, उनी भन्छन्, ‘सुर्खेतका वीरेन्द्रनगर, भेरीगंगा, पञ्चपुरी र लेकबेशी नगरपालिकामध्ये कम्तिमा हाम्रो संख्या बढी भएको स्थानमा सम्मानजनक नेतृत्व हामीले पाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर