‘निराश थिएँ, रोहितको शतकले प्रेरणा दियो’ (भिडिओ) – Nepal Press
क्रिकेटर दिपेन्द्रसिंह ऐरीसँगको नेपाल टक

‘निराश थिएँ, रोहितको शतकले प्रेरणा दियो’ (भिडिओ)

बल्खुबाट कीर्तिपुर जाँदा करिब ६ सय मिटर अगाडि बढेपछि कुमारी क्लब आउँछ । कुमारी क्लबबाट सुरु हुने कच्ची सडक पाँच सय मिटर जति पार गरेपछि अलिकति खाली जग्गाको कुनामा एउटा घर छ, जहाँ बस्छन् दीपेन्द्रसिंह ऐरी ।

‘बिहान खाना पकाएर खाएँ, अनि सफा गर्दागर्दै यतिबेला भयो । सामान पनि मिलाउन पाएको छैन’, दिउँसो ३ बजे हामी पुग्नासाथ छरपस्ट सामान देखाउँदै उनले सुनाए ।

एसएलसी दिने बेलामा क्षेत्रीयहुँदै यू–१९ राष्ट्रिय टोलीमा परेपछि दिपेन्द्रका लागि काठमाडौँ बस्नैपर्ने वाध्यता पर्यो । आखिर क्रिकेट नै उनका लागि ‘सबकुछ’ थियो । काठमाडौं आउजाउ गरेर साध्ये थिएन ।

‘प्रतियोगिताहरु भइरहन्थे, त्यसैले यतै बसियो । पहिला समूहमा बसिन्थ्यो । दुई वर्ष जति भयो, एक्लै बस्न थालेको’, उनी आफ्नो डेराजीवनलाई संक्षेपीकरण गर्दै सुनाए ।

दीपेन्द्र यसै पनि निकै कम बोल्छन् । बाहिरी दुनियाँसँग त्यति धेरै घुलमिल पनि छैनन् । वरिपरिकाले चिन्छन् कि चिन्दैनन्, उनलाई थाहा छैन ।

मुस्कुराउँदै भने, ‘घरबेटीले चाहीँ चिन्नु हुन्छ । अरुले त खोइ !’

०००

यतिबेला दीपेन्द्रको खेल करिअरले स्वप्निल उडान भरिरहेको छ । यसैसाता घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा उनले शानदार प्रदर्शन गरे । नेपाल विजेता बन्यो । दीपेन्द्र प्लेयर अफ दी फाइनल र प्लेयर अफ दी सिरिज दुवै चुनिए । उनले एक साताको अन्तरमा एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय शतक बनाए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान भए ।

घरेलु मैदानमा आफूले पनि शानदार प्रदर्शन गर्नु र टीमले पनि सफलता प्राप्त गर्दाको अनुभव कस्तो हुन्छ त ?

दीपेन्द्रले जवाफ दिए, ‘यस्तो नतिजाले धेरै नै विश्वास बढ्छ । फेरि गेम भयो भने अझ राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास जागेको छ । घरेलु मैदानमा खेल भयो भने विकेटका बारेमा थाहा हुन्छ र प्रदर्शन राम्रो हुने सम्भावना बलियो हुन्छ ।’

नेपालका लागि पछिल्ला केही प्रतियोगिताहरु अपेक्षाकृत सफल भएनन् । ओमानमा आयोजित टी–२० विश्वकप छनोटबाट नेपाल अगाडि बढ्न सकेन । यूएईमा आयोजित विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि नेपालले चारमध्ये दुई खेल मात्र जित्यो । त्यसपछि पपुआ न्युगिनी–पीएनजी र मलेसियालाई घरमा बोलाएर नेपालले शृंखला खेलेको हो ।

यूएईको भ्रमणपछि आफूलाई राम्रो प्रदर्शन गर्नैपर्ने दबाब बढेको दीपेन्द्रले अनुभव गरेका थिए । तर उनलाई थाहा छ, एउटा खेलाडीले एकपटक वा एउटा समयमा मात्र राम्रो प्रदर्शन गरेर पुग्दैन ।

उनी भन्छन्, ‘गेम जितेपछि, रन हानेपछि राम्रो प्रतिक्रिया त आइहाल्छ । तर सफलताको जीवन कति हुन्छ भन्न सकिन्न । राम्रो खेल्दा, एकछिन फ्यानको हाई हाई हुन्छ । तर खेल खस्किन थाल्यो भने सबैले बिर्सन थाल्छन् । मुख्य कुरा, खेलाडीले आफ्नो राम्रो प्रदर्शनलाई निरन्तरता दिन फोकस हुनुपर्छ ।’

नेपाली टोलीबाट पुरानो पुस्ता बाहिरिँदो छ । नेपाललाई टी–२० विश्वकपमा सहभागितादेखि एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिलाएका पारस खड्का र शक्ति गौचनले सन्यास लिइसकेका छन् । शरद भेषवाकर र वसन्त रेग्मी टीममा पर्न छाडिसके । घरेलु मैदानमा आयोजित पछिल्लो एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समेत आफ्नो स्थान गुमाए ।

यतिबेला नेपाली टिम पुस्तान्तरणपछिको संक्रमणकालमा देखिएको छ । ६–७ वर्षअघि डेब्यु गरेका खेलाडीहरु सिनियर सदस्यका रुपमा रहेका छन् । दीपेन्द्रले पुरानो पुस्तासँग पनि खेले, पुरानो र नयाँ पुस्ताको मिश्रित टिममा पनि खेले र नयाँ पुस्ता भनिएको टिममा रहेर पनि खेलिरहेका छन् । ५ वर्षअघि सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दीपेन्द्र टोलीको उपकप्तान समेत भइसकेकाले यतिबेला उनीमाथि जिम्मेवारी बढेको छ ।

यो पक्षलाई उनले कसरी हेरेका छन् ? दीपेन्द्र यसो भन्छन्:

‘खेलाडीले एक दिन त सन्यास लिनैपर्छ । यसलाई सबैले बुझेकै हुन्छन् । मुख्य कुरा हरेक खेलाडीले आफ्नो प्रदर्शनमा ध्यान दिनुपर्यो । मैले राम्रो खेल्न सकिन भने टिम हार्छ भन्ने कुरा हरेकपटक मैदानमा प्रवेश गर्दा म मनन गर्छु ।

अनुभव त विस्तारै लिँदै जाने कुरा भयो । पहिला सिनियर दाइहरुसँग खेल्दा मलाई दाईहरुले सिकाउनु हुन्थ्यो । सिकाउनेहरु हुन्थे । अहिले मैले सिकाउनुपर्ने हुन्छ । खेलेपछि पर्फमेन्स गर्न सक्नुपर्छ । ओमानमा मैले ठिकै प्रदर्शन गरेको थिएँ, तर जुन निर्णायक खेलमा सकिनँ । त्यसले गर्दा हामीले विश्वकपजस्तो प्रतियोगिता खेल्नबाट चुक्नुपर्यो ।

यूएईमा भएको प्रतियोगितामा मैले राम्रो गर्न सकिनँ । त्यसपछि, मैले कहिले गर्ने त पर्फमेन्स भनेर आफैलाई प्रश्न गरिरहन्थेँ । अर्को प्रतियोगिता कहिले घोषणा हुन्छ भनेर सुन्न आतुर थिएँ । खराब समयबाट कसरी राम्रो समयमा अघि बढ्ने भन्नेमा खेलाडी केन्द्रित हुनुपर्छ जस्तो लाग्छ ।’

कुनै समय ब्याटिङमा कमजोर भनेर आलोचना हुने गरेको नेपाली टोलीले पछिल्लो समय भने राम्रो रन बनाइरहेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातपटक २ सयभन्दा बढी रन जोड्नु चानचुने होइन । कुशल भुर्तेल, पारस खड्का, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रले टि–२० शतक बनाइसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पारस, दीपेन्द्र र रोहितले सतक बनाएका छन् । यसपटक दीपेन्द्रले एक साताको अन्तरमा दुईवटा सतक बनाए ।

यी जुम्ल्याहा शतकलाई उनी कसरी सम्झिन्छन् ?

‘लामो समय भइसक्यो मैले क्रिकेट खेल्न थालेको । तर शतक बनाउन सकिरहेको थिइनँ । पीएनजीविरुद्ध रोहितले शतक बनाएको साँझ मैलै आफैलाई प्रश्न गरिरहेँ– तँ चाहीँ किन सक्दैनस् ? अर्को खेलमा म पीएनजीविरुद्ध शतकको नजिक पुगिरहेको थिएँ । ९० रन जोड्दा मेरो नजर स्कोर बोर्डमा पुगेको थियो । म निकै नर्भस र एक्साइटेड थिएँ । एक दुई रन जोड्दै सतक पुरा गरेँ ।

मलेसियासँग टि–२० मा पनि ७० रन बनाएपछि शतकको आशा पलायो । ९० रनपछि भने दबाब बढेको थियो । दुई ओभरको मात्र खेल बाँकी रहेकाले सुरक्षित खेलेर शतक पुरा गर्नतिर लाग्ने कि अलिकति जोखिम लिएर टिमलाई बलियो अवस्थामा पुर्याउने भन्ने थियो । शतक नजिक हुँदा टिमलाई बलियो स्थितीमा पु¥याउनुपर्ने दबाब पनि उत्तिकै हुने गर्छ ।

एउटा शतक बनाएपछि अर्को शतक बनाउने बाटो थाहा हुन्छ । कसरी रन जोड्दै जाने भन्ने कुरा ब्याट्सम्यानले जान्न थाल्छ । मलाई लाग्छ– हरेक ब्याट्सम्यान एउटा बिग इनिङको खोजीमा हुन्छ । एउटा खेलमा ५०-६० रन बन्यो भने अर्को खेलमा उसको आत्मविश्वास नै बेग्लै हुन्छ । उसलाई रन जोड्ने प्याटर्नहरु थाहा हुन्छ । विपक्षी बलर पनि लयमा रहेको ब्याट्सम्यान भन्ने थाहा पाएपछि दबाबमा हुन्छन्। यही कारण लयमा रहेका ब्याट्सम्यानहरु हावी हुन सक्छन् ।

राम्रो प्रदर्शन गर्न सकेको दिन मलाई राम्रोसँग निन्द्रा लाग्छ । अरुसँग मज्जाले कुरा गर्न मन लाग्छ । आफुले राम्रो पनि गर्न सकिनँ र टिम पनि हा¥यो भने मलाई राम्रोसँग निन्द्रा पनि लाग्दैन र टाउको दुख्छ । यस्ता थुप्रै अनुभवहरु मसँग छन् ।

नेपाली टोलीमा अलराउन्डरहरु हावी छन् । तल्लोक्रमका करन केसी, सोमपाल कामीदेखि सन्दिप लामिछानेसम्मले राम्रो ब्याटिङ गरेर टिमको रेस्क्यू गर्न सक्छन् । घरेलु मैदानमा यसपटक कुशल भुर्तेल र रोहित पौडेलले समेत मलेसियाविरुद्ध विकेट लिए । दीपेन्द्र नेपाली टोलीका नियमित बलर बनिसकेका छन् । यसअघि शरद भेषावकरले पनि राम्रो बलिङ गर्ने गर्थे । दीपेन्द्रले यसपटक फाइनलमा अलराउन्ड प्रदर्शन गरे । बलिङतर्फ पनि टोलीको अधिक विश्वास उनले जितेका छन् । कप्तानले एकै खेलमा ८ जना बलरसम्म प्रयोग गरेको देखियो ।

आफ्नो बलिङ क्षमताबारे दीपेन्द्रले पृष्ठभूमिसहित सुनाए-

म सानै छँदा दाइहरुले क्रिकेट खेल्न लैजानु हुन्थ्यो, तर मलाई खेलाइन्न थियो । खेल हेरेर मात्र फर्कनु पर्थ्यो । एक दिन टिममा एक जना पुगेन र मैले खेल्नुपर्ने अवस्था आयो । त्यसमा मैले दाईहरुको विश्वास जितेँ । म एउटा अवसरको खोजीमा थिएँ र जे भूमिका पाएँ भने पनि राम्रो गर्न सक्छु भन्ने थियो । म सुरुवाती दिनहरुमा बलिङ बढी र ब्याटिङ कम गर्थेँ । मेरो बलिङ मिडियम पेस हुन्थ्यो ।

पछि एक्कासी कम्मरमा समस्या आयो । मैले मिडियम पेस बलिङ गर्न सकिनँ । त्यसपछि स्पीनतिर लागेँ । यू–१९ एसिया कपमा भारतविरुद्ध ४ विकेट लिएँ । मेरो खेल जिवनको त्यो एक अविस्मरणीय क्षण थियो ।

म बलिङ, ब्याटिङ र फिल्डिङ तीनवटैमा इन्जोय गर्छु । यी तीनै क्षेत्रमा सक्दो राम्रो गर्न खोज्छु । कतिबेला अवसर पाउँला र राम्रो गरौँ भन्ने कोसिसमा हुन्छु । मलाई लाग्छ– मैले बलिङमा राम्रो गरेँ भने अरु मेन बलरहरुको आत्मविश्वास बढ्छ । मलाई पनि के मौका हुन्छ भने यदी ब्याटिङमा राम्रो गर्न सकिनँ भने आज अब बलिङमा गरेर देखाउँछु भन्ने अप्सन हुन्छ । त्यसैले क्रिकेटरहरु अलराउन्डर बन्न रुचाउँछन् किनभने यसले टोलीमा ठाउँ बनाउन सजिलो हुन्छ ।

मेन बलर वा मेन ब्याट्सम्यानहरु अभ्यासमा थाकेको अवस्थामा बलरले ब्याटिङ गर्न सिक्ने र ब्याट्सम्यानले बलिङ गर्न सिक्ने काम हुन्छ । टिमले दिएको अवसरलाई सदुपयोग गर्न सक्यो भने अलराउन्डर बन्ने हो । तर यसका लागि अधिक मिहेनत चाहिन्छ ।

नेपाली क्रिकेट पछिल्लो समय केही विवादबाट समेत गुज्रियो । ग्रेडिङका विषयमा खेलाडीलाई अन्याय भएको भन्दै बोल्दा ज्ञानेन्द्रले कप्तान र दीपेन्द्रले उपकप्तान गुमाए । विश्वकप छनोटका लागि प्रारम्भिक टोलीमा बोलाइएकामध्ये करिब आधा संख्यामा खेलाडीहरुले क्यानको उक्त निर्णयको विरोध गरे । कारबाहीमा परेका खेलाडीले अन्य खेलाडीलाई उचालेको आरोप पनि लाग्यो । क्यान आन्दोलनमा उत्रिएका खेलाडीलाई बाहिर राखेर पनि अगाडि बढ्ने मनस्थितिमा देखिन्थ्यो ।

त्यसबेलाको परिस्थिति सम्झन चाहँदैनन् दीपेन्द्र । उपकप्तान गुमाएर भविष्यमा कप्तान बन्ने अवसर संकटमा परेकोमा उनलाई कुनै वास्ता छैन । क्रिकेटबाटै बाहिरिने सम्भावनाको त्यस अवस्थालाई दुर्घटनाका रुपमा बुझेका छन् दीपेन्द्रले । उनलाई लाग्छ– अब अगाडिबारे सोच्नुपर्छ ।

दीपेन्द्र भन्छन्-

मेरो सँधै ध्यान बेस्ट पर्फमेन्स गर्ने र टिमलाई जिताउनेतर्फ रह्यो । आफ्नो भूमिकालाई कसरी न्याय गर्न सकिन्छ भन्नेतर्फ सँधैभरि केन्द्रित रहेँ । मेरा लागि मिडिया, सोसल मिडिया कहिल्यै चासोमा रहेनन् । उनीहरुले के लेख्छन् भन्नेमा पनि मेरो ध्यान गएन । जित्दाको रमाइलो टिमसँग रहेर बाँड्न मन पराउँछु र हार्दाको दुख पनि ।

साँच्ची भन्ने हो भने मैले क्रिकेटभन्दा बाहेक केही सोचेकै छैन । कप्तान–उपकप्तान बन्ने कुरामा पनि मेरो कहिल्यै रुची रहेन किनभने जे भए पनि मैले खेल्ने हो । आफुलाई दिएको भूमिकालाई न्याय गर्न सक्नु नै मेरो अपेक्षा हो । मिहेनतअनुसारको प्रतिफल प्राप्त भयो भने त्यही नै सन्तुष्टी हो । नेपाली टोलीमा अहिले युवा तथा प्रतिभावान खेलाडीहरु छन् । उनीहरुमा अधिक सम्भावना छ । हाम्रो अहिलेको टोलीले नेपाललाई निकै अगाडि लैजान सक्छ । उनीहरुलाई अझ एक्सपोजरको खाँचो छ ।

दीपेन्द्र चाहन्छन्– चाँडै अर्को प्रतियोगिता होस् र उनले अझ राम्रो प्रदर्शन गर्न सकुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर