प्रहरी र सशस्त्रले सीमित स्रोत साधनबीच प्रशंसनीय काम गरेका छन् : गृहमन्त्री खाण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन् ।
आर्थिक वर्ष २०७७र०७८ मा बेरुजु फर्छ्यौट कार्यका सर्वोकृष्ट/उत्कृष्ठ हुने कर्मचारी र सोमबारदेखि अवकाशमा जान लाग्नुभएको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मान गर्न आयोजित कार्यक्रममा गृहमन्त्री खाणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताए ।
‘सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय छन्,’ गृहमन्त्री खाणले भने, ‘आगामी दिनमा यो भन्दा अझ राम्रो काम सुरक्षा निकायले गर्ने अपेक्षा सरकारको छ ।’
सुरक्षा निकायलाई बिस्तारै स्रोत र साधनयुक्त बनाउने योजना सरकारको रहेको गृहमन्त्री खाणले बताए ।
गृहमन्त्री खाणले कार्यक्रममा बेरुजु फर्छ्यौटमा सर्वोकृष्ठ/उत्कृष्ठ हुनेहरूलाई नगद र प्रशंसा पत्रले सम्मान गरेका थिए ।
उनले तत्कालीन गृह सचिव महेश्वर न्यौपानेलाई १० हजार, प्रहरी महानिरीक्षक शैलेश थापालाई १० हजार, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई १० हजार, राष्ट्रिय किताब खाना (प्रहरी) का उपमहानिर्देशक शान्ता अधिकारी भट्टराईलाई १० हजार नगदसहित सम्मान गरे ।
त्यस्तै अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई ५ हजार नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यो अवधिमा रमेशकुमार केसी र भट्टराई आधा/आधा समय महानिर्देशक भएकाले दुवै जनालाई ५/५ हजार नगदले सम्मान गरिएको थियो । कार्यक्रममा केसी भने अनुपस्थित थिए ।
गृहमन्त्री खाणले मन्त्रालयका तत्कालीन लेखा शाखाका उपसचिव निर्मल न्यौपाने, लेखा शाखाका शाखा अधिकृत शालिराम पराजुली र तत्कालीन लेखापाल नरबहादुर कुँवरलाई ८/८ हजार नगदसहित सम्मान गरे ।
मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका तत्कालीन महानिर्देशक जितेन्द्र बस्नेतलाई १० हजार, गृह मन्त्रालयकी तत्कालीन सहसचिव हुमकला पाण्डेलाई १० हजारलाई पनि सम्मान गर्ने कार्यक्रम थियो । उनीहरू उपस्थित थिएनन् ।
पुरस्कार वितरण गर्दै बेरुजु फर्छ्यौटमा गृह मन्त्रालय अन्तर्गतका निकायले देखाएको कार्यकुशलता प्रशंसायोग्य रहेको भन्दै आगामी दिनमा यो भन्दा अझै राम्रो कार्य गरेर देखाउन आग्रह गरे ।