भरतपुरको मेयरमा कांग्रेसका २५ जना दाबेदार, मन्त्रीदेखि केन्द्रीय सदस्यसम्मले दिए निवेदन – Nepal Press

भरतपुरको मेयरमा कांग्रेसका २५ जना दाबेदार, मन्त्रीदेखि केन्द्रीय सदस्यसम्मले दिए निवेदन

भरतपुर । चितवनको भरतपुर महानगर पालिकाको मेयर बन्न नेपाली कांग्रेसबाट २५ जना आकांक्षी देखिएका छन् ।

कांग्रेसको भरतपुर महानगर समितिले हिजो र आज २ दिन महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्न चाहनेहरूलाई निवेदन दिन आह्वान गरेको थियो । जसअन्तर्गत आइतबार १३ र सोमबार १२ गरी २५ जनाले मेयरमा औपचारिक दाबी गरेका छन् ।

मेयर दाबी गर्नेमा कांग्रेस केन्द्रीय सदस्यदेखि बागमती प्रदेशका मन्त्रीसमेत रहेका छन् । भरतपुरको मेयर बन्न कांग्रेस केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र दिनेश कोइरालाले आकांक्षा राखेका छन् ।

बागमती प्रदेशका उद्योग मन्त्री मिलनबाबु श्रेष्ठले पनि भरतपुरको मेयरका लागि पार्टीभित्र निवेदन हालेका छन् । सभापति शेरबहादुर देउवानिकट श्रेष्ठ १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए ।

भरतपुर महानगरको मेयर बन्न कांग्रेसभित्र निवेदन दिनेमा निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, महानगर पूर्व सभापति भरत अधिकारी, पूर्व जिल्ला कोषाध्यक्ष शंकर कँडेल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी लगायत छन् ।

त्यस्तै नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दिर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, डा. केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दुवाडीले पनि मेयरको उम्मेदवार बन्न दाबी प्रस्तुत रहेका छन् ।

कांग्रेसको भरतपुर महानगरका प्रवक्ता ईश्वर प्रभाकर श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय समिति र जिल्ला समितिको परिपत्र अनुसार संकलन गरिएको निवेदनकै आधारमा उम्मेदवार चयनका लागि सिफारिस गरिनेछ । चितवन कांग्रेसले मेयरको प्रत्याशी छनोटका लागि आन्तरिक प्रक्रिया अगाडि बढाए पनि चुनावी तालमेलका क्रममा भरतपुरको मेयर कसको भागमा पर्ने टुङ्गो लागिसकेको छैन ।

नेकपा माओवादी केन्द्रले भरतपुरको मेयरमा दाबी गर्दै आएको छ । चितवनका कांग्रेस नेताहरूले भने भरतपुरको मेयर छाडेर चुनावी तालमेल सफल नहुने बताउँदै आएका छन् ।

भरतपुर महानगरको उपमेयरतर्फ भने चितवन कांग्रेसबाट २४ जना दाबेदार देखिएका छन् । महानगर समितिमा उपमेयर पदका लागि टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्ण बहादुर गुरुङ, राजिब न्यौपाने, वीरेन्द्र के सी, भूपतिदास सापकोटा, केदारनाथ बराल र रवि भद्र शर्मा खनालको दाबी छ ।

यस्तै निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्य नाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल , विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसी दाबी पेस गरेका छन् ।

नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता गरिएको हो ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर