पोखराको मेयरमा बाबुरामको दाबी, भन्छन्- पोखरालाई देशकै नमूना बनाउँछु (भिडिओ) – Nepal Press

पोखराको मेयरमा बाबुरामको दाबी, भन्छन्- पोखरालाई देशकै नमूना बनाउँछु (भिडिओ)

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरु उम्मेदवार चयनको तयारीमा व्यस्त छन् । सत्तारुढ पाँच दलीय गठबन्धनमा चुनावी तालमेलको खाका बन्नै बाँकी छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने धमाधम उम्मेदवार टुंग्याउँदैछ ।

देशभरका ७ सय ५३ स्थानीय तहको नेतृत्वका लागि निर्वाचन हुन लागे पनि अधिकांशको चासो महानगरको प्रतिस्पर्धातर्फ छ । सत्तागठबन्धनमा भरतपुर महानगरपालिका माओवादी र कांग्रेसमध्ये कसले राख्ने भन्नेमा बहस जारी छ । त्यसबाहेक अन्य महानगरको नेतृत्व पनि टुंगिसकेको छैन ।

देशका ६ वटा महानगरपालिकामध्ये गण्डकी प्रदेशको राजधानी कास्कीमा रहेको पोखरा महानगरपालिका पनि एक हो । गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्वका लागि दाबी प्रस्तुत गरेका छन् । प्रमुख सत्तारुढ घटक कांग्रेसबाट भने लामो समय प्रशासनिक सेवा गरेका बाबुराम आचार्यले दाबी प्रस्तुत गरेका छन् ।

पोखराको स्थानीय नागरिकका रुपमा आफूलाई प्रस्तुत गर्ने बाबुराम महानगरको वास्तविक संरचना र मेयरको कार्यक्षेत्रबारे अझै प्रष्टता नभएको बताउँछन् । पोखराको पहिचान सुन्दर र पर्यटकीय नगरीका रुपमा भएपनि व्यवस्थित सहरका रुपमा हुन बाँकी नै रहेको बाबुराम बताउँछन् ।

‘पोखरा महानगरपालिकाको कुरा अरुको भन्दा भिन्न हो । पोखरा देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकोले व्यवस्थित पोखरा महानगरपालिका स्थानीयको मात्रै होइन मुलुककै आवश्यकता हो’, बाबुराम भन्छन् ।

लामो समय सरकारी सेवामा रहेर सचिवसम्म भएका आचार्य तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको प्रशासनिक सल्लाहकार थिए । संविधानले महानगरपालिकालाई एक कार्यकारी केन्द्रको रुपमा परिकल्पना गरेपनि जनतालाई डेलिभरी दिनेगरी काम हुन नसकेको आचार्यको दाबी छ ।

२०७४ सालको निर्वाचनपछि पोखरा महानगरपालिकाकै अवस्था हेर्ने हो भने जनताले सुविधा पाएको देखिँदैन । स–साना कामका लागि पनि बारम्बार महानगरको कार्यालयमा धाउनुपर्ने समस्याबाट नागरिकले मुक्ति नपाएको आचार्य बताउँछन् । ‘जनताका सामान्यभन्दा सामान्य कामपनि महानगरबाट भइरहेका छैनन् । भौतिक पूर्वाधार निर्माण र सुशासनसँगै जनतालाई दिने सेवामा पनि सुधार जरुरी छ’, आचार्यले भने ।

पोखरा महानगरलाई कांग्रेसले मात्रै सही नेतृत्व दिने बताउने आचार्य आफू मेयर भएमा सबै वडालाई अधिकार निक्षेप गर्ने बताउँछन् । ‘महानगरको मेयर भनेको जनताको प्रमुख मात्रै नभएर कार्यकारी पनि हो । म मेयर भएमा महानगरपालिका अन्तर्गतका संयन्त्रहरुलाई चुस्त बनाएर काम गर्छु । वडाहरुको अधिकार वडामै निक्षेपण गर्छु र महानगरको सर्वाङ्गीण विकासका लागि योग्य टिम बनाएर काम गर्छु’, आचार्यको दाबी छ ।

आसन्न स्थानीय निर्वाचन, पोखरा महानरपालिकाको अवस्था र आफ्नो उम्मेदवारीबारे कांग्रेस नेता बाबुराम आचार्यले प्रस्तुत गर्नुभएको धारणा भिडिओमा हेर्नुहोस्–

 


प्रतिक्रिया

One thought on “पोखराको मेयरमा बाबुरामको दाबी, भन्छन्- पोखरालाई देशकै नमूना बनाउँछु (भिडिओ)

  1. आगामि चुनाबमा मेयर पदमा उम्मेदवार हुन चाहनेले 29 चैतक‍ो 2078 को यसरी बनिन्छ अब्बल मेयर श्रीषकको रन्जन काफ्लेको लेख पढुन अनि सोचुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर