समयमै आईजीपी नियुक्त गर्न किन चाहँदैन सरकार ? – Nepal Press

समयमै आईजीपी नियुक्त गर्न किन चाहँदैन सरकार ?

काठमाडौं । नेपाली सेनाका तत्कालीन प्रधान सेनापति पूर्णचन्द्र थापाले सेवाबाट अवकाश पाउनु एक महिनाअघि गत साउन २४ देखि बिदामा बसे । थापा अवकाशमा जानु दुई साताअघि नै प्रभुराम शर्मा भावी प्रधान सेनापति नियुक्त भए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भदौ २४ देखि लागू हुने गरी भदौ ११ मा सेनापति नियुक्त गरेकी थिइन् । घर बिदा बस्नुअघि शर्मालाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी दिइएको थियो ।

योभन्दा ठीक उल्टो परिस्थिति छ अर्को सुरक्षा संगठन सशस्त्र प्रहरीमा ।

एपीएफमा न आईजीपीले अवकाशपूर्व बिदा बस्छन् न त पद खाली हुँदा सम्हाल्ने अर्को व्यक्ति तयारी अवस्थामा नै राखिएको हुन्छ ।

शैलेन्द्र खनालले आईजीपीको ४ वर्षे पदावधिका कारण सोमबारदेखि अनिवार्य अवकाश पाएका छन् । खनाल अन्तिम दिनसम्म कार्यालय आइरहे । सोमबार मध्यरातदेखि सशस्त्रमा आईजीपी पद रिक्त भएको छ ।

कार्यालयबाट बिदा हुनुअघि खनालले वरिष्ठतम एआईजी पुष्पराम केसीलाई निमित्त आईजीपीको जिम्मेवारी दिएका छन् । सरकारले सशस्त्रमा केसी र अर्का एआईजी रामशरण पौडेलमध्ये एकलाई आईजीपी नियुक्त गर्नुपर्ने छ । दुवैजना आगामी वैशाख १८ गतेबाट अवकाश पाउन लागेकाले जो आईजीपी बनेपनि २१ दिनका लागि मात्र बन्ने अवस्था थियो ।

तर, सरकारको ढिलासुस्तीका कारण यो अवधि अझ घट्ने देखिएको छ । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल आफ्नो मान्छेलाई बनाउने खेलका कारण आईजीपी नियुक्तिमा ढिलाइ हुने गरेको बताउँछन् ।

‘जो सबैभन्दा सिनियर हुन्छ, उ त ढुक्क हुन्छ । तर, नियुक्तिमा ढिलाइ गर्दा कनिस्टहरू सत्तासँग बार्गेनिङ गर्न पुग्छन् । बार्गेनिङ भनेको पैसाको मात्र हुन्न, त्यहाँ अरु चिजको पनि हुन सक्छ’, मल्ल भन्छन् । नियुक्ति ढिलो हुँदा सबैभन्दा सिनियरहरू पनि बार्गेनिङ गर्नुपर्ने अवस्थामा पुग्ने मल्लको भनाइ छ ।

जनपद र सशस्त्र दुवैमा एक महिनाअघि नै आईजीपी नियुक्त गरिनुपर्ने उनको सुझाव छ।

‘मलाई रविन्द्रप्रताप शाहले आईजीपी भएपछि भन्नु हुन्थ्यो- एआईजीले आईजिपीबारे जम्मा १० प्रतिशत मात्र बुझेको हुने रहेछ । बाँकी ९० प्रतिशत बुझ्न त आईजीपी नै बुझ्नुपर्ने रहेछ’, मल्ल नेपाल प्रेससँग भन्छन्, ‘जो भावी आईजीपी बन्छ उसलाई बेलैमा जानकारी पाएमा बहालवाला आईजीपीले अवकाश पाउनुअघि उसले जिम्मेवारीबारे बुझ्ने र थाहा पाउने मौका पाउँछ ।’

मल्ल नेपाल प्रहरीमा पनि आईजीपी अवकाशमा जानुअघि एक महिना बिदा बस्ने चलन रहेको तर राजनीतिक चलखेल हाबी हुन थालेपछि त्यो बन्द भएको बताउँछन् । नेपाल प्रहरीका वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले पनि आगामी वैशाख १८ देखि अवकांश पाउँदैछन् । उनी अवकाशमा जानुअघि घर बिदा बस्ने/नबस्ने निश्चित छैन ।

तर, त्यसपछिका आईजीपीमा चलखेल हुने अहिलेदेखि नै सम्भावना बढेको छ । १६ महिनाअघि एआईजी बनेका विश्वराज पोखरेल, ९ महिनाअघि एआईजी बनेका सहकुल थापादेखि एक साताअघि मात्र एआईजी बनेका धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकसम्म आकांक्षी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर