दोलखा : गठबन्धनमा बैतेश्वर माओवादीको बटम लाइन, लक्ष्मण खड्का अध्यक्षमा सर्वसम्मत सिफारिस – Nepal Press

दोलखा : गठबन्धनमा बैतेश्वर माओवादीको बटम लाइन, लक्ष्मण खड्का अध्यक्षमा सर्वसम्मत सिफारिस

दोलखा । नेकपा माओवादी केन्द्रले बैतेश्वर गाउँपालिका अध्यक्षमा युवा नेता लक्ष्मण खड्कालाई उम्मेदवार सिफारिस गरेको छ ।

सामुदायिक रेडियो प्रसार संघका कोषाध्यक्षसमेत रहिसकेका पत्रकार खड्का सो क्षेत्रका लोकप्रिय नेता हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले जितेको बैतेश्वरमा यस पटक माओवादीले अध्यक्ष नछाड्ने बताएको छ । यसअघि कांग्रेसका छवि लामा अध्यक्ष र माओवादीका रविचन्द्र आचार्य उपाध्यक्ष निर्वाचित भएका थिए ।

माओवादीको गाउँपालिका कमिटी सचिवालय बैठकले बैतेश्वरमा पार्टीले एक्लै चुनाव जित्ने अवस्था रहेकाले गठबन्धनका नाममा छाड्न नसकिने निष्कर्ष निकालेको छ ।

बैठकमा जिल्ला इन्चार्ज देवी खड्कासहितका नेताहरू उपस्थित थिए । बैतेश्वरमा गठबन्धनबाट कांग्रेस र नेकपा एसले पनि दावी गरेका छन् । माओवादीले बैतेश्वरलाई गठबन्धनको बटम लाइन बनाएको छ ।

सो पार्टीले बैतेश्वरका चार वटा वडाध्यक्ष समेत सर्वसम्मत सिफारिस गरेको छ । माओवादीले तामाकोसी गाउँपालिका अध्यक्षमा सन्तोष केसीको नाम सिफारिस गरेको छ ।

दोलखामा बैतेश्वर र बिगु गाउँपालिकाको कारण गठबन्धनमा समस्या आएको छ । दुवै पालिकामा कांग्रेस माओवादी गठबन्धनले जितेको थियो र दुवैमा कांग्रेसका अध्यक्ष थिए । यस पटक माओवादीले दुवै पालिकामा अध्यक्ष दावी गरेको छ ।

यसबाहेक नेकपा एसले तामाकोसी,बैतेश्वर र मेलुङमा दाबी गरेको छ । जिल्लाका ९ स्थानीय तहमध्ये अघिल्लो चुनावमा गठबन्धनका बीच एमालेले ७ वटा स्थानीय तह एक्लै जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर