विप्लव नेकपामा डेढ करोड फिरौति काण्ड–हाइ कमाण्डका नेता कारवाहीको निसानामा – Nepal Press

विप्लव नेकपामा डेढ करोड फिरौति काण्ड–हाइ कमाण्डका नेता कारवाहीको निसानामा

अल्पमतमा परेपछि आरोप लगाएर विषयान्तर गर्न खोजिएको सुदर्शनको दावी

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्य हेमन्द्र प्रकाश ओली ‘सुदर्शन’लाई निर्वाचनको विपक्षमा उभिएपछि आर्थिक कारबाहीको निसानामा पारेको छ । निर्वाचनलाई उपयोग गर्नुपर्ने पार्टी महासचिव विप्लवको राजनीतिक प्रस्तावको विपक्षमा उभिएपछि सुदर्शन आर्थिक कारबाहीको निसानामा परेका हुन् ।

पार्टीको भर्खरै कपिलवस्तुमा सम्पन्न केन्द्रीय समितिको बैठकमा पार्टी महासचिव विप्लवले निर्वाचनलाई उपयोग गर्नुपर्नेसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । पार्टीको केन्द्रीय समिति बैठक सकिएपछि पार्टी महासचिव विप्लवले तयार पारेको सर्कुलर (परिपत्र)को १० नम्बर बुदाँमा कारबाही तथा असुलीबारे उल्लेख गरिएको छ ।

जसको पहिलो बुँदामा नै पार्टीको नाममा भिम चापागार्इँले उठाएको लाखौं रकमबारे छानबिन गर्ने निर्णय भएको छ । पार्टीका विप्लव निकट मानिएका एक केन्द्रीय सदस्यका अनुसार भर्खरै मात्र पार्टी परित्याग गरेका भिम चापागाईँको योजनामा सुदर्शनले ७७ लाख उठाएर खाएको आरोप लगाइएको छ । ती केन्द्रीय सदस्यका अनुसार सुदर्शनले नै चापागाईँलाई केन्द्रीय समितिको बैठकमा आर्थिक हिनामिना गरेको भन्दै कारबाही गर्ने सूचना दिएपछि उनले बैठकले निर्णय गर्नुअघि नै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

यस्तै दोस्रो बुँदामा पार्टीको नाममा अन्नपूर्ण होटलबाट ल्याएर आएको पैसा चैत मसान्त भित्र पार्टीमा बुझाउने निर्णय भएको छ । उक्त निर्णय सचिवालय सदस्य सुर्दशनलाई नै केन्द्रीत गरेको गरिएको ती केन्द्रीय सदस्यले बताए । उनका अनुसार सुदर्शनले होटल अन्नपूर्णको एउटा बिबाद मिलाइदिने भन्दै होटल सञ्चालक सिर्जना राणाबाट ६० लाख रुपैयाँ प्रतिबन्धकै बेला लगेका थिए । त्यसबाट १० लाख रुपैयाँ सुदर्शनले नै राखेको र ५० लाख रुपैयाँ पार्टी महासचिव विप्वललाई बुझाएका थिए ।

तर, पार्टी महासचिव विप्लवले यसरी मुद्धा मिलाएर पैसा लिन नहुने भन्दै ५० लाख रुपैयाँ सुदर्शनलाई नै फिर्ता गरेका थिए । उक्त फिर्ता भएको रकम सुदर्शनले नै खर्च गरेको ती केन्द्रीय सदस्यले आरोप लगाए ।

यसरी पार्टी परित्याग गरिसकेका भिम चापागाईमार्फत ७७ लाख रुपैयाँ र होटल अन्नपूर्णबाट लिएको ६० लाख रुपैयाँ गरेर एक करोड ३७ लाख रुपैयाँ चैत मसान्तसम्म बुझाइसक्न सचिवालय सदस्य सुदर्शनलाई पार्टीले निर्देशन दिइसकेको ती केन्द्रीय सदस्यले बताए ।

आर्थिक हिनामिना गरेको पुष्टि भए कारबाही गर्न सुदर्शनको चुनौती

सुर्दशनले अहिले सैद्धान्तिक विषयमा बहस भइरहेका बेला प्राविधिक विषय ल्याएर विवादमा पार्न खोजिएको आरोप लगाएका छन् । उनले नेपाल प्रेससँग भने, ‘मलगायत बहुमत केन्द्रीय सदस्य साथीहरु निर्वाचनको विपक्षमा उभिएका छौं । महासचिव कमरेड विप्लव र प्रवक्ता कमरेड प्रकाण्ड निर्वाचनको पक्षमा लागिरहनुभएको छ । अहिले यसै सैद्धान्तिक विषयमा छलफल र बहस भइरहेका बेला यस्तो प्राविधिक विषय ल्याएर विवादमा तान्न खोजिएको छ । यो षड्यन्त्रपूर्ण ढंगले ल्याएको छ ।’

सुर्दशनले आफू छानबिनपछि पुष्टि भए कारवाही भोग्न तयार भएको बताए । तर, सैद्धान्तिक विषयमा असमति राखेकै कारण प्राविधिक विषय ल्याएर पार्टीको एजेण्डा र निर्णय तुहाउन नमिल्ने उनको तर्क छ ।

सैद्धान्तिक बहसका बेला आर्थिक हिनामिनाको मुद्धा उठाउनु रहस्यमयः धर्मेन्द्र बास्तोला

पार्टीका प्रवक्तासमेत रहेका सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले यस बिषयमा बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ले भने सचिवालय सदस्य सुदर्शनले पैसा उठाएर हिनामिना नगरेको तर्क गरे । उनले नेपाल प्रेससँग भने, ‘सुर्दशन कामरेडले अफ्ठयारो अवस्थामा पैसा कसैलाई राख्न दिनुभएको हो । यदि गरेको भए, कसले गर्यो त्यसमा को आवद्ध छ, अहिलेसम्म केहि पनि जानकारी नहुने र नराख्ने पार्टीले । अहिले आएर सैद्धान्तिक बहस भइरहेका बेला आर्थिक कुरा उठाएर रहस्यमय तरिकाले पार्टीलाई असफल बनाउन खोजिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर