गठबन्धनमा महानगर बाँडफाँट- काठमाडौं वा पोखरा नेकपा एसको बटम लाइन, अन्यत्र सहमति – Nepal Press

गठबन्धनमा महानगर बाँडफाँट- काठमाडौं वा पोखरा नेकपा एसको बटम लाइन, अन्यत्र सहमति

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरू ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डा मिलाउन अनौपचारिक छलफलमा जुटेका छन् ।

महानगरपालिकाको भागबण्डा लगभग सहमति नजिक रहेपनि नेकपा एकीकृत समाजवादीले पोखरा वा काठमाडौंमध्ये एउटा दाबी गरेपछि थप छलफल आवश्यक भएको कांग्रेस स्रोतले जनाएको छ ।

विगतमा एमालेले जितेकामध्ये एउटा महानगरपालिका आफूले पाउनुपर्ने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले शीर्ष बैठकमै अडान राखेपछि कांग्रेसमा थप छलफल आवश्यक भएको हो ।

गठबन्धन दलमध्ये माओवादीले भरतपुर र जसपाले वीरगन्ज महानगरपालिकाको मेयर पाउने निश्चित जस्तै छ । ती दुवै पालिकामा कांग्रेसले उपमेयरसहित बहुमत वडाध्यक्ष लिनेछ ।

त्यस्तै कांग्रेसले जितिरहेका विराटनगर र ललितपुर महानगरपालिका पाउने निश्चित छ भने काठमाडौं महानगर कांग्रेसले नै लिनेछ । तर नेकपा एसले काठमाडौं नपाए पोखरा दाबी गरेको छ ।

पोखरा नेकपा एसलाई दिन नहुने र कांग्रेस एक्लै जित्ने महानगर नेकपा एसलाई दिँदा एमालेको जित सहज हुने भन्दै स्थानीय नेताहरू काठमाडौंमा आएका छन् ।

अघिल्लो चुनावमा कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा पनि एमालेले करिब २० हजारको मतान्तर जितेको थियो ।

कास्कीका कांग्रेस नेताहरूले जिल्लामा नेकपा एमाले विभाजनको असर न्यून रहेको र पोखरा महानगरपालिकामा नेकपा एसको मत २ हजार पनि नपुग्ने भन्दै कांग्रेसले आफ्नो ४५ हजार मत खसाउँदा पनि जित्न नसकिने रिपोर्ट गरेका छन् ।

कांग्रेस नेता तथा मेयरका दाबेदार विश्वशंकर पालिखेले भने- पोखराको मेयर जित्न ६० हजार भन्दा बढी मत ल्याउनुपर्छ । त्यो भनेको कांग्रेस पार्टीबाटै उठ्दा पनि पार्टीको मात्र नभएर व्यक्तिगत लोकप्रियताको मत समेत चाहिन्छ । कांग्रेसलेबाहेक अरूले पाएर सबै भोट खन्याउन पनि सकिन्न र जिताउन पनि सम्भव छैन ।

नेकपा एसले पोखरा पाउँदा मेयर उम्मेदवार धनराज आचार्य हुन् । कांग्रेसबाट भने पूर्व सचिव बाबुराम आचार्य,पार्टी सभापति कृष्ण केसी, विश्वशंकर पालिखे लगायत छन् ।

नेकपा एसका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पोखरा र काठमाडौंमध्ये एउटा महानगर आफूहरूले पाउने बताए । काठमाडौं पाएको अवस्थामा नेकपा एसले जीवनरामलाई मेयर उम्मेदवार बनाउने जिल्ला अध्यक्ष कुसुम कार्की बताउँछन् ।

उपमहानगरको बाँडफाँटमा पनि नेकपा एसले इटहरी र हेटौँडा दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर