माओवादीका वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी साधारण सदस्यबाटै निष्कासित – Nepal Press

माओवादीका वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी साधारण सदस्यबाटै निष्कासित

काठमाडौं । नेकपा माओवादी केन्द्रले वीरगन्ज महानगरपालिका कमिटीका अध्यक्ष रहबर अन्सारी, उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारीलाई पार्टीबाट निष्कासन गरेको छ ।

वीरगन्जबाट माओवादीको मेयर उम्मेदवार बनिसकेका र अहिले पनि मेयरका दाबेदार अन्सारीलाई पार्टी कार्यालय तोडफोड गरेको अभियोगमा पर्सा जिल्ला समन्वय समितिले बुधवार साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।

जिल्ला इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले संयुक्त वक्तव्यमार्फत अनुशासनहीन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने काममा संलग्न रहेको आरोप अन्सारीमाथि लगाएको छ ।

विज्ञप्तिमा पार्टी कार्यालय तोडफोड गरि जिल्लाका नेताहरूलाई गालीगलौज गराउनुको साथै देशी विदेशी प्रतिक्रियावादीहरूको इसारामा पार्टीलाई बदनाम गराउन खोजेको आरोप लगाइएको छ ।

यसअघि बुधवार अपरान्ह अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख जुवेर आलमसहितको टोलीले जिल्ला कार्यालय तोडफोड गरेका थिए ।

स्थानीय चुनाव लक्षित संयन्त्र गठनप्रति असन्तुष्ट उनीहरू ज्ञापन पत्र बुझाउन जाँदा भनाभन भएपछि तोडफोडमा उत्रिएका थिए ।

जिल्ला संयोजक र सचिवले चन्दा उठाएर पार्टीको बदनाम गरेको उनीहरूको आरोप छ ।

जिल्ला संयोजक कुशबाहाले भने रहबर अन्सारीको निर्देशनमा सो घटना भएको आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर