कर्णाली प्रदेशका १० वटै जिल्लाबाट पानी परीक्षण सुरु  – Nepal Press

कर्णाली प्रदेशका १० वटै जिल्लाबाट पानी परीक्षण सुरु 

सुर्खेत । कर्णाली प्रदेशको गाउँ , गाउँमा पानी परीक्षणको काम सुरु भएको छ । प्रदेशमा एक महिना देखि पानी परीक्षणको काम सुरु भएको हो ।
कर्णालीका १० जिल्लामा रहेका खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयबाट पानी परीक्षणको काम सुरु भएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका महाशाखाका प्रमुख गोपाल शर्माले बताए ।
प्रत्येक जिल्लामा एक वटा पानी परीक्षण गर्ने मेसिन पठाएर काम सुरु भएको जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । गाउँ ,गाउँबाट माग आए अनुसारको पानी परीक्षणको काम सुरु भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए ।
प्रदेश राजधानी सुर्खेतमा २४ फागुनदेखि २६ सम्मा पानी परीक्षणको तालिम दिएर जिल्लामा कर्मचारी परिचालन गरिएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमा खानेपानीको बजेट रहेकोमा दुई हप्ता अघि मात्र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा ल्याइएको थियो । पानी परीक्षण गर्नका लागि प्रदेश राजधानी नै धाउनुपर्ने बाध्यता अन्त्य भएपछि सर्वसाधारणहरू खुसी भएका छन् ।
जिल्ला तहमै पानीको परीक्षण सुरु भएसँगै अब फोहर पानी पिउनुपर्ने बाध्यता बिस्तारै कम हुँदै जाने अपेक्षा लिइएको छ । सबैको पहुँचमा पानी नभएको सन्दर्भमा गाउँ , गाउँमै गएर पानी जाँचको काम सुरु भएपछि सर्वसाधारणहरू खुसी भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।
जिल्लाहरूमा मेसिन पुगेसँगै पानी परीक्षणको माग अत्यधिक बढेको जिल्ला कार्यालयले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा रिपोट पेस गरेका छन् ।
नयाँ खानेपानीको योजना निर्माणसँगै पानीको शुद्धतामा समेत मन्त्रालयले ध्यान दिएको मन्त्री सिंहले बताए । लगानी गरेपछि ,त्यसको हरेक कुरामा प्रतिफल आउनुपर्छ भन्ने हाम्रो चाहना रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर