जीवनको अन्तिम क्षणमा सूर्यबहादुरले सुनिललाई सुनाएका केही प्रसंग
काठमाडौं । २०७१ चैत ५ गते बिहीबार सूर्यबहादुर थापाले आफ्नो ८८ औं ‘जन्मदिन’ मनाए । जन्मदिनको शुभकामना दिन पूर्वप्रधानमन्त्रीहरू सुशील कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), केपी शर्मा ओली, बाबुराम भट्टराईलगायत थापा निवास पुगेका थिए । थापालाई शुभकामना दिन सबै पार्टीका प्रमुख नेता र विभिन्न देशका राजदूत पनि थापा निवास गएका थिए ।
शुभकामना दिन गएका सबै नेताहरूलाई थापाले एउटै प्रश्न गरे- ‘६२/६३ को राजनीतिक परिवर्तनपछि मंसिर ४ गते जनतालाई दिने भनिएको संविधान किन दिन सकिएन ? नयाँ बन्ने संविधानले जनजाति, मधेसी, दलित र महिलालाई समान अधिकार दिएन भने मुलुकमा स्थायित्व र विकास हुन सक्छ ?
तत्कालीन राजनीतिका पाका नेता सूर्यबहादुर थापाको त्यो ८८औं जन्मदिन र राजनीतिक भेटघाट नै उनको जीवनको अन्तिम भेटघाट र मुलुकको राजनीतिप्रतिको अन्तिम सुझाव बन्न पुग्यो ।
पञ्चायतकालमै थापाको बारेमा एउटा निकै चर्चित कहावत थियो- मुलुकमा संकट पर्यो भने सूर्यबहादुरलाई सम्झिनू । राजाहरूले भनेको मानिने यो भनाइ बेलाबेला पुष्टी पनि भएकै हो । तत्कालीन राजा महेन्द्र र वीरेन्द्रले मात्र होइन ज्ञानेन्द्रले पनि संकटको बेला सूर्यबहादुरलाई देशको बागडोर जिम्मा लगाए । तर, उनी राजाका सदाबहार प्रियपात्र भने कहिल्यै बन्न सकेनन् वा खोजेनन् ।
बरु उनले पञ्चायतको दबदबाका बेला कहिले ‘दरबारभित्रको भूमिगत गिरोह’ को विरोध गरे भने कहिले काँचो वायुको कुरा गरे । अर्थात उनी पञ्चायतभित्रकै पनि विद्रोही थिए । भूमिगत गिरोह भनेर उनले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र महारानी ऐश्वर्याप्रति कटाक्ष गरेका थिए ।
थापा नेपाली राजनीतिका कहिल्यै नबिर्सने पात्र त हुन् नै,उनले जीवनको अन्तिम क्षणसम्म पनि राजनीतिप्रति सक्रियता देखाए । उनको अन्तिम जन्मदिनका अवसरमा राखेको चासो र सुझाव अहिले पनि प्रकट हुने गर्छ । उनले संविधानप्रति आउन सक्ने असन्तुष्टिका स्वरलाई पहिले नै संकेत गरेका थिए ।
आज सूर्यबहादुर थापाको निधनको ७औं स्मृति दिवसका अवसरमा उनको जीवनका अन्तिम क्षणको बारेमा छोरा सुनिल थापाको स्मृतिसहित केही प्रसंगहरू आज पनि उल्लेख्य छन् ।
सूर्यबहादुरबारे सम्झना
वि.सं. १९८४ सालमा धनकुटाको मुगामा जन्मिएका सूर्यबहादुर थापा राजा महेन्द्र, बीरेन्द्र र ज्ञानेन्द्र गरी तीन राजाहरूको शासनकालमा पाँचपटक नेपालको प्रधानमन्त्री भए । राजनीतिक जीवनमा मान्छेले अनेक प्रकारका उतार चढावहरू व्यहोर्नुपर्छ भन्ने उदारण हुन् सूर्यबहादुर थापा । पञ्चायती व्यवस्थामा दरबारसँग पटक-पटक संघर्ष गरी जेल जिवन बिताएका थापा जीवनको उत्तरार्द्धमा गणतन्त्रवादी भए ।
पूर्वपञ्चहरूले अझै पनि गणतन्त्र स्वीकार गरेका छैनन्,बल्ल कमल थापा राप्रपा अध्यक्षमा हारेपछि गणतन्त्रवादी बन्दैछन् । तर सूर्यवहादुर थापाले भने जनआन्दोलन लगत्तै नेपालमा राजतन्त्रको युग सकिएका बताएका थिए । उनी दोस्रो संविधानसभाको पहिलो बैठकमा पनि जेष्ठ सदस्यको हैसियतले अध्यक्षको कुर्सीमा बसेर गणतन्त्र घोषणा गरे ।
विसं २०१५ सालमा ३१ वर्षको उमेरमा थापा पहिलो संसदीय चुनावमा धनकुटाबाट स्वतन्त्र उमेदवारका रूपमा चुनाव लडे । त्यो चुनावमा थापा नेपाली कांग्रेसका उमेदवार लीलानाथ पाध्यासँग ९ सय ९ मतले पराजित भएका थिए । यो निर्वाचनपछि गठित विपी कोइरालाको सरकारलाई तत्कालीन राजा महेन्द्रले दुई वर्षमै ‘कू’ गरका थिए ।
महेन्द्रले कू गरेको ३ वर्षपछि नै सूर्यबहादुर थापाले देशको बागडोर सम्हाल्ने मौका पाए । २०२१ सालमा ३७ वर्षको उमेरमै नेपालको प्रधानमन्त्री बनेका थापा त्यसपछि पटकपटक गरी अन्तिमपटक ७६ वर्षको उमेरसम्म प्रधानमन्त्री बने ।
राजा महेन्द्रको निधनपछि सूर्यबहादुर थापा दरबारको विरोधमा उत्रिए । दरबारले उनलाई जेल हाल्यो । जेलमा पनि थापाले भोक हड्तालको आन्दोलन जारी राखे । संघर्ष र जेल सजायको जीवन बिताउँदै आएका सूर्यबहादुर थापा सबैभन्दा कान्छो उमेरमा प्रधानमन्त्री बन्ने नेपालका नेतामा उनी पहिलो हुन् ।
२०३६ सालमा वहुदल कि निर्दल भन्ने बारेमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला जनमत संग्रह गरियो । जनमत संग्रहमा पञ्चायत जिताउन थापाले शक्तिको दुरूपयोग गरेको आरोप पनि लाग्यो । राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राख्थे ।
२०३६ सालको जनमत संग्रहअघि नै थापाले नेपालमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गरेका थिए । जनमत संग्रहमा बहुदल हारेपछि ०३८ सालमा भएको संसदीय चुनावमा सूर्यबहादुर थापाले धनकुटाबाट कुल खसेको ४६ हजार मत मध्ये ४० हजार ५ सय ल्याएर विजयी भएका थिए ।
विजयपछि उनी फेरि देशको प्रधानमन्त्री बने । तर, त्यातिबेला थापा र दरबारवीच दुरी बढ्यो । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह नेतृत्वको ‘भूमिगत गिरोह’ले प्रधानमन्त्रीबाट बर्खास्त गर्न खोजेपछि सूर्यबहादुर थापाले पाँचवर्षे कार्यकाल पूरा नहुँदै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि पञ्चायतकाल रहुञ्जेल दरबारले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बन्न दिएन ।
प्रजातन्त्र पुनःस्थापना पछि पनि २०५४ सालमा नेपाली कांग्रेसको समर्थनमा थापा प्रधानमन्त्री बनेका बनेका थिए । राजा ज्ञानेन्द्रको शासनकालमा पनि उनी प्रधानमन्त्री बने । छर-छिमेककी र विदेशीहरूसँग पनि राजनीतिमा सुझबुझ गरी समझदारी राख्ने, मुलुकमा भएको राजनीतिक परिवर्तनलाई स्वीकार्नेमा थापा नेपालका केही परिपक्व राजनीतिज्ञ मध्ये एक मानिन्छन् ।
पाँचपटक प्रधानमन्त्री
शेरबहादुर देउवा ज्योतिषीले आफूलाई सातपटक प्रधामन्त्री बन्ने भविष्यवाणी गरेको सुनाउँछन् । उनी पाँचौ कार्यकालमा छन् । गिरिजाप्रसाद कोइराला पनि पाँचपटक प्रधानमन्त्री बनेका थिए ।
सूर्यबहादुर वि.सं. २०२१-२०२३, २०२३-२०२५, २०३६-२०४०, २०५४-२०५४ र वि.सं. २०६०-२०६१ गरी पाँचपटक नेपालको कार्यकारी तथा प्रधानमन्त्री बनेका थिए । थापाले नेपाली राजनीतिमा विभिन्न युगहरूलाई एक्लै प्रतिनिधित्व गर्दै करिब ६० वर्ष सक्रिय राजनीति गरे । ८८ वर्षको उमेरमा पनि उनी जल्दोबल्दो, गहुँगोरो, अग्लो र बोल्दा प्रस्ट बोल्ने र कसैसँग नडराउने, अनुहार जुधाएर बोल्थे र त्यही स्वरूपमा बिदा भए ।
थापा नेपाली राजनीतिका सधै चर्चामा रहे । कहिले सकारात्मक कामले कहिले नकारात्मक । अनुदारीवादी शासक,छिन्ताङ हत्याकाण्डजस्ता विषय उनीमाथिका नकारात्मक बिम्ब हुन् । तर, पूर्वाञ्चलको विकासमा उनी स्मरणीय छ । उनले गृह जिल्ला धनकुटालाई पूर्वाञ्चलको सदरमुकाम बनाएका थिए ।
कोइराला परिवारको सान्निध्यमा हुर्किए पनि थापा कांग्रेस बनेनन् तर छोरा सुनिल थापा अहिले कांग्रेस नेतृत्वमा छन् । कांग्रेस नबने पनि सूर्यबहादुर थापाले वीपी कोइरालादेखि गिरिजाप्रसादसम्म सबैको मान मर्यादा कायम राखे र पारिवारिक सम्बन्ध बिगारेनन् ।
थापाले २०३८ सालमा धरान-धनकुटा सडक बनाए । हाल राजारानीबाट पाँचथर जाने सडक पनि यसमै जोडिएर निर्माण कै कार्यमा छ । धनकुटामा बिजुली, सडक, सिँचाइको कुलो, स्वास्थ्य, शिक्षाको लागि उनले धेरै काम गरेका छन् । ०३८ सालमै धनकुटाका अधिकांश स्कूलमा फुसको छाना विस्थापित गरी टिनको छाना लगाउने काम उनैले गरे ।
त्यो बेलाका पूर्वाधार हाल यथावत नै छन् । त्यतिबेला बनाएका खानेपानीका ट्यांकी, धारा यथावत छन् । हाल धेरैको मर्मत पनि हुन सकेको छैन । धनकुटा बजार, महालक्ष्मी नगरपालिका, आले, कुरेला जस्ता ठाउँमा अहिले पनि त्यही पानी आउँछ ।
३० को दशकमा धनकुटामा भोकमारी लागेको लाग्यो । त्यो बेलाको भोकमारीमा सूर्यबहादुर थापाले आँटा, दूध, खाध्यान्न लिएर धनकुटाको गाउँ र बस्तीमा घुमेर भोकमारीबाट बचाएका थिए ।
बहुदलपछि धनकुटा एमालेको गढ बन्यो । पञ्चायतकालको दबदबा सकिएकाले सूर्यबहादुरले २०४८ को पहिलो चुनाव हारे । यद्यपि सूर्यबहादुर थापा धनकुटा जाँदा एमालेका कार्यकर्ताले लुकेर भेट्ने गर्थे भन्ने किस्सा प्रचलित छन् । जिल्लामा पार्टीले कारबाही गर्ने डरले उनलाई भेट्न एमालेका प्रभावशाली नेताहरू काठमाडौं आएर मालिगाउँमा भेट्न जान्थे ।
बिरामी भएर काठमाडौंमा उपचार गराउन आएका जुनसुकै पार्टीका कार्यकर्ता तथा नेता भए पनि उनले निःशुल्क उपचार गरी गाडी भाडा दिएर पठाउँथे । बिरामी भइ काठमाडौं आएका वृद्धाहरूलाई उपचार गराएर पशुपति दर्शनसमेत गराएर घर पठाउँथे ।
गृहजिल्ला जाँदा थापा कहिले लठ्ठी टेकेर हिँड्दै पुग्थे, कहिले सेतो घोडामा त कहिले हेलिकोप्टरमा पुग्थे । जनताको घर-घरमा पुग्ने उनी कृषकको गोठमा गएर कसले कति गाइबस्तु पालेका छन् नियाल्थे । सकेसम्म गाउँमा घुलमिल गर्ने उनको बानी थियो । जनताको घरमा गई गुनासो सुन्ने उनको अचम्मको तरिका थियो । उनी गुनासो र सुझाव लेखेर दिन लगाउँथे । बुढा-बुढी र लेख्न नजान्नेहरूको गुनासो आफ्नो स्वकीय सचिवलाई टिप्न लगाउँथे र कसको के गुनासो छ मालिगाउँमा आएर गुनासोको पोको खोतल्थे ।
सूर्यबहादुर थापाको निधनपछि धनकुटाको राजनीति अहिले उनका छोरा सुनिलबहादुर थापाले सम्हालेका छन् । धनकुटाबाट एकपटक जितेर उनी मन्त्री पनि बने । सुनिलको बुवाको निधन भएको आज ७ वर्ष पुग्यो । २०७१ चैतमा बिरामी भएर उपचार गराउन भारत लगेका छोराले बुबालाई जीवित फर्काउन सकेनन् । २०७२ वैशाख २ उनले आफ्नो अभिभावक बुबालाई सधैँका लागि गुमाएका थिए ।
जीवनको अन्तिम क्षणमा सूर्यबहादुरले छोरासँग के भनेका थिए ? सुनिलले यसरी सुनाए ।
अन्तिम क्षणमा बाबुछोरा वार्तालाप
२०७१ चैत २७ गते । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा पेटको सफल शल्यक्रियापछि ‘अब्जर्बेसन’ मा बस्नुभएका पिताजी (सूर्यबहादुर थापा) लाई मतर्फ इसारा गर्दै नर्सले सोधिन्,- ‘डु यु नो हिम’? ।
बुबाको मुखमा अक्सिजन र बाफ लगाइएको थियो । त्यसैले उहाँले तत्कालै उत्तर फर्काउन सक्नुभएन । तर, एकछिन पछि परिचित मुद्रामा टाउको हल्लाएर मलाई हेर्दै जवाफ दिनुभयो- चिन्छु ।
बुबाको त्यो अवस्थाले म केहि समय उहाँको अनुहार हेरर भावुक बनेको थिएँ । भोलिपट उहाँको स्वास्थ्यमा केही सुधार देखें । शल्यक्रियाको तेस्रो दिन ‘स्पेसल केयर’ मा बुबालाई अर्को क्याबिनमा सारिँदै थियो ।
उहाँले भन्नुभयो, ‘तँ केही चिन्ता नगर्, म ठीकै छु । अलिअलि पेट दुखेको छ, अरु केहि समस्या छैन ।’
पाँचौं दिन उहाँलाई पुनः आफ्नो क्याबिनमा फर्काउँदा बुबाको अनुहारमा चमक आएको थियो । उहाँ उज्यालो देखिनु भयो । मेरो पिताजीको एउटा बानी थियो, सधैँ दाह्रीजुँगा काट्ने । त्यो दिन उहाँ दाह्रीजुँगा काटी चिटिक्क हुनुभयो ।
बुबाले केही बेरपछि मसँग राजनीतिक कुरा गर्न सुरू गर्नुभयो । मलाई निर्देशन दिँदै भन्नुभयो, ‘हेर सुनिल तँ अब राजनीतिमा आइसकिस् । राजनीतिमा सधैँ हारजित हुन्छ । म पनि हार्दै जित्दै गरेर यहाँसम्म आइपुगेको हुँ । त्यसैले हारमा कहिल्यै निरास नहुनू । लाज पनि नमान्नू । जितमा हाँसेर पनि नहिँड्नू । राजनीतिमा आफ्नो बाटो कहिल्यै नछाड्नू र उद्देश्य प्राप्तिको मार्गमा हिँड्दा आफ्ना लागि पूर्वाधार र बाटो आफैं तयार पारेर अगाडि बढ्नू ।’
बुबाले त्यसपछि मलाई आफूले चुनाव हार्दाको अनुभव सुनाउदै भन्नुभयो ‘मैले नेपाली कांग्रेसका लीलानाथ पाध्यासँग धनकुटामा चुनाव हारेको थिएँ । म आफूलाई पढलेखेको, जान्ने सुन्ने मान्छे हुँ भनेर सम्झिन्थें । चुनाव हार्नेबारे मैले सोचेको पनि थिइनँ । मुगाको सम्पन्न परिवारको मानिस भएकैले मेरो दिमागमा यस्तो कुरा पलाएको थियो । तर, त्यो निर्वाचनमा मैले हारेँ । मैले चुनाव हारेपछि म एक महिना घरबाट बाहिर निस्किन सकिन लाजले । एक महिनापछि धुलाम्मे भइसकेको कोट टक्टक्याउँदै फेरि घरबाहिर निस्केँ ।
बुबा भन्नुहुन्थ्यो, ‘पराजय स्वीकार गर्न नसक्ने व्यक्तिले कसरी राजनीति गर्छ ?’ बुबाले दुईवटा हारको अनुभव सुनाउनु भयो । उहाँले भन्नुभयो ‘मैले जिन्दगीमा दुईपटक हारेको छु । पहिलो हार लीलानाथ पाध्यासँग हो र अर्को हारेको भनेको २०६२/६३ को परिवर्तनपछि भएको संविधानसभाको पहिलो चुनावमा । ती दुई पराजयभन्दा पनि संविधानसभाको निर्वाचनपछि मंसिर ४ गते घोषणा गर्ने भनिएको संविधान त्यतिबेला जनतालाई दिन नसक्नुलाई मेरो जीवनको अहिलेसम्मकै सबैभन्दा ठूलो हार हो ।’
०००
२ वैशाख, २०७२ । शल्यक्रियाको १०औू दिन, बिहान । पिताजी आफ्नो नातिनी बुहारीको स्वास्थ्यलाई लिएर केही चिन्तित देखिनुहुन्थ्यो । यद्यपि त्यस दिन उहाँ आफ्नो पेटमा रहेको १२ वटा टाँकामध्ये पाँचवटा टाँका खोलेर भर्खरै बेडमा फर्किनुभएको थियो । एक्कासी मलाई सोध्नुभयो, ‘सिद्धार्थ (नाति) को बच्चा हुनेवाला थियो । के भयो ?
बच्चा आज कि भोलि भन्ने अवस्था थियो । तर, मेरो छोरा सिद्धार्थ पनि हजुरबुबाको उपचारका लागि मसँगै मेदान्त अस्पतालमै थियो ।
त्यस दिन बुबाले आफ्ना चिकित्सकसँग दुई घण्टा नेपाल र भारतको समसामयिक राजनीतिक विषयमा कुराकानी गर्नुभएको थियो । त्यतिबेलै चिकित्सकले तपाईंलाई राम्रो हुँदैछ, अब सात दिनपछि पूरै निको हुन्छ, त्यसपछि तपाईं घर जान सक्नुहुन्छ भनेका थिए । यो सुनेपछि हामी दिउँसो २ बजे खाना खान बाहिर निस्किएका थियौं ।
तर, ४ बजे एक्कासी अस्पतालबाट फोन आयो, तुरुन्त आउनुपर्यो । हामी अस्पताल पुग्नासाथ उहाँलाई आईसीयूमा राख्न निर्देशन दिइयो । आईसीयूमा लैजानुअघि दुईजनाले उहाँलाई भेट्ने अवसर पाएका थिए । ती थिए हिमालयन बैंकका अध्यक्ष मनोज श्रेष्ठ र गुरु रिम्पोचे ।
मनोजलाई देख्नेबित्तिकै पिताजीले सोध्नुभयो, ‘मनोज कता हिँडेको ? केटाकेटीको हालखबर के छ ?’ रिम्पोचेले बाबुले छोरालाई गर्ने व्यवहारजस्तै देखाएर पिताजीको मुख सुम्सुम्याएर बोधिचित्तको माला पहिर्याउँदै आशीर्वाद दिएर भन्नुभयो, ‘तिमीलाई ठीक हुन्छ ।’
नर्सहरूले पिताजीलाई आईसीयूमा लैजाने क्रममा उहाँ रिम्पोचे गुरुलाई नमस्कार गरिरहनुभएको थियो । तर, एक्कासि बेलुका साढे ९ बजे खबर आयो पिताजी रहनुभएन । भोलिपल्ट काठमाडौं ल्याइयो । श्रद्धान्जली सकाएर बुवालाई सधैँका लागि मैले गुमाएको छु । मैले मात्र हैन यो देशले पनि अभिभावक गुमाएको छ ।
०००
मेरो राजनीति र बुबासँगको सम्बन्ध
२०७१ सालसम्म मैले बुबाकै सल्लाहअनुसार राजनीति गर्ने अवसर पाएँ । राजनीतिमा आउनुअघि २२ वर्ष शरणार्थी विकास र मानवीय सहायताका लागि राष्ट्र संघीय उच्च आयोग काम काम गर्ने अवसर मिलेको थियो । त्यसबेला मैले ११ वटा द्वन्द्वग्रस्त देशमा पुगेर सेवा गर्ने अवसर पाएको थिएँ ।
सन् २०११ मा राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर) अन्तर्गत सुडानमा कार्यरत रहेको बेला देशको सेवा गर्न राष्ट्र संघअन्तर्गतको आकर्षक जागिर छोडेर राजनीतिमा प्रवेश गरेको हुँ ।
राजनीतिमा प्रवेश गरी धनकुटाबाट चुनावमा विजयी भएर स्वर्गीय पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको सरकारमा वाणिज्ज तथा आपूर्तिमन्त्री भै काम गरिसकेको छु । त्यसपछि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदापनि उद्योग मन्त्रीका रूपमा काम गर्ने अवसर पाएको थिएँ ।
म बुबासँग सानोमा असाध्यै डराउँथे । मेरो बिहेपछि मात्र उहाँसँग दोहोरो कुरा हुन थालेको हो । त्यसअघि बुबासँग केही कुरा गर्नुपर्यो भने फुपू र आमालाई गुहार्नुपर्थ्यो । एसएलसी पास गरेपछि बुवाले मलाई ‘तँ कानून विषय लिएर पढ्’ भन्नुभयो । तर, कानुन क्षेत्रमा मलाई त्याति रुचि थिएन । मैले सरस्वती क्याम्पसमा कमर्स विषय लिएर पढेँ । कानून पढेको भए धेरै सजिलो हुने रहेछ भन्ने पछि जागिरको सिलसिलामा आएका बाधा अड्चनपछि मात्र थाहा पाएँ ।
दोस्रो संविधानसभा चुनावपछि ज्येष्ठ सदस्यको हैसियतले मेरो बुबा संविधानसभाको सभामुख हुनुभयो । त्यस बेला म धनकुटाबाट चुनाव जितेर सभासद् भएको थिएँ । बुबासँगै पार्लियामेन्टमा छिर्दा म अत्यन्तै खुसी भएको थिएँ । त्यतिबेला म बाणिज्य तथा आपूर्ति मन्त्री हुँदा बुबाकै हातबाट सपथ लिनु मेरो लागि कहिल्यै नबिर्सने समय थियो ।
म मन्त्री भएर घर आउँदा बुबाको अनुहार एकदम उज्यालो र चम्किलो भएको थियो । बुबाले मलाई भन्नुभयो- ‘राष्ट्रले अब ठूलो जिम्मेवारी अब तँलाई दिएको छ । त्यो जिम्मेवारी इमानदार भएर निभाउने काम तेरो हो । मन्त्री पद सदाका लागि हुँदैन । यो पद केही दिनमै पनि खुस्किन सक्छ । भोलि त्यही ठाउँमा पुग्न आफ्नो जिम्मेवारी पूरा गर्नू । राम्रो तरिकाले आफ्नो जिम्मेवारी निर्वाह गरिस् भने फेरि मन्त्रीको मौका पाइन्छ ।’
०००
बुबा जेल पर्दा साझा बसमा चढेर खाना लान्थेँ
बुबा २०२९ सालमा जेल पर्दा हप्ताको पाँच दिन साझा बस चढेर म बुवालाई खाना पुयाउन जान्थेँ । बसबाट जावलाखेलमा ओर्लेर नख्खु जेलसम्म म हिँडेर जान्थें । जेलमा खाना दिने बेलामा विष हालेर ल्याएको छ कि भनेर पुलिसले पहिले मलाई नै खुवाउँथे ।
२०३० सालमा बुबाले २१ दिनको भोक हडताल गरेको बेला म विराटनगरमा थिएँ । त्यति बेला यस्तो सञ्चारको सुविधा थिएन । हडताल तोड्न धेरैले बुवालाई सम्झाए । तर, उहाँले ‘मैले निर्णय लिइसकँे अब हडताल तोडदिन्न’ भन्नुभयो । त्यस बेला केहीले राजालाई सूर्यबहादुर अब भोक हडतालले मर्ने भयो भनी सुनाएछन् ।
राजाले ‘सूर्यबहादुर मरे के भयो त ?’ भने रे । पछि राजाले माग पूरा गर्ने शर्तमा बुबाको हड्ताल तोडाइने भएपछि म पनि सेन्ट्रल जेल गएको थिएँ । सबै भित्र पसे । म बाहिरै रहेछु । म रुन थालेँ । पछि मलाई पनि भित्र छिराइयो । बुबा कालो र लामो कोठामा हुनुहुन्थ्यो । मोटो र हट्टाकट्टा मेरो बुबा त्यो बेला एकदम दुब्लाउनुभएको थियो ।
बुबाको हड्डीमात्रको ज्यान र लामो दाह्री देखेपछि मलाई लाग्यो- राजनीति एकदम दुःखको काम रहेछ । हड्ताल तोडाइएपछि बुबालाई आर्मी अस्पताल लगेर उपचार गराइयो । बुबा लामो समय जेल पर्दा हाम्रो परिवारमा कसैले पनि विवाह, व्रतबन्धजस्ता शुभकार्य गरेनन् । आफन्तहरू भन्थे, ‘काइँला बा जेलबाट नछुटुन्जेल हामी कुनै शुभ कार्य गर्दैनौं ।’
बुबाको सपना पूरा गर्न राजनीतिमा प्रवेश गरेँ
बुबाले मलाई धनकुटाको जनतालाई आपत पर्दा कहिल्यै साथ नछाड्नु भन्नभएको छ । धनकुटालाई बनाउने अभियानमा बुबाले पूरा नगरेका काम म पूरा गर्नेछु । भूकम्प र कोरोनाको महामारीमा म ढुक्कै धनकुटाको जनताको सेवामा खटेँ । अहिले फुसको छाना हटाएर जस्ता हाल्ने अभियानअन्तर्गत काम गरिरहेको छु ।
चुनाव हारियोस् या जितियोस् म सधैँ धनकुटेलीसँग हुनेछु । धनकुटालाई प्रदेश एकको सबैभन्दा विकसित जिल्ला बनाउने छु । म वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा नेपाल आयल निगममा ‘अटो प्राइसिङ’ र भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनको सम्झौता गरी काम गरेँ ।
एनओसीमा मूल्य स्थिरिकरणका लागि कोषको व्यवस्था, स्वचालित मूल्य प्रणाली लागू गरेँ । भुकम्पपीडित जनतालाई राहतको व्यवस्था गरेँ । पेट्रोलमा निजी क्षेत्रको पनि प्रवेश दिनुपर्छ भनी ऐन तयार गरी आईओसीसँगको ऋणबाट मुक्त गरेको छु । आगामी दिन पनि देश र धनकुटेलीको जीवनमा बिताउने छु ।
म वहाँहरू मात्रै हैन कुने पार्टीमा छैन । राम्रो पढ्न पाए । सुनिल थापा जस्ता व्यक्तिहरूलाई राजनीतिमा ल्याउनु देशकबधलागी फाइदा हुन्छ ।
inspired with article , हारे पनि जिते सहजरूपमा लिनु ।