लमजुङको घले गाउँमा ओली पुग्दा (तस्बिरहरू) – Nepal Press

लमजुङको घले गाउँमा ओली पुग्दा (तस्बिरहरू)

लमजुङ । लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्ट भिलेज घले गाउँलाई सुखी गाउँ घोषणा गरिएको छ ।

पर्यटकीय गाउँबाट सुरु भएको घले गाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घले गाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले घले गाउँलाई सुखी गाउँ घोषणा गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ग्रामीण पर्यटन घले गाउँ विश्वमै रमणीय ठाउँ भएको बताए ।

उनले भने घलेगाउँले नयाँ वर्ष सँगै नयाँ कामको थालनी भएको छ मलाई विश्वास छ घलेगाउँ विश्वमै सुन्दर र नमुना पर्यटकीय गाउँले परिचित हुनेछ ।

गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षण लगायतका विभिन्न मापदण्ड पुगेसँगै घले गाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’ घोषणा गरिएको घले गाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

२०४० को दशकसम्म दुर्गम, पिछडिएको र गरिब गाउँको रूपमा चिनिन्थ्यो, घले गाउँ । गाउँमा होमस्टे सञ्चालन भएसँगै अहिले यहाँका नागरिकको जीवनस्तर उकासिएको छ ।

ग्रामीण पर्यटनको विकासबाट घले गाउँलाई आत्मनिर्भर बनाउन २३ वैशाख २०५७ मा प्रथम घले गाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो ।

घले गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक २०५८ वैशाखमा घले गाउँ कला महोत्सवको आयोजना गरिएको थियो । २०६४ फागुनमा दक्षिण एसियाकै नमुना गाउँ (सार्क भिलेज) का साथै १७ मंसिर २०७६ मा स्मार्ट भिलेज घोषणा गरिएको थियो । घले गाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रूपमा पुरस्कृत गरिसकेको छ ।

लमजुङ सदरमुकाम बेंसीसहरबाट डेढ घण्टामै मोटरमा पुगिन्छ । बेंसीसहरबाट घले गाउँ पुग्न बेंसीसहरबाट २४ किलोमिटरको यात्रा गर्नुपर्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर