नेकपा एसले एमालेले जितेका सबै ठाउँमा भाग खोजेपछि कर्णालीको गठबन्धन धरापमा ! – Nepal Press

नेकपा एसले एमालेले जितेका सबै ठाउँमा भाग खोजेपछि कर्णालीको गठबन्धन धरापमा !

सुर्खेत । भागबण्डा विवादले कर्णालीको सत्तारुढ पाँच दलीय गठबन्धन नै धरापमा परेको छ । कर्णाली प्रदेशमा नेकपा माओवादीले आफूले जितेको स्थानबाहेक कांग्रेसले जितेको ठाउँमा पनि भाग खाजेपछि र नेकपा एकीकृत समाजवादीले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको सबै स्थानमा स्वतः अंश मागेपछि गठबन्धन नै धरापमा परेको हो । यद्यपि, सहमतिको अन्तिम प्रयासस्वरुप ५ गते गठबन्धनको अन्तिम बैठक बस्दैछ ।

नेकपा एमालेले २०७४ सालको निर्वाचनमा कर्णालीका ७९ पालिकामध्ये २७ ओटामा जितेको थियो । आफूहरु एमालेबाट आएको बताउँदै एकीकृत समाजवादले ती सबै ठाउँमा आफूले भाग पाउनुपर्ने बताउँदै आएको छ । ‘हामीले कर्णालीमा २२ देखि २५ ओटा पालिका पाउनुपर्छ भनेका छौं । गठबनधनका दलहरुले नदिइ सुखै छैन, दिनैपर्छ’, नेकपा एस कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा भन्छन्, ‘हामी कर्णालीमा बलियो पनि छौं । सम्मानजनक उपस्थिति हामी देखाउन चाहन्छौं ।’

उनले सकेसम्म गठबन्धनलाई बचाएर लैजाने प्रयास भएको बताउँदै सम्मानजनक सिट नपाए एक्लै चुनाव लड्ने बताए ।

‘बहस चल्नु स्वभाविक हो, सम्झौता गरेर अघि बढछौं’

नेकपा माओवादी केन्द्रले भने केन्द्रको मापदण्डअनुसार अघि बढनुपर्ने अडान राखेको छ । ‘विगतमा जसले जहाँ जितेको छ त्यहाँ उसैको नेतृत्व रहनुपर्छ । एमालेले जितेका स्थानमा मात्रै भागबण्डा हुनुपर्छ’, माओवादी प्रदेश अध्यक्ष विमला केसीले भनिन्, ‘वैशाख पाँच गतेको बैठकमा हामी सहमति गर्छौं ।’

कांग्रेसले रुकुममा तीन पालिका माग गरेको उदाहरण दिँदै अध्यक्ष केसीले व्यवहारिक ढंगमा भाग मिलाउनुपर्ने बताइन् ।

कांग्रेसमा झन् किचलो

नेपाली कांग्रेस डोल्पाले एक्लै चुनाव लड्ने निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले आठ पालिकामा दाबी गरेको छ । माओवादी केन्द्रले ६ पालिकामा दाबी गरेका कारण त्यहाँ सहमति हुन नसकेको हो । २०७४ सालको निर्वाचमा एमालेले आठ पालिकामा पाँच, माओवादीले दुई र एक पालिका स्वतन्त्रले जितेका थिए ।

जुम्ला, रुकुम पश्चिम, दैलेख, कालिकोट, सल्यान, सुर्खेतलगायतका जिल्लामा पनि कांग्रेसले पालिकाबाट सिफारिस संकलन गर्ने कामलाई तीव्रता दिएको छ । समाजवादीले जनमतभन्दा बढी पालिका माग गरेको र माओवादीले कांग्रेसले जितेका स्थानमा पनि दाबी गरेको भन्दै कांग्रेस बिच्किन थालेको छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले वैशाख दुई गतेसम्म पनि सत्तारुढ गठबनधनबीच कुरा नमिलेको बताएका छन् । यद्यपि, पाँच गते फेरि बैठक बस्ने उनले बताए ।

‘हिजो एमालेले जितेको स्थानहरु समाजवादीमा स्वतः नामसारी गर्नुपर्ने उनीहरुको माग छ’, सभापति शाहीले भने, ‘उहाँहरु सनाखत गरेर आउनु भएको हो । सबै मतदाता त उहाँहरुसँगै आएका छैनन् नि ? मतभारको कुरा गर्दा एक पाटो हो । त्यो मतभारको आधारमा विजयी भएको व्यक्ति, व्यक्तिसँग पद आएको हो । पालिका अध्यक्षसँगै सबै जनता आएका छैनन्। जहाँ एमालेले जितेको थियो, त्यहाँ चाहिन्छ भनेर दिन सकिँदैन ।’

उनले माओवादीले जहाँ जितेको छ, त्यहाँ एक स्थानमा पनि नछोड्ने, कांग्रेसले जितेको स्थानमा आफूहरुको मतभार बढेको भन्दै कांग्रेसले छोडनुपर्ने कुरा स्वीकार्य नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर