प्रदीप रोदन: ‘शेर’हरुका ‘शेर’
चिया अड्डातिर साहित्यिक अनुरागीबीचका चिया–गफ हुन्छ, ‘नेपालमा गन्नै नसकिने संख्यामा गजलकार छन् ।’ कतिले त भन्छन्, ‘असनको भीडमा पाँचवटा ढुंगो फाल्यो भने तीनवटा ढुंगो गजलकारलाई लाग्छ ।’
गजलकारलाई हियाउने, उडाउने जमातको कमी छैन । र पनि गजल लेखिरहेका छन् प्रदीन रोदनहरु । कविता र कथा, उपन्यासका सारहरुलाई दुई लाइनको शेरमा भनिदिन सक्छन् रोदनहरु ।
अहिले चुनावी माहौल छ । पार्टीका घोषणपत्र र पर्चाहरुको फालाफाल छ । पार्टी त्याग र प्रवेशको श्रंखला जारी छ । चुनावी रनाहले मुलुक तरंगित छ । अनि प्रदीप रोदन
लेख्छन्–
रातारात कसरी आउँछ तिम्रो पार्टीको पर्चा ?
जहाँ अन्तिम परीक्षासम्म किताब आउँदैन !
डिसक्लेमरः
लेखक खगेन्द्र संग्रौला गजलकारहरुलाई व्यंग्य गर्दै लेख्छन्,– ‘गजल नलेख्नू । किनभने गिनिपिगको विविधतारहित बगालको अरुचिकर सम्झना गराउने प्रायः उस्तै र सधैं उस्तै गजलहरुको भारमुनि पाठक निसास्सिएको छ । भो काजी, अबलाई पुग्यो । तथापि, गजलमा मात्रै अस्तित्वको घिडघिडो र अमरत्वको फिलुङ्गो देखे जम्मा एउटा गजल लेख्नू । आजीवन स्वर हल्लाउन र हाटहुटे थप्पडिको स्वागत पाउन एउटै गजल मनग्गे हुन्छ ।’
संग्रौलाको यो डिसक्लेमर पढेपछि तपाईंहरुलाई लाग्न सक्छ, गजलकारबाट आजित भइसकेका रहेछन् खगेन्द्र संग्रौला पनि । तर, संग्रौलाले यो ‘डिस्क्लेमर’ जमानामा लेखेका हुन् । जमानामा गजल वाचनहरुले हृदय सुख्खा र खण्डहर बनाएपछि संग्रौलाले लेखेका होलान् ।
तर, पछिल्लो समय केही गजलकार आएका छन्, जसले एउटा होइन, धेरै गजल लेखेका छन् । जसका गजलहरुले हाटहुटे थप्पडि होइन, पाठकका मन जितेका छन् । मीठो शब्दशिल्प र गहिरो अर्थसित आएका गजलका सेरहरुले पाठकका हृदयलाई भिजाएका छन् ।
रोदनको एउटा शेर छ–
डाक्टर सा’ब म चामल बेचेर जचाउन आएको हुँ
बिन्ती मलाई खाली पेटमा खाने दबाई दिनोस् !
प्रदीप रोदन गोर्खा बस्छन् । शिक्षण पेशामा छन् । १७÷१८ वर्ष भइसक्यो, उनले विद्यार्थीलाई पढाउन थालेको । उनले पढाएका विद्यार्थी कहाँ कहाँ पुगिसके, उनी त्यहीँ पढाइरहेका छन् । त्यहीँ सानो गाउँको सानो टहरोमा बस्छन् । त्यहीँ सानो गाउँको सानो संसारमा डुल्छन् । अनि मानिसहरुका ठूल्ठूला दुःख लेख्छन् । मानिसहरुको मनमा गढेका चोटहरुलाई दुई लाइनको शेरमा कुँद्छन् । दुःखका फेहरिस्तहरुलाई मन्त्रजस्तो बनाइदिन्छन् । मानिसहरुका आरोह–अवरोहहरुलाई जादु जसरी लेखिदिन्छन् ।
रोदन लेख्छन्–
बा को काँधमा चढेर छोरा हुर्कियो
छोराले काँध हालेकै दिन बा जले
कहिलेकाहीँ मात्रै सहर झर्ने साइत जुर्छ रोदनको । कहिलेकाहीँ मात्रै काठमाडौंमा पाइला राख्छन् । गाउँमै छ उनको संसार, गाउँमै छ उनको दुनियाँ । गाउँका स–साना नानी र पाठशालामै छन् गजलका शेरहरु ।
कुराकानीको क्रममा सुनाउँछन्, ‘मेरो त गोर्खातिरै बसाइ छ । अब कहिलेकाहीँ मेसो मिलेको वेला हिँड्न मिल्छ ।’
उनलाई काठमाडौं झर्न साहित्यिक कार्यक्रमहरुको साइत जुर्नुपर्छ । नत्र किन आउने काठमाडौं ? त्यतै स–साना नानीहरुलाई भविष्यको बाटो देखाएर उनलाई फुर्सद छैन ।
रोदन लेख्छन्–
बच्चाहरु त असिना खेलिरहेछन्
बाली चुटेको पिर बालाई परेको हो !
मानिसहरुले गजललाई जति कमजोर विधा भने पनि रोदनलाई त्यस्तो लाग्दै लाग्दैन । विधा हेरेर मात्रै कलम चलाएकाहरुलाई लाग्न सक्ला । राम्रो उपन्यासकारको पनि कमजोर उपन्यास भइदिन सक्छ ।
रोदन भन्छन्, ‘कुनै पनि विधा आफैंमा कमजोर हुँदैन । बरु हामीभित्रै चाहिँ कमजोरी होलान् ।’
रोदन थप्छन्, ‘मेरो अनुभवमा लेखनको दुईवटा पाटा होलान् । मनलाई केन्द्रमा राख्ने कि मस्तिष्कलाई ? मेरो लेखनको स्वभाव भनेको चाहिँ हृदय हो । मेरो लेखनको इपिसेन्टर हृदय हो । हृदयलाई छुने कुराले अरुलाई पनि हुन्छ । तर्क त काटिन पनि सक्छ ।’
रोदनको एउटा शेर छ–
आफ्नो आफ्नो भाग्य भनेको यही हो सायद
एक फूल मन्दिरमा पर्यो, अर्को चिहानमा पर्यो
उनको अर्को एउटा शेर छ–
जिन्दगी के हो भनेर सोध पहरालाई
तिमीले जे प्रश्न गर्यौ त्यही उत्तर फर्किन्छ ।
नेपाली गजल सामाजिक संजालमा सबैभन्दा बढी विवाद भइरहने विधा हो । संजालमा कोही छन्दको वकालत गरिरहेका हुन्छन्, कोही स्वतन्त्र गजलको वकालत गरिरहेका हुन्छन् । कोही ह्रस्वदीर्घ हेरिरहेका हुन्छन्, कोही अक्षर गनिरहेका हुन्छन् ।
तर, रोदनलाई लाग्छ, ‘सृनाको पहिलो सर्त हो लेख्नु । नलेखिकन सृजना हुँदैन । पहिलो सर्तलाई एकातिर राखेर आलोचनातिर गएका छौं । पहिलो सिँढी नचढीकन एकैपटक दुई चार सिँढीमाथि गएर बहस गरिरहेका छौं ।’
उनै रोदनका थप शेरहरु पढ्नुहोस्–
हामी उमेर हुन्जेल घरको तला थप्छौं
बूढेसकालले फेरि भुइँतला खोज्छ ।
०००
तिमीलाई दुख्ला, त्योअघि निस्किएर जाऊ
मलाई मेरै छातीमा मुड्की बजार्न मन छ !
०००
काँधमा हालेको सलजस्तै हो सम्बन्ध पनि
जसलाई बेला बेलामा मिलाइरहनु पर्छ !
०००
आओ चोटहरु हो, मलाई ‘म’ बनाएर जाओ,
कपासलाई सिरक बन्न हिर्काइरहन पर्छ !
०००
पछि छाती टेकेर हिँड्छ, मुटु जलाएर हिँड्छ
यो माया सुरु सुरुमा खुब मुस्कुराएर हिँड्छ ।
०००
यतिसम्म हुन्छ फर्किने रहर, फर्किन्छ ।
एक परदेशी मरेर पनि घर फर्किन्छ ।
०००
जसलाई बाटो छोड्दा म लडेँ, ऊ हाँसेर गयो
महोदय ! अरुको भलो चिताउने त जमाना छैन ।
०००
फुटपाथमा लुगा बेच्नेहरुलाई जरिवाना छ यहाँ
कलिलो नानीको लुगा च्यात्नेलाई जरिवाना छैन ।
०००
हारेर छोडेँ मैले, मनखत भयो मलाई
छोड्नै त जित्नेले नि मैदान छोड्नपर्छ ।
०००
कसैले चिन्दैनन्, यो पिर लाग्दैन मलाई
मुख छोप्न नपरोस्, कसैले चिन्छ भनेर ।
०००
उचाइ नहुनेले झर्ने पिर गर्नु पर्दैन
म भुइँफूल हुँ र त मैले झर्नु पर्दैन ।
०००
म तिमी लडेको बाटो बनाउन लागेँ
तिमी आँसु पुछिदिनेको भइसकेछौ ।
०००
मैले चामल अड्कल्ने बेलैमा हजुरलाई सम्झेको हुँ
हजुरले चुठ्ने बेलासम्म पनि मलाई सम्झिनु भएन ।
०००
बा हेर्नुस् त ! ‘खाना पाइन्छ’ लेखिएको छ त्यहाँ
थाहा छ बाबू ! ‘सित्तैमा पाइन्छ’ लेखिएको छैन ।
दमदार गजल सेरहरू
बधाई प्रदिप ,राेदनलाई