कुकुर, बिरालोलगायतका १८३ जनावर फ्रिजमा राखेको आरोपमा एकजना पक्राउ
न्यूयोर्क । अमेरिकाको एरिजोनामा कुकुर, बिरालो, खरायो, चराचुरुङ्गीलगायतका १८३ जनावर फ्रिजमा राखेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
४३ वर्षीय माइकल प्याट्रिक टर्ल्यान्डले केही जनावरहरूलाई जीवितै फ्रिज गरेको स्वीकार गरेका छन् । उनीमाथि ९४ वटा पशु क्रुरता गरेको आरोप लगाइएको छ । घटनास्थलका तस्बीरहरू ‘पूर्ण रूपमा घृणित र हृदयविदारक भएको’ मोहावे काउन्टी शेरिफकी प्रवक्ता अनिता मोर्टेनसेनले बताइन् ।
‘एक पशु प्रेमीका रूपमा म तिनीहरूलाई हेरेर रोइरहेको थिए’ उनले भनिन् । अधिकारीहरूले टर्ल्यान्डकी श्रीमती ब्रुकलायन बेकको खोजी गरिरहेका छन् । एक महिलाले दिएको सूचनाको आधारमा उनी पक्राउ परेका थिए ।
ती महिलाले सर्पहरू प्रजनन गर्न टर्ल्यान्डलाई दिएकी थिइन् । तर, उनी केही महिनापछि बेपत्ता भएका थिए । टर्ल्यान्ड र उनकी श्रीमती घरबाट बाहिरिएपछि मालिकले आफूलाई सम्पर्क गरेको महिलाले प्रहरीलाई बताएकी छिन् ।
उनले जनावरलाई फ्रिजमा राख्नुको उद्देश्य प्रष्ट नभएको बताइएको छ । जनावरलाई जिउँदै फ्रिजमा राखेर उनीहरूलाई यातना दिएको हुनसक्ने अनुमान गरिएको छ।