पोखरा दाबी गर्दै नेपालले भने- कार्यकर्ता मात्रै १२ हजार छन्,एमालेको सफलतामा हाम्रो हक लाग्छ (भिडिओ) – Nepal Press

पोखरा दाबी गर्दै नेपालले भने- कार्यकर्ता मात्रै १२ हजार छन्,एमालेको सफलतामा हाम्रो हक लाग्छ (भिडिओ)

‘एमालेले जितेका पालिकामा पहिलो हक हाम्रो हो, नत्र जित्न गाह्रो हुन्छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पोखरा महानगरपालिका आफ्नो पार्टीले दाबी गर्दा नकारात्मक टिप्पणी गर्नेहरूलाई आफूले तथ्याङ्क अघि सारेर मुख बुझो लाइदिएको बताएका छन् ।

सत्ता गठबन्धनमा ६ वटा महानगरपालिकामध्ये नेकपा एसले पोखरा दाबी गर्दा कसैले नकारात्मक टिप्पणी गरेपछि आफूले बालुवाटारको बैठकमै तथ्य पेस गरेको नेपालले बताए ।

शनिवार सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पोखरा महानगरपालिकाभित्र मात्रै नेकपा एसका ८ हजार सङ्गठित सदस्य रहेको तथ्य आफूले पेस गरेको बताए । उनले जन वर्गीय संगठनको समय कार्यकर्ता जोड्दा पोखरामा नेकपा एसका १२ हजार कार्यकर्ता रहेको बताए ।

अध्यक्ष नेपालले भने– मैले पोखराका एक एक तथ्य अगाडि सारेँ । कास्की जिल्लाको कुरा छाड्नुस् पोखरामा मात्रै ८ हजार सदस्य सङ्गठित छन् । भोटर होइन कार्यकर्ता हुन् । जन वर्गीय संगठनको समेत जोड्दा १२ हजार कार्यकर्ता अरूका छन् ? त्यसैले एकीकृत समाजवादीलाई कम आँक्ने गल्ती नहोस् ।

अध्यक्ष नेपालले २०७४ सालमा आफूहरूले एमालेकै नामबाट चुनाव लडेकाले एमालेको सफलतामा आफूहरूको हक लाग्ने बताए । कपिलवस्तुमा एउटा नगरपालिकामा १३४ मत पाएको दलले मेयर दाबी गरेको भन्दै नेपालले नेकपा एसले एमालेले जितेका सबै पालिकामा दाबी गर्ने बताए ।

उनले भने– हामीले एमाले भएर त्यति बेला जिताएका हौँ । त्यसैले एमालेको सफलतामा हाम्रो पहिलो हक लाग्छ । अरूले चाहेर पनि एमालेका मान्छेलाई आकर्षित गर्न सक्दैनन् । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक हुन्छ,जित्ने हो भने पनि हामीलाई दिनुपर्छ किनभने एमालेका मान्छेहरूले हामीलाई नै भोट हाल्छन् ।

अध्यक्ष नेपालले गठबन्धनमा सिट बाँडफाँट सहज नभएको भन्दै नेकपा एस चानचुने शक्ति नभएको बताए ।

नेपालले पाँचै दलमा सहमति नभए अन्य दलसँग पनि नेकपा एसको तालमेल हुने भन्दै एक्लै प्रतिस्पर्धा गर्नुपरे पनि आफू तयार रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर