पुष्करलालको ‘नेपाल किन बनेन ? ’ सार्वजनिक – Nepal Press

पुष्करलालको ‘नेपाल किन बनेन ? ’ सार्वजनिक

काठमाडौं । लोकप्रिय सिनेमा मासिक कामानाका संस्थापक प्रधान सम्पादक तथा नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरुको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक  सार्वजनिक भएको छ । स्वर्गीय श्रेष्ठकाे पुस्तक आज सार्वजनिक भएकाे हाे ।

स्वर्गीय श्रेष्ठले ‘नेपाल किन बनेन ?’ शीर्षकमा लेखेको लेख नै उनको जीवनको अन्तिम लेख बन्यो, जो २०७५ साल मंसिर १४ मा नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो । उनको अन्तिम लेखको शीर्षकबाटै किताबको नाम राखिएको हो ।

कामना समूहका संस्थापक श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसरमा सार्वजनिक ‘नेपाल किन बनेन?’ उनको दोस्रो पुस्तकाकार कृति हो । यसअघि गतवर्ष मंसिर १५ मा कामना समूहको वार्षिकोत्सवका उपलक्ष्यमा ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ यात्रा संस्मरण प्रकाशित भएको थियो । यात्रा संस्मरणमा उनले युरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव एवं अनुभूतिहरु समेटेका थिएभने ‘नेपाल किन बनेन?’ ले मुलुकको राजनीतिक तथा सामाजिक प्रवृत्तिगत अवस्थाको विस्तृत चित्रण गरेको छ ।

पुस्तकका सम्बन्धमा प्रकाशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठ भन्छन्, ‘नेपाली पत्रकारिताको उत्थान र मिडिया उद्योगको प्रवद्र्धनका लागि मेरा ड्याडीले एक प्रकारले हामी परिवारका सदस्यलाई नै बिर्सेर जीवन सुम्पनुभएको हो । उहाँका आलेखहरुमा सत्यता र निर्भीक विश्लेषण तथा देशप्रतिको चिन्ता र माया देखेर नै मैले पुस्तकका रुपमा प्रकाशित गर्न आवश्यक ठानेको हुँ ।’ किताबमा प्रकाशक श्रेष्ठले पत्रकार पिताका विषयमा दुई मार्मिक लेख पनि समावेश गरेका छन् ।

सीईओ श्रेष्ठले ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ कृतिलाई आम पाठकले मन पराइदिएकोमा धन्यवाद पनि व्यक्त गरे ।
नेपालको अवस्था बुझ्न चाहने हरेक पाठकका लागि ‘नेपाल किन बनेन’ निकै सहयोगी स्रोत सामग्री हुने उनको दावी छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर