फिलिपिन्समा बाढीपहिरोमा परी १६७ को मृत्यु, ११० बेपत्ता – Nepal Press

फिलिपिन्समा बाढीपहिरोमा परी १६७ को मृत्यु, ११० बेपत्ता

काठमाडौं । फिलिपिन्समा मेगी आँधीका कारण आएको पहिरो र बाढीमा परी मृत्यु भएकाहरूको संख्या शनिबारसम्म १६७ पुगेको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अरु ११० जना अझै पनि बेपत्ता नै रहेका छन् । उनीहरूको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन् ।

ठूलो संख्यामा सुरक्षाकर्मी, उद्धारकर्ता, स्वयम्‌सेवकहरू र स्थानीय बासिन्दा परिचालन गरेर खोजी कार्य भइरहेपनि उनीहरू जीवित पाइने आशा क्षीण रहेको जनाइएको छ । मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्यप्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ ।

यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौँलाई विस्थापित गरेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित पारेसँगै यहाँ हरेक वर्ष आँधीले तहसनहस पारेको छ । जलवायु परिवर्तनको कारण विश्वव्यापी तापमान वृद्धि हुँदै गएपछि वैज्ञानिकहरूले यहाँ अझ शक्तिशाली आँधी आउने चेतावनी दिएका छन् ।

अबियोग नगरपालिकाका विपत् व्यवस्थापन कर्मचारीले मङ्गलबार गएको पहिरोले बगाएको पिलारको तटीय गाउँबाट शुक्रबार पनि दर्जनौँ शवहरू पुरिएको अवस्थाबाट निकालेका बताइएको छ ।

घटनास्थलमा राष्ट्रपति रोड्रिगो डुटेर्टेले पनि स्थलगत अवलोकन गरेका छन् । उनले खोजी तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै पीडितहरूलाई उचित राहत तथा क्षतिपुर्तिको व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर