म्यादी प्रहरीमा नाम निकाले तर ‘जागिर’ खान रुचाएनन् !
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले गत चैत २२ गते आसन्न स्थानीय निर्वाचनका लागि आवश्यक २ हजार ९ सय २३ जना म्यादी प्रहरीको नामावली प्रकाशित गर्यो ।
शारीरिक, लिखित र मौखिक परीक्षापछि निकालिएको उक्त सूचीका ३६ जना प्रशिक्षणमा सहभागी भएनन् ।
चैत २८ देखि सुरु भएको प्रशिक्षणमा उनीहरू सहभागी नभएपछि प्रहरीले वैकल्पिक सूचीमा रहेका सुरुका ३६ जनालाई सम्पर्क गर्न सूचना निकाल्यो, वैशाख २ गते ।
उनीहरूलाई चैत ३ गते साँझसम्म सम्पर्क गर्न भनिएको थियो तर तीमध्ये पनि ९ जना आएनन् । शनिवार साँझ फेरी सूचना निकाल्दै झापा प्रहरीले वैकल्पिक सूचीका थप ९ जनालाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
स्थानीय निर्वाचनका लागि देशभर एक लाख म्यादी प्रहरी नियुक्त गर्ने निर्णयअनुसार नेपाल प्रहरीले चैत ११ गतेसम्मको समय सीमा दिएर दरखास्त आह्वान गरेकामा करिब ३ लाखले रुचि देखाएका थिए । चैत १५ गतेदेखि सुरु भएको छनोट प्रक्रिया एक साता लगाएर सम्पन्न गरिएको थियो ।
जिल्लाहरूले आफूलाई तोकिएको कोटाअनुसार छनोट सम्पन्न गरे पनि छानिएका उम्मेदवारहरू झापामा मात्र होइन अन्य विभिन्न जिल्लामा पनि अनुपस्थित देखिएका छन् । जिल्ला प्रहरी कार्यालयहरूले वैकल्पिक सूचीका उम्मेदवारहरूलाई सम्पर्क गर्न आग्रह गरिरहेका छन् । मोरङमा ६९ जना अनुपस्थित रहेका छन् ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता विष्णुकुमार केसीले छनोट भएकामध्ये कति आएनन् भन्नेबारे एककृत तथ्यांक आई नसकेको बताए ।
‘विभिन्न जिल्लामा वैकल्पिक सूचीका लाई बोलाइरहेको भन्ने जानकारी पाइएको छ । तर अन्तिम सूचीमा परेकाहरू कति आएनन् भन्ने यकिन तथ्यांक संकलन गर्न बाँकी छ’, प्रवक्ता केसीले भने, ‘यस्तै हुन्छ भनेर हामीले वैकल्पिक सूची पनि लामै निकाल्छौँ ।’
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि छनोट हुने म्यादी प्रहरीले बढीमा ४० दिनका लागि नियुक्ति पाउने छन् भने उनीहरूको तलब प्रहरी जवान सरह हुने छ ।
आवेदन दिएकामध्ये ३ सय ४१ जना कम्तीमा स्नातक उत्तीर्ण र ३२ हजार १२ जना प्लस टु उत्तीर्ण रहेका थिए ।
२२ हजार पूर्व म्यादी र ४१ सय जना पूर्व सुरक्षाकर्मीले पनि म्यादीका लागि आवेदन दिएका थिए । तीमध्ये कति छनोट भए भन्ने तथ्यांक पनि एकीकृत नरहेको केसीले बताए ।