स्थानीय तहका कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व गराउन दबाब – Nepal Press

स्थानीय तहका कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व गराउन दबाब

काठमाडौं । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व गराउन दबाब दिएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले संवैधानिक व्यवस्था अनुसार दलित समुदायको प्रतिनिधित्व हुने गर पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा टिकट दिनुपर्ने माग गरेको हो ।

अभियानले निर्वाचित जनप्रतिनिधिहरूले जातीय विभेद गरेमा स्वतः पद खारेज हुने कानुन बनाउनुपर्ने, जातीय विभेद तथा छुवाछुतको कुनै पनि कसुरमा संलग्न मानिसलाई पार्टीको जिम्मेवारीबाट तत्काल हटाउनुपर्ने र यसमा सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाउनुपर्ने माग अघि सारेको छ ।

अभियानले २०७४ सालको निर्वाचनमा निर्वाचित भएका दलित महिला सदस्यहरूलाई पहिलो प्राथमिकतामा राखी उनीहरूको उचित व्यवस्थापन गरिनुपर्ने पनि अर्को महत्त्वपूर्ण माग अघि सारेको छ ।

पत्रकार सम्मेलनमा दलित अभियन्ता राजु सुनारले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै जातीय विभेदलाई हटाउन आफूहरू लागेको बताए ।

दलित समुदायको मुक्तिका लागि स्थानीय चुनावमा दलितको प्रतिनिधित्व गराउन दबाब दिन कार्यक्रमको आयोजना गरिएको सुनारले जानकारी दिए ।

नेपालमा जातीय भेदभाव कहिलेदेखि भएको भन्ने यकिन तथ्यांक नभएको भन्दै उनले करिब २६ सय वर्ष अघिदेखि कामको आधारमा जातीय भेदभाव सुरु भएको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर