पाँच वर्षमा वडाको बजेट १३ लाख मात्र, स्थानीय आक्रोशित – Nepal Press

पाँच वर्षमा वडाको बजेट १३ लाख मात्र, स्थानीय आक्रोशित

मुगु । मुलुकमा सङ्घीयता लागू भएर सिंहदरबारको अधिकार गाउँमा आएको भनिए पनि मुगुवासीले त्यो अनुभूति गर्न पाएका छैनन् । स्थानीय सरकारले जनताको गुनासा र विकासका काममा ध्यान नदिँदा यहाँका सर्वसाधारणले सङ्घीयताको अनुभूति गर्न नपाएका हुन् ।

जनताको आधारभूत आवश्यकता पूरा गर्ने भनेको वडा सरकारले हो । तर, गाउँ र नगरका वडामा खानेपानी, सिँचाइ, कुलो, बिजुलीलगायतका विकास योजना नहुँदा स्थानीय मारमा परेका छन् ।

अवस्था यस्तै  छ  मुगुकाे छायानाथ रारा नगरपालिका–१४ बाममा । वडाध्यक्ष नन्दलाल बडूवालले पाँच वर्षसम्म एउटा पनि सम्झन लायक काम नगरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।  वडा सरकारले जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नेबारे केही काम नगरेको स्थानीय राजेश बडूवालले बताए । बाम गाउँको विकासमा बरु ग्रामीण पहुँच कार्यक्रम र्याप थ्री र अन्य गैरसरकारी सङ्घसंस्थाले काम गरेको उनको भनाइ छ ।

वडाध्यक्ष नन्दलाल बडूवालले भने पाँच वर्षको अवधिमा छायानाथ रारा नगरपालिकाबाट १३ लाख बजेट मात्र विनियोजन गरेकाले केही राम्रो काम गर्न नसकेको बताए । नगरपालिकाले दिएको बजेट वडाको प्रशासनिक खर्च, कर्मचारी तलब, सञ्चारलगायतमै सकिने उनको भनाइ छ ।

वडा कार्यालयमा आम्दानीको अन्य स्रोत नहुनु, राजनीतिक खिचातानीले वडाध्यक्षको नगरपालिकामा पहुँच नपुग्नु, पुगे पनि समन्वयकारी भूमिका नहुनाले पाँच वर्षमा १३ लाख मात्र रकम विनियोजन भएको वडाध्यक्ष बडूवालकाे भनाइ छ ।

वडा नम्बर १४ कार्यालयमा प्रायः प्रदेश, गैरसरकारी कार्यालयले प्रदान गरेका बजेटको ६३ वटा योजना छन् । जसमा चार करोड ४९ लाख ४४ हजार खर्च भएको उनले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर