‘बलात्कृत पत्रकार’ले बयान फेर्दा क-कस्को प्रतिष्ठामा क्षति ? (फैसलासहित) – Nepal Press

‘बलात्कृत पत्रकार’ले बयान फेर्दा क-कस्को प्रतिष्ठामा क्षति ? (फैसलासहित)

काठमाडौं । नाबालिक गायिकाले अभिनेता पल शाहविरुद्ध दिएको जाहेरी झुठो भएको र आफूलाई पलले बलात्कार नगरेको भन्दै अदालतमा बयान फेरेपछि अहिले यो प्रकरण पुनः चर्चामा छ । बलात्कार केसमा अदालत पुगेपछि पीडितले बयान फेर्ने, होस्टाइल हुने वा आफ्नो बयानमा अडिन नसक्ने विषय नयाँ भने होइन ।

सरकारले पीडितको संरक्षण गर्न नसक्दा वा पीडित परिवार नै प्रभावित हुँदा वा पीडित भनिएकाले मन परिवर्तन गर्दा बलात्कार मुद्दा कमजोर हुने गरेका छन् । तर कतिपय सन्दर्भमा भने कुनै व्यक्तिलाई फसाउन वा सहमतिको सम्बन्धमा दरार आएपछि वा मोलतोल नमिलेपछि बलात्कारको जाहेरी दिने र पीडित पछिसम्म टिक्न नसक्ने पनि भइरहेका हुन्छन् ।

अछाम जिल्ला अदालतको पछिल्लो फैसला जसरी विवादित भयो र सोमबारमात्रै न्यायाधीशलाई सर्वोच्चमा तानियो, यसअघि सुर्खेत जिल्ला अदालतको यस्तै प्रकारको फैसला भने कार्यान्वयनमा गइसकेको छ । जहाँ पीडित भनिएकी पत्रकार महिलाले बयानमात्र फेरिनन्, आफूलाई साथीभाइले पैसा बार्गेनिङ गर्न उत्प्रेरित गर्दा र प्रहरीले पनि उक्साउँदा झुठो जाहेरी दिएको बताएकी थिइन् ।

अदालतले सो मुद्दामा फैसला गर्दै पीडित भनिएकी पत्रकारको जाहेरीदेखि बयान फेरिँदासम्मका घटनाक्रम नाटकीय रहेको र सहमतिको सम्बन्धलाई बार्गेनिङहुँदै बलात्कारसम्म लगेको ठहर गरेको थियो । पीडितले यसरी बयान फेर्दा पत्रकारिता जस्तो पेसाको मर्यादामा आँच पुगेको, कानून व्यवसायीको विश्वसनीयतामाथि प्रश्न उठेको, कुनै व्यक्तिलाई सिध्याउन खोज्ने परिपाटी बस्ने तथा न्यायिक र प्रहरी अनुसन्धानलाई नै गलत देखाउने चिन्ता व्यक्त गरिएको छ ।

के थियो घटना र फैसला ?

२०७७ साल भदौ १४ गते सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले अदालतमा बयान फेरेको भन्दै जाहेरवालालाई नै कैद सजायको फैसला सुनाए ।

सुर्खेतस्थित वीरेन्द्रनगर निवासी १८ वर्षीय एक किशोरीले वीरगन्जका ४८ वर्षीय रामबाबुप्रसाद गुप्ताविरुद्ध प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी थिइन् । जतिबेला गुप्ता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय सुर्खेतका प्रमुख थिए ।

तर अदालतमा भएको बकपत्रमा ती किशोरीले जाहेरीको विवरण झुठो रहेको बताएपछि न्यायाधीश आचार्यले मुलुकी फौजदारी कार्यविधि– २०७४ को दफा ४४ अनुसार जाहेरवालालाई एक महिना कैद र १५ सय रुपैयाँ जरिवाना गरेका थिए ।

दफा ४४ मा अदालतमा बयान फेर्ने जाहेरवालालाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यतिबेला जबर्जस्ती करणी मुद्दामा बयान फेर्ने जाहेरवालालाई अहिलेजस्तो छुट्टै सजाय हुने व्यवस्था थिएन ।

त्यसपछि ल्याइएको यौन हिंसाविरुद्धका केही ऐन संसोधन गर्न बनेको अध्यादेशमा भने ‘जबर्जस्ती करणीसम्बन्धी मुद्दाको झुटो उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जबर्जस्ती करणीसम्बन्धी कसुर गर्ने कसुरदारलाई हुने न्यूनतम सजायको आधा सजाय हुनेछ’ भनेर लेखिएको छ ।

जाहेरीमा के थियो ?

मैले १२ कक्षा पास गरी स्काई न्यूजमा काम गर्दै आउने क्रममा मिति २०७६–०६–१६ गते जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका–६ स्थित रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय सुर्खेतको अन्तरवार्ता लिनको लागि म गएको अवस्थामा अन्यायी रामबाबु गुप्ता भन्ने रामबाबु प्रसाद गुप्तासँग भेट भएपश्चात मैले निज अन्यायीलाई तपाईँ नेपालको प्रधानमन्त्री भएपछि के गर्नु हुन्छ ? भन्ने प्रश्न सोधेकीले निज अन्यायीले प्रश्न गाह्रो रहेछ, म यसको उत्तर लेखेर राखिदिन्छु, भोलि आएर उत्तर लिएर जानुहोला भनेकोले मलाई भोलि आउन फुर्सद छैन भनेपश्चात निज अन्यायीले ‘तिम्रो मोबाइल नम्बर दिएर जाउ, म आफैं फोन गरेर बोलाउछु’ भनेपछि म फिर्ता आएकी थिएँ ।

सोही महिनाको २५ गते साँझ अन्दाजी ६ बजेको समयमा निज अन्यायीले मलाई फोन गरी ‘जागिर खुलेको छ, तिमीलाई जागिर लगाइदिन्छु, मासिक २० हजार रुपैयाँ तलब हुन्छ, मलाई भेट्न आऊ, कुरा गरौँ’ भनी आफू बस्ने क्वार्टरमा बोलाएकोले म निजको क्वार्टरमा गएँ ।

निजले मैले भनेमा तिम्रो जागिर पक्का, तर पहिला तिमीले मैले भनेको मान्नुपर्छ, नमाने यहाँबाट तिमीलाई फिर्ता जान दिन्नँ, जे पनि हुनसक्छ भनी कोठाको ढोका बन्द गरी मैले ईन्कार गर्दागर्दै मलाई आफू सुत्ने बिस्तरामा जबरजस्ती पल्टाइ, मैले लगाएको पाइन्ट खोली, मलाई जबरजस्ती करणी गरे ।

त्यसपछि ‘आज तिमी जाऊ, मैले करणी गरेको कोही कसैलाई नभन्नू, यो दुई हजार रुपैयाँ लिएर जाऊ, अर्कोपल्ट फोन गर्छु, तिमी आउनु, जागिर पनि पक्का हुन्छ भनी मलाई पठाए ।

म आफ्नो काम गरी बसिरहेको अवस्थामा निज अन्यायीले त्यही महिनाको ३० गते बिहान अन्दाजी ६ बजेको समयमा निजको आफ्नो मोबाइल नम्बरबाट मेरो मोबाइल नम्बरमा फोन गरी अहिले मेरो कोठामा आऊ, आजबाट तिम्रो जागिर पक्का भयो भनी मलाई बोलाएकोले, म अन्यायीको क्वाटरमा जाँदा निज अन्यायीले कोठाको ढोका बन्द गरी मलाई आफू सुत्ने बिस्तरामा पल्टाइ मेरो सहमति मन्जुरीबिना जबरजस्ती मेरो पाइन्ट खोली आफूले लगाएको पाइन्ट र पेन्टी खोली आफ्नो उत्तेजित लिंग मेरो मुखमा पसाइ मलाई पुस्न लगाइ केही समयपश्चात जबरजस्ती करणी गरी तिम्रो सबै शैक्षिक प्रमाणपत्रको फोटोकपी लिएर आउनू, तिम्रो जागिर पक्का भयो, मैले करणी गरेको कसैलाई नभन्नू भनी फिर्ता पठाएकोले म आफ्नो कोठामा गइ अन्यायीले मप्रति गरेको व्यवहार सम्झिँदै पीडा सहेर बसेको अवस्थामा निज अन्यायीले मलाई बारम्बार फोन गरी ‘त मेरो कोठामा मैले बोलाएको बखत आइनस् भने तेरो बदनाम गर्छु, तलाई वीरेन्द्रनगर बजारमा जहाँ भेटाए पनि बाँकी राख्दैन’ भनि डर, त्रास, धम्की दिने गरेकाले अन्यायमा परी यो जाहेरी ल्याइ आएको छु ।

यस्तो थियो अदालतमा दिएको बकपत्र ?

मिति २०७६–०६–२५ गते साँझ अन्दाजी ६ बजेको समयमा म आफैं डेरा लिइ बस्ने गरेको कोठा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ मा थिएँ । उक्त मिति समयमा मेरो प्रतिवादी रामबाबु गुप्तासँग मेरो भेटघाट भएन ।

प्रतिवादीले मउपर त्यस्तो जबरजस्ती करणीको कुनै त्यस्तो कार्य गरेका छैनन् । उक्त जाहेरीको निवेदन र घटनास्थल मुचुल्का र निवेदनमा भएको व्यहोरा देखाइ पढीवाची सुनाउँदा सुनी पाएँ । सो व्यहोरा मेरो होइन । सोमा भएको सहीछाप मेरै हो ।

मलाई प्रतिवादीले जवरजस्ती करणी गरेका होइनन् । म स्काई न्यूजमा पत्रकारिताको काम सिक्दै गरेकाले निज प्रतिवादीको अन्तर्वाता लिनको लागि निजको अफिसमा गइ चिनजान भएको र हाम्रो उक्त पत्रिकामा प्रतिवादीले विज्ञापन पनि गरेकामा पैसा लिन पटक–पटक जाँदा नदिने, मलाई पटक–पटक फोन गर्ने, दुख दिने गरेकाले म प्रहरी कार्यालयमा गइ प्रहरीसँग सल्लाह मागी झुट्टा व्यहोराको जाहेरी दिएकी हुँ ।

म हालसम्म प्रतिवादीको कोठामा गएको छैन । म पत्राकारिता सिक्दै गरेकाले निज प्रतिवादीको अन्तर्वाताको विषयमा कुराकानी हुने गर्दथ्यो र पछि विज्ञापनको विषयमा फोनमा वार्ता हुने गथ्र्यो । जागिर खाने विषयमा निज प्रतिवादी र मबीच कुनै कुराकानी भएको थिएन । साथीहरूले जागिर दिलाउने प्रलोभनमा पारी प्रतिवादीले जबरजस्ती करणी गरेको भन्ने कुरा सिकाइ सुरु निवेदन र जाहेरी दिन लगाएका हुन् । मलाई प्रतिवादीले जबरजस्ती करणी गरेको भनी मैले दिएको उक्त जाहेरी झुट्टा हो ।

०००

२०७६ कात्तिक १९ गते पीडित भनिएकी किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही दिन भएको पीडितको स्वास्थ्य परीक्षणमा पीडित भनिएकी युवतीमाथि यौनजन्य व्यवहार भएको देखिएको फैसलामा उल्लेख छ ।

कन्याजाली च्यातिएको भएपनि नसुनिएको र रगत नबगेको अवस्था रहेको मेडिकल रिपोर्टमा थियो । परीक्षण गर्नुभन्दा एक साताअघि अन्तिमपटक युवतीको यौनसम्पर्क रहेको उक्त रिपोर्टमा लेखिएको थियो । स्वास्थ्य परीक्षणबाट पीडित भनिएकी युवती यौनमा अभ्यस्त रहेको देखिएको फैसलामा उल्लेख छ ।

पीडितले बकपत्रमा आरोपीसँग यौनसम्पर्क भएको थिएन भनेर उल्लेख गरेपनि न्यायाधीशले यौन सम्पर्क नै थियो भने पनि त्यसलाई जबर्जस्ती करणी भन्ने आधार नरहेको आधारहरु प्रस्तुत गरेका छन् । फैसलामा लेखिएको छ, ‘जाहेरवाली उमेर पुगेको प्रचलित कानूनअनुसार अधिकार र कर्तव्यधारण गर्न सक्षम रहेको व्यक्ति हुन् । यौनको मामलामा सहमति प्रदान गर्नसक्ने कानूनी उमेर पुगेको देखिन्छ । अर्कोतर्फ निज पत्रकारिता गर्ने व्यक्ति हुन् । पत्रकारले समाजमा भएका नकारात्मक तथ्य एवम् आपराधिक गतिविधिहरुलाई पनि कडा निगरानीमा राखेर प्रकाशनमा ल्याउने गरेको देखिन्छ ।

पत्रकारिताजस्तो संवेदनशील पेसामा लागेको व्यक्तिले देशमा प्रशासनिक मूल्य र मान्यताहरु थाहा पाउने हुन्छ । अर्कोतर्फ निज १२ कक्षा अध्ययन गरिसकेको शिक्षित व्यक्ति पनि रहेको देखिएको छ ।’

जाहेरवालाले जाहेरीमा आफूले हरेकपटक यौनसम्पर्क गरेपछि आरोपीबाट पैसा लिने गरेको उल्लेख, कुनै कार्यालयमा काम गरिरहेको व्यक्तिले जागिर लगाइदिने भन्ने तथ्य आफैंमा विरोधाभाषपूर्ण रहेकाले जबर्जस्ती करणी भन्ने सकिने अवस्था नरहेको फैसलामा उल्लेख छ ।

न्यायाधीश आचार्यले पीडित भनिएकी किशोरीलाई कैद सजाय लेखिरहँदा विभिन्न पाँचवटा प्रश्न उठाएका छन् ।

फैसलाको पूर्ण पाठमा लेखिएको छ–

‘जाहेरवालीको बकपत्रले न्यायिक प्रकृयामाथि नै प्रश्न चिह्न खडा गरिदिएको छ । प्रहरी तथा साथीभाइको सल्लाहअनुसार नभए नगरेको व्यहोराको उजुर गरेको भन्ने तथ्यले व्यक्तिले चाहेमा जे पनि हुन्छ भने सन्देश प्रबाह भएको छ । जाहेरीको व्यहोरा नै मेरो होइन भन्ने भनाइबाट कानून व्यवसायको पेसालाई समेत धमिलो बनाएको अवस्था छ । निजको जाहेरी व्यहोरा विद्धान अधिवक्ताबाट मस्यौदा भएको छ । कानून व्यवसायीले कानूनको रोहरित ढाँचाकाँचा मिलाउने भए पनि व्यहोरा पक्षले भनेअनुसार लेखिएको हुन्छ ।

कानून व्यवसायी समक्षसमेत व्यक्त गरेको कथनलाई मेरो होइन भनेर भन्नुले कानून व्यवसायीको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ । कानून व्यवसायीले नभनेको कुरा लेख्छन् भन्ने अर्थ लाग्ने गरी बकपत्र भएबाट निजले कानूनको दुरुपयोग गरेको अवस्था छ ।’

न्यायाधीश आचार्यले जाहेरवालाले कतै प्रलोभनमा परेर बयान फेरेको हो कि भन्नेतर्फ पनि सुनुवाइ गरेको देखिन्छ । तर प्रलोभनमा परेको अवस्था नरहेको दाबी गर्दै उनी फैसलामा लेख्छन्–

यसमा प्रतिवादीको दबाब प्रभावबाट प्रतिकुल बकपत्र गरेको हो किन ? भन्ने अवधारणाबाट हेर्दा पनि सो अवस्था देखिँदैन । यसमा घटना नभइकन जाहेरी दिएको भनी पीडित तथा निजको आमाले समेत बकपत्रमा उल्लेख गरेको देखिन्छ । पीडित पत्रकारसमेत रहेको देखिन्छ । समाजमा भए गरेका अन्यायपूर्ण तथ्यलाई उजागर गर्ने महत्वपूर्ण पेसा अवलम्बन गरेको व्यक्तिलाई प्रभाव दबाब दिने अवस्था देखिँदैन । पत्रकार संगठित संस्था पनि हो ।

यस्तो छ फैसला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर