गठबन्धनको भागबण्डा टुंगिएन- पोखरा, इटहरी र कलैया छाड्न कांग्रेस असहमत – Nepal Press

गठबन्धनको भागबण्डा टुंगिएन- पोखरा, इटहरी र कलैया छाड्न कांग्रेस असहमत

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि सोमबार दोस्रोपटक बसेको सत्ता गठबन्धनको बैठक भागबण्डा टुंगो नलगाई स्थगित भएको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरुको आ आफ्नै दाबी रहेको कारण सहमति नभएको हो ।

बैठक मंगबार विहान फेरि बस्नेगरि स्थगित भएको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य रमेश मल्लले जानकारी दिए ।

यसअघि आइतबार बेलुकी ६ महानगर र ११ उपमहानगरमा हुने सम्भावित शक्ति बाँडफाँटको खाका बनेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा पोखरा महानगरपालिका र केही उपमहानगरपालिकाको प्रमुख कसले लिने भन्नेमा कुरा मिल्न नसकेको हो ।

कांग्रेसले पोखरा महानगरसहित इटहरी र कलैया उपमहानगरमा दावी यथावत राखेको छ । एकीकृत समाजवादीले ६ मध्ये १ महानगर आफूले पाउनैपर्ने र पोखरा उपयुक्त हुने बताउँदै आएको छ । पोखरामा समाजवादीले दावी यथावत राखेपछि तत्कालै पोखराबारे निर्णय नलिने विषयमा पनि गठबन्धनमा छलफल भएको छ । ‘पोखरामा अहिले कांग्रेस र समाजवादी दुवैले दावी गर्ने । मनोनयन दर्ता गर्ने बेलासम्म जसको माहोल राम्रो देखिन्छ उसैले लिनेगरी मध्यमार्गी प्रस्तावमा पनि छलफल भएको छ’, बैठकमा सहभागि भए नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर