विद्यार्थी किन बन्दैछन् आफ्नै गुरुबाट यौन दुर्व्यवहारको शिकार ? – Nepal Press

विद्यार्थी किन बन्दैछन् आफ्नै गुरुबाट यौन दुर्व्यवहारको शिकार ?

काठमाडौं । नेपाली शब्दकोश अनुसार ‘शिक्षक’ भन्नाले शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरु मास्टर बुझिन्छ । अझ शास्त्र र हाम्रो संस्कारमा गुरुलाई सबैभन्दा ठूलो स्थान दिइएको छ |

शास्त्र अनुसार ‘गु’ को अर्थ अन्धकार वा अज्ञान हुन्छ र ‘रु’ ले प्रकाशलाई जनाउँछ । तेसैले जसले अज्ञानरूपी अन्धकारबाट ज्ञान रुपी प्रकाश दिने गर्छन उनी नै गुरु हुन् ।

तर, समाजले ‘भगवान्’ मानेका यीनै गुरुबाट विद्यार्थीमाथि यौन दुर्व्यवहारका एकपछि अर्को घटना सार्वजनिक भइरहेका छन् ।

मोरङको लेटाङस्थित शिक्षा विकास माविका एक शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै गत चैत ६ गते स्थानीयले विद्यालय घेराउ गरे । विद्यालयभित्र आरोपी शिक्षक ५८ वर्षीय मनोज पौडेललाई जोगाएर राखिएको भन्दै साँझपख स्थिति तनावग्रस्त बन्यो । प्रहरीले केही राउन्ड हवाई फायर गर्‍यो । भीडबाट भएको आक्रमणमा परी एकजना महिला प्रहरी जवानले ज्यानै गुमाइन् ।

मोरङ प्रहरीले हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ । प्रदर्शनमा उत्रिएका ५६ जनालाई अभद्र व्यवहारमा मुद्दा चलाउन सिफारिस गरिएको छ । दुवै मुद्दाका अधिकांश आरोपी एकै ठाउँका छन् । यौन दुर्व्यवहारका आरोपीलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ । अदालतमा मुद्दा दर्ता नहुँदै त्यस्तै प्रकृतिका दुई वटा घटना भइसकेका छन् ।

दिक्तेलस्थित महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य चैत ३० गते पक्राउ परे । कारण थियो यौन दुर्व्यवहार । विद्यालयका छात्राहरूले आचार्यविरुद्ध पटक-पटक यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए । विद्यार्थी युनियनले आचार्यलाई विद्यालयभित्रै कालोमोसो दलेको थियो ।

एक साताअघि चितवनको गंगानगर माविका शिक्षकहरू ५८ वर्षीय फणिन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परे । कक्षा ४ र ६ पढ्ने छात्राका अभिभावकहरूले उनीहरूविरुद्ध उजुरी दिएका थिए ।

चैतको पहिलो साता चितवनको माडीस्थित सोमेश्वर उच्च माविको कक्षा ९ का एक छात्राले यौन दुर्व्यवहारको आरोप लगाएपछि शिक्षक सुरज लामिछाने पक्राउ परे । यौन दुर्व्यवहारको कुरा उठेपछि विद्यार्थीहरूले प्रदर्शनसमेत गरे ।

पछिल्लो समय विद्यालयमा शिक्षकहरूबाट हुने यौन दुर्व्यवहारविरुद्ध छात्राहरूले आवाज उठाउने क्रम बढेको छ। यसलाई छात्राहरूमा चेतनाको स्तर बढेको बताउँछन् नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी ।

‘यस्ता घटना पहिला पनि नहुने हैनन् तर छात्राहरूले लुकाउँथे । अहिले उनीहरूमा सचेतना बढेको छ’, भण्डारी थप्छन्, ‘अभिभावकमा पनि चेतनाको स्तर बढेको छ । छात्राहरूलाई यस्ता कुरा भन्न सक्ने आत्मविश्वास समाजले विस्तारै दिइरहेको छ ।’

चैतको दोस्रो साता झापाको गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीका शिक्षक ५० वर्षीय श्रीप्रसाद सिवाकोटी पक्राउ परे । उनलाई पक्राउ गरिनुको कारण पनि विद्यार्थीमाथि यौन दुर्व्यवहार नै थियो ।

गत असारमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका-२ पुलामी टोलमा रहेको चण्डेश्वरी बोर्डिङ स्कुलका प्रिन्सिपल करण राई पनि पक्राउ परेका थिए । १० वर्षीया दुई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप राईमाथि लगाइएको थियो ।

गत जेठमा भक्तपुरको सूर्यविनायकमा ट्युसन पढाउने नाममा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले शिक्षक हरिकृष्ण कोजुलाई पक्राउ गरेको थियो ।

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर अपराधलाई मिलापत्रमा टुंग्याउन खोज्दा यौन दुर्व्यवहारका घटना बढेको र दोहोरिइरहेको बताउँछिन् ।

‘मैले आफैले पनि यौन दुर्व्यवहारका घटनाहरू देखेकी छु । तर यस्ता घटनाका आरोपीलाई मिलापत्र वा माफी माग्न लगाएर छाडिने गरिएको थियो’, उनले भनिन्, ‘विद्यालय व्यवस्थापनसमेतको अगुवाइमा त्यस्ता शिक्षकलाई अन्य विद्यालयमा सरुवा गरेर घटना साम्य गर्ने कामहरू हुने गरेको पाइन्छ । अपराधीलाई सजाय दिने हो, मिलापत्र, माफी वा अन्य ठाउँमा सरुवा गरेर पुग्दैन । घटना कसरी कम गर्न सकिन्छ भन्नेतर्फ जानुपर्छ ।’

पछिल्लो समय नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा नायक पल शाह पक्राउ परे । उनी पुर्पक्षका लागि थुनामा गएको घटना निकै चर्चामा छ । १८ वर्षमुनिका किशोरीसँग सहमतिमै हुने यौन सम्बन्धलाई पनि कानूनले अपराध मान्ने गरेको छ । यस्ता घटनाहरूले समाजलाई शिक्षित र सचेत बनाएको देखिन्छ ।

नेपाल अभिभावक महासंघका अध्यक्ष भण्डारी सजाय र सचेतना दुवै माध्यमबाट यस्ता घटनाहरूलाई कम गर्न सकिने बताउँछन् ।

‘पहिलो कुरा त, हाम्रा अभिभावकहरू सचेत हुनुपर्छ र उनीहरूले आफ्ना छोराछोरीलाई के सही र के गलत भन्ने सिकाउनुपर्छ । दुर्व्यवहार गर्ने कुनै न कुनै घरका छोरा हुन्छन् । त्यस्ता घटना भइहाले खुलेर भन्न सक्ने गरी छोरीहरुलाई पनि तयार गर्नुपर्छ । उनीहरूलाई आत्मसुरक्षाका तालिम पनि दिइनुपर्छ’, उनी भन्छन्, ‘दोस्रो कुरा, शिक्षकहरू यस्ता गतिविधिबाट डराउने अवस्था सृजना हुनुपर्छ । त्यसका लागि उनीहरूलाई पनि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकहरू पक्राउ नपरेका पनि होइनन् । पोखरा-११ फूलबारीस्थित भास्कल मेमोरियल स्कुलका प्रिन्सिपल विश्वराज बास्तोला २०७६ फागुन पहिलो साता पक्राउ परेका थिए । प्रिन्सिपलसँगै विद्यालय जाँदा आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप एक विद्यार्थीले लगाएकी थिइन् ।

त्यही समयमा झापाको बुद्ध शान्ति गाउँपालिकाका शिक्षक नरेन थापा पनि पक्राउ परेका थिए । ट्युसन पढाउने नाममा थापाले छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । ६ जना छात्राका अभिभावकले संयुक्त रुपमा उजुरी दिएका थिए ।

२०७५ भदौमा बुटवलको ज्ञानपुञ्ज सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल तोयराम पौडेल पक्राउ परेका थिए । १० कक्षामा अध्ययनरत एक छात्राले पौडेलविरुद्ध दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

गोरखाको सिरानचोक गाउँपालिका-७ स्थित जनकल्याण माविमा पढाउने शिक्षक जलेन्द्र चौधरी पक्राउ परेका थिए । उनीमाथि तीन छात्राले यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

कञ्चनपुरमा गत पुसमा स्थानीय एक विद्यालयका प्रिन्सिपल पक्राउ परेका थिए । भीमदत्त नगरपालिका-१६ मझगाउँस्थित रेटिना इन्टरनेसनल स्कुलका प्रिन्सिपल तिलक भट्ट पक्राउ परेका थिए । जागिर दिने बहानामा भट्टले यौन दुर्व्यवहार गरेको आरोप एक महिलाले उनीविरुद्ध लगाएकी थिइन् ।

शिक्षक महासंघकी अध्यक्ष तुलाधर विद्यालयहरूमा शिक्षिकाहरू पनि जागरुक हुनुपर्ने बताउँछिन् । ‘शिक्षिकाहरू मानसिकरूपमा बलिया भए छात्राहरूले पनि खुलेर कुरा गर्न सक्छन् । उनीहरूले दुर्व्यवहारका गतिविधिविरुद्ध कडा आवाज उठाए यस्ता घटना कम हुँदै जान्छन्’, उने भनिन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णकुमार केसी शिक्षा दिने ठाउँमा यस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण रहेको बताउँछन् । कहिलेकाहीँ एउटा विरोध वा आक्रोशले गुम्सिएर रहेका अन्य घटनालाई बाहिर ल्याउन प्रेरित गर्ने उनको भनाइ छ ।

उनका अनुसार विद्यालयमा हुने यौन दुर्व्यवहारका घटनाविरुद्ध पछिल्लो समय देखिएको लहर त्यसकै उदाहरण हुन् ।

नेपालमा यौन दुर्व्यवहार गर्नेलाई ३ वर्षसम्म कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

‘कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीबिना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्विर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा’, यौन दुर्व्यवहार मानिने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर