अजम्बरले किन सच्याए भोजपुर टेम्केमैयुङको भागबण्डाको विवरण ? – Nepal Press

अजम्बरले किन सच्याए भोजपुर टेम्केमैयुङको भागबण्डाको विवरण ?

भोजपुर । भोजपुरका गठबन्धन दलले स्थानीय तहको भागबन्डा टुंग्याएलगत्तै टेम्केमैयुङ गाउँपालिकाको सिट बाँडफाँटमा ठूला दल कांग्रेस र माओवादीको कुरा बाझियो ।

बैठकमा टेम्केमैयुङ नेपाली कांग्रेसलाई अध्यक्ष र नेकपा एसलाई उपाध्यक्ष दिने निर्णय भएअनुसार माइन्यूट भएको थियो । तर, माओवादी नेता अजम्बर काङमाङले स्थानीय तहको सिट बाँडफाटमा भोजपुर गठबन्धनको निर्णय भनी फेसबुकमा सार्वजनिक गरेको सूचीमा यस गाउँपालिकामा नेकपा एसलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्ष उल्लेख थियो ।

टेम्केमैयुङमा माओवादी र कांग्रेसको कुरा बाझिएपछि अहिले सामाजिक सञ्जालमा माइन्यूट उल्टाइएको भन्दै तीब्र टिक्काटिप्पणी सुरू भएको थियो । दबाबका बीच काङमाङले साँझ ५ बजेर २३ मिनेटमा आफ्नो पोष्ट सच्याएर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एस लेखेका छन् ।

नेपाल प्रेसको सम्पर्कमा आएका माओवादीका केही जिल्ला नेताले पनि टेम्केमैयुङ नेकपा एसलाई नै छुट्याइएको बताएका थिए । तर, यही कुराले गठगठबन्धनमा खटपट आउँन थालेपछि उनले स्टाटस एडिट गरेका छन् । टेम्केमैयुङ अजम्बरको गृहपालिका हो ।

कांग्रेस भोजपुरका सभापति विनोद बान्तवाले कांग्रेसले नै अध्यक्ष लिने सहमति बनेको प्रष्ट्याए । ‘कहिलेकाँही बोल्दा त जिब्रो लट्पटिन्छ । अजम्बरजीले लेख्दा मिस्टेक लेख्नुभएछ । सच्याइसक्नुभो । हामीबीच कुनै समस्या छैन । गठबन्धन कार्यान्वयनका लागि सबै अडिग छौं ‘, बान्तवाले भने ।

भागबण्डामा छलफल हुँदा टेम्केमैयुङमा माओवादीले उपप्रमुख आफ्नो बटमलाइन बनाएको थियो । २०७४ को चुनावमा पनि एमालेविरुद्ध गठबन्धन बनेको यस पालिकामा माओवादीले प्रमुख-उपप्रमुख उठाएको थिएन ।

टेम्केमैयुङ घर भएका माओवादी नेता मोहन किराती मादेन’ ले गठबन्धनबीच भएको सहमतिको मसी सुक्न नपाउँदै माओवादी छाडेको घोषणा गरिसकेका छन् । उनी भूमिगतकालदेखि नै माओवादीभित्र जिल्लामा प्रभावशाली नेता मानिन्छन् ।

‘कुनै पनि पार्टीको गलत (नाजायज) ह्वीपलाई अक्षरस पालना गर्ने, सत्ता र पहुँचको पूजा गरी दलाल नेतृत्वको खुट्टा ढोग्ने प्रवृत्ति,आम शोषित पीडित जनतालाई लाई सदाबहार शोषण गर्ने दिर्घकालिन योजनाविरुद्धको विद्रोह हो । मेरो राजीनामा’, मादेनले फेसबुकमा लेखेका छन् ।

यहाँ यसपटक रामसिंह राईलाई अध्यक्षमा उठाउने गरी जसपा पनि अन्तिम समयसम्म हटेको थिएन । २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी रामसिंह नै एमालेविरुद्ध अध्यक्षमा गठबन्धनबाट अघि सारिएको थियो । उपाध्यक्षमा कांग्रेसका सरोज बस्नेतलाई उठाइएको थियो । तर, एमालेले ध्रुव राई अध्यक्षसहित बहुमत वडा जित्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर