अंग्रेजलाई नेपालीले लखेटेको त्यो दिन र स्वरुप फेरिरहेको जितगढी – Nepal Press
इतिहास

अंग्रेजलाई नेपालीले लखेटेको त्यो दिन र स्वरुप फेरिरहेको जितगढी

रुपन्देही । आज वैशाख ७ गते । बुटवलको जितगढीमा १८७२ साल वैशाख ७ गते अर्थात् २०७ वर्षअघि आजकै दिन भएको लडाइँमा नेपालसँग हारेपछि तत्कालीन अंग्रेज सेना नेपालबाटै फर्किएको थियो । चार वर्षयता यो ऐतिहासिक दिनको स्मरणमा वैशाख ७ गतेलाई विजयाेत्सव दिवसका रुपमा मनाउने परम्पराको थालनी भएको छ भने जितगढी सम्पदास्थलको स्वरुप फेरिएको छ ।

जितगढीमा अंग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन १८७१ साल वैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उप–महानगरपालिकाको ०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजयाेत्सव दिवसका रुपमा मनाउन सुरु गरेको थियो । त्यसअघिसम्म विजय भएको दिनको यकिन मितिमा एकमत थिएन ।

केही समय अघिसम्म ओझेलमा थियो जितगढी किल्ला । त्यसैमा केही वर्षअघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्ला नजिकै बनेपछि किल्ला परिसर चेपुवामा पर्यो । किल्लाका सम्पदास्थल केटाकेटी खेल्ने मैदानजस्तै बन्यो । नजिकै कभर्ड हल निर्माण भयो, सार्वजनिक भवन निर्माण भयो र तीनतिरबाट अतिक्रमण तीव्र भयो ।

ओझेलमा परेको वीरताको जीवित गाथा सम्झाउने किल्ला तब फेरिन सुरु भयो जब बुटवलमा जनप्रतिनिधि निर्वाचित भएर आए ।

बुटवलका मेयर शिवराज सुवेदी २०५४ मा जिविस सदस्य हुँदा केही बजेटले जितगढीको उजागर गर्ने कोसिस गरेको बताउँछन् । त्यतिबेलाको जितगढी बनाउने सपना अहिले पूरा गरेको उनको भनाइ छ ।

केही समयअघिसम्म झारले ढाकिएको, एक–एक वर्षमा तत्कालीन सेनाले सलामी दिने र सरसफाइ गरी वार्षिकी मनाउने गरिन्थ्यो । त्यसबेलासम्म जितगढीका लागि विनियोजित बजेटसमेत खर्च हुन्थेन र फ्रिज हुन्थ्यो । तर अहिले जितगढीको मुहार फेरिएको छ । जनप्रतिनिधिको प्राथमिकतामा परेको जितगढीलाई राष्ट्रिय स्वाभीमान र पहिचानको महत्वपूर्ण स्थलका रुपमा विकास गर्न लागिएको हो । अहिले उबेलाको किल्ला परिसरको स्वरुप पूरै फेरिएको छ ।

सुवेदीले आफू मेयरमा निर्वाचित भएकै वर्ष भित्री संरचना निर्माणलगायतका लागि एकैपटक ५० लाख रकम विनियोजन गर्दै विशेष काम सुरु गराएको बताउँछन् ।

नगरसभामार्फत जितगढी किल्ला विजयाेत्सवको आधिकारिक तिथि, मिति नै तय गरेर जितगढीलाई उजागार गर्ने र संरक्षण गर्दै विस्तार गर्ने कामको एउटा चरण सफल भएको छ । अब गुरुयोजनाका बाँकी काम अगाडि बढ्दैछन् ।

‘जितगढी सम्पदाको गुरुयोजना बनाएर काम गरेपछि जितगढी सम्पदाको कायापलट भएको छ’, स्थानीय अगुवा रवीन्द्रगोपाल लाकौल भन्छन्, ‘इच्छाशक्ति र दृढता भयो भने काम सफल हुनेरहेछ भन्ने उदाहरण जितगढी बनेको छ ।’

‘विजयाेत्सव दिवसको पाँचौं वर्षसम्म आइपुग्दा बुटवलले जितगढीको गुरुयोजनाको अधिकांश काम पूरा गरेको छ । गुरुयोजनाअनुरुपको विस्तृत परियोजना प्रतिवेदन तोकिएका काम साकार हुँदैछन् । जग्गा अधिग्रहणसहित एक अर्ब लागत अनुमान गर्दै माथिल्ला सरकारसँग सहकार्यको प्रस्ताव अगाडि बढाइएको छ । नजिकै रहेको अर्को जग्गामा जितगढी बटौली युद्ध संग्रहालय निर्माण गरिएको छ’, नगर प्रमुख सुवेदी भन्छन् ।

किल्लाको संरक्षण र सम्बर्द्धन गर्दै यसलाई प्रदेशको मात्र नभई देशकै पर्यटकीय स्थलको रुपमा विकास गर्ने र बटौली पर्यटन सर्किटको मुख्य केन्द्र नै जितगढीलाई बनाउने यसको योजनामा उल्लेख छ । अहिले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइरहेको छ । अंग्रेजलाई हराउने कर्णेल उजिर सिंहको पूर्ण कदको सालिक दक्षिणतिर फर्किएर शानका साथ उभिएको छ । नजिकै १३ जना वीर योद्धाका सालिक ठडिएका छन् । किल्लाको वास्तुकला, इतिहास, नेपाल–अंग्रेज युद्धका बारेमा जानकारी दिने डिजिटल बोर्ड तयार हुँदैछ । हरियाली बगैंचा तयार भएको छ र राष्ट्र धुनसहितको जलफोहोरा तयार भएको छ ।

मेयर सुवेदीका अनुसार अहिले झण्डा राखिएको टावरको केही स्वरुप फेरेर अझ भव्य बनाइएको छ । किल्लाको बाहिरी र वरपरको भागलाई थप आकर्षक बनाइने छ । भविष्यमा तिनाउ नदीलाई व्यवस्थित गर्दै जलपर्यटनका रुपमा पनि विकास गर्ने सुवेदीको दीर्घकालीन योजना छ । किल्ला परिसरसँगै पर्यटनलाई मणिमुकुन्द सेन दरबार क्षेत्र, नुवाकोट गढीसहितका पर्यटन क्षेत्रसँग जोडेर सर्किट बनाइएको छ र यसलाई साकार पार्न निजी क्षेत्रसँग पनि सहकार्यको खाका तयार पारिएको छ ।

आदिमानव रामापिथेकस क्षेत्र र अरु पार्कहरुलाई समेत जोडेर बटौली एकीकृत पर्यटन गन्तव्य बनाउने गरी विस्तारित गुरुयोजनालाई साकार पार्नेतर्फ ध्यान दिइएको प्रमुख सुवेदीको भनाइ छ । ‘आजको भोलि नै सबै एकैसाथ काम नहुन सक्छ तर दीर्घकालसम्म सोचेर तय गरिएका योजना विस्तारै साकार पार्दा बुटवल अझ भव्य बन्नेछ’, सुवेदीले भने ।

इतिहासकार र विज्ञहरुको मेहनत

बुटवल उपमहानगरले विभिन्न समयमा इतिहासविद् तथा विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर जितगढी युद्धमा सहादत प्राप्तहरुको खोजी र पहिचान गर्न लगाएको थियो । उक्त कार्यदलमा संयोजक झपेन्द्र जी.सी. र सदस्यहरु डा.सूर्यबहादुर जी.सी., विमलबहादुर शाक्य, चन्दा रावल, निर्मल श्रेष्ठ तथा रवीन्द्रगोपाल लाकौल र वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले नेपाली सेनामा रहेका विज्ञहरु, इतिहासकार र सम्पदाका जानकारहरुसँग विभिन्न समयमा अन्तरक्रिया गरेको थियो । तिनै विज्ञहरुसँगको परामर्शमा उपमहानगरले जितगढी विजयाेत्सवको दिन यकीन गर्ने, योद्धाहरुको तस्बिर आकृति पहिचान गर्ने काम गरेको थियो ।

उक्त कार्यदलले ती वीर नेपालीका वंशका परिवार तथा आफन्त, नेपाली सेनाका मातहतका विभिन्न अड्डा र इतिहासविद्सँग विभिन्न समयमा छलफल गरेको थियो । कार्यदलका संयोजक जी.सी.ले रक्षा मन्त्रालय, सैनिक मुख्यालय, कार्यरथी विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी, सैनिक सङ्ग्रहालय छाउनी र सैनिक पुस्तकालय भद्रकालीसमेतमा पुगेर अध्ययन गरेको बताए ।

सोही कार्यदलले तयार पारेको रिपोर्टका आधारमा जितगढीमा १३ जना नेपाली वीर योद्धाका १३ सालिक निर्माण भएका हुन् । कार्यदलले जितगढीको युद्धमा कमान गर्नेहरु र सहादत प्राप्त योद्धाहरुको खोजी पहिचान र तस्बिर खाजेर प्रमाणीकरण गर्दै उपमहानगरलाई बुझाएलगत्तै सालिक निर्माण अगाडि बढाइएको उपप्रमुख गुमादेवी आचार्य बताउँछिन् । संघीय सरकार, प्रदेश सरकार, पुरातत्त्व विभाग, नेपाली सेनालगायतका सुरक्षा निकायहरु, बटौली संरक्षण समिति तथा स्थानीय संघ–संस्था तथा क्लबहरुको सहकार्यमा जितगढीको संरक्षण र सम्बर्द्धनका तथा बटौली पर्यटन सर्किट व्यवस्थित गर्ने काम भइरहेको आचार्यले बताइन् ।

बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार जितगढीलाई केन्द्रमा राखेर नुवाकोट, लक्ष्मीपार्क, हिलपार्क, रामापिथेकस पार्कसहितका वरपरका क्षेत्र र बैठौलिया तालसम्म एउटै सर्किटमा जोडने गरी पर्यटन सर्किट तयार भएको छ । यो सर्किटलाई बुटवल चक्रपथले जोडेको र छिमेकका पालिका हुँदै लुम्बिनीसम्म कनेक्टिभिटी गराइएको छ ।

जितगढी किल्ला परिसरमा रहेको पुरानो नगरपालिका भवन, (वडा कार्यालय) हटाइएको छ । सोही स्थानमा प्रदेश सरकारको सहकार्यमा जितगढी युद्ध संग्रहालय (बटौली संग्रहालय) स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको वडा नं. १ का अध्यक्ष महेन्द्र लिगलले जानकारी दिए । अबको जितगढी बल्ल ऐतिहासिक धरोहर, राष्ट्रियताको पहरेदार र वीरताको किल्लाका रुपमा देखिने गरी कायापलटको काम भएको अध्यक्ष लिगलले बताए ।

यसरी बने जितगढीमा संरचना

१. मूल गेट र ऐतिहासिक पथ

मूल गेट बुर्जा शैलीमा बनेको छ । जुन मणिमुकुन्द सेनको पालामा चलेको शैली हो । गेटको छानोको मध्यभागमा नेपालको झण्डा राखिएको छ । गेटको दुवैतिर तोप राख्ने काम भइरहेको छ । टिकट काउण्टर र गार्डको लागि अलग्गै ठाउँ रहेको छ । ऐतिहासिक पथमा एङ्लो–नेपाल युद्धको ऐतिहासिक समयानुक्रम र युद्धका सेनाको परिचयात्मक फोटोसहितको ब्याकग्राउण्ड राखिँदैछ । यी युद्धका सेनाले कोलोनेल (कर्णेल) उजिरसिंह थापालाई वरिपरिबाट घेरेर राखेको जस्तो देखाइने छ ।

२. विशाल राष्ट्रिय झण्डा

अहिलेको झण्डाको संरचना परिवर्तन हुनेछ । थोरै स्थान लिने गरी एउटै खम्बामा झण्डा फहराइने छ । उजिरसिंहको सालिक अगाडिको भागमा खाली ठाउँ राखिएको छ । समतल भूभागभन्दा केही माथि उठाइएको यो खाली ठाउँमा एक सय जना सिपाहीहरुले उजिरसिंहलाई सलामी दिन सक्नेछन् । किल्लामा सेनालाई त्यहीँ बसेर किल्लाको सुरक्षा गर्न आर्मी क्वार्टरको डिजाइन गरिएको छ । यसका अलावा यी किल्लाका प्रत्येक कुनामा क्वाटर बनाइने छ । आर्मी क्वार्टरमा लवी, किचन, बेडरुम र शाैचालय एवं बाथरुम बनाइएको छ ।

३. कलात्मक पुल

संरक्षण गर्नुपर्ने क्षेत्रमा नै अहिलेको पुलको फाउण्डेशन रहेकाले नयाँ पुल प्रस्ताव गरिएको छ । पुलले अवलोकनकर्ताहरुलाई किल्लाको पूर्व र पश्चिमतर्फ अवलोकन गर्न मिल्ने गरी बनाइने छ । मेयरले सकभर सिसाको जस्तो पुल बनाउन अध्ययन गर्न लगाएका छन् । एउटै पुलबाट अवलोकनकर्ताहरुले गढीको फेँदमै जान मिल्ने र माथि पनि आउन मिल्ने गरी पुलको डिजाइन भई निर्माण कार्य सुरु भएको सहरी विकास तथा योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । यो काममा नेपाली सेनाले निरन्तर समन्वय र रेखदेख गरिरहेको छ ।

५. वीर योद्धाका सालिक

जितगढी युद्धमा सहादत प्राप्त वीर नेपाली सेनासहित योद्धाहरुको सालिक निर्माण गरिएको छ । १३ जना वीर योद्धाका सालिक कर्णेल उजिरसिंहको सालिकतिर फर्किएर कमाण्ड कुरेको जस्तो देखिने छ । सालिकसँगै हरियाली उद्यान पनि निर्माण भएको छ । यसको हालै पूर्वमन्त्री तथा एमाले सचिव छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए ।

६. भ्यू डेक र फोटो बुथ

किल्लाको पूर्वतर्फ बगिरहेको तिनाउ नदी अवलोकन गर्न मिल्ने गरी भ्यू डेक बनाउने काम भइरहेको छ । कर्णेल उजिरसिंह थापाको पोजिसनमा फोटो खिच्न चाहने अवलोकनकर्ताहरुको लागि फोटो खिच्न मिल्ने एउटा फोटो बुथ निर्माण गरिने छ । यसले त्यहाँ आउने पर्यटकका लागि कर्णेल उजिरसिंहलाई सम्झाउने छ ।

७. एमफीथियटर (रंगभूमि)

साँझमा सराया नाचलगायतका सांस्कृतिक नाच तथा झाँकीहरु प्रदर्शन गर्न मिल्ने गरी छुट्टै स्थान तोकिएको छ । यसका लागि संरचना तयार भएको छ । यहीँ स्थानमा उस्तै पोशाक लगाएर कर्णेल उजिरसिंहका पालाको भगवती जात्रा र सरायँ नाचको झल्को देखाइने छ ।

८. मन्दिर

अहिलेको मन्दिरलाई जस्ताको तस्तै राखिने गरी थप आकर्षक बनाइने छ । यसको संरचनामा परिवर्तन नगरी थप कलात्मक र आकर्षक बनाउने काम भइरहेको इन्जिनियर रुक्मात बस्यालले बताए । बस्यालसहित नेपाली सेनाका प्राविधिकहरु निरन्तर जितगढीमा खटिएका छन् ।

९. ग्रेटर नेपाल र शीलालेख

रंगभूमिको पछाडिको भागमा अवलोकनकर्ताहरुले नेपालको रणनैतिक आक्रमणका ठाउँहरु देखाइएको नेपालको ठूलो तस्वीर राख्ने काम सुरु भएको छ । तस्बिरको अगाडिको भागमा विभिन्न समयको प्रतिनिधित्व हुने गरी एङ्लो–नेपाल युद्धको समयानुक्रम देखाइने इन्जिनियर बस्यालले बताए ।

१०. स्मारक

एङ्लो–नेपाल युद्धको झझल्को आउने गरी एउटा स्मारक डिजाइन गरिएको छ । अवलोकनकर्ताहरुले किल्लाबाट बाहिर निस्कने द्वारमा यसलाई अवलोकन गर्न सक्नेछन् । किल्लामा यहाँका स्थानीयको सहयोगमा बुटवल उपमहानगरपालिका र पुरातत्त्व विभागले उत्खनन् सुरु गरिसकेको छ । त्यसैले उत्खनन् भएका क्षेत्रमा आंशिक रुपमा मात्रै अवलोकनकर्ताहरुलाई जान दिन मिल्ने बनाइएको छ ।

उत्खनन् भएको क्षेत्रलाई पानी र खराब मौसमबाट बचाउन संरचना तयार पारिने छ । अहिलेको किल्लाको संरचनाको ठीक बाहिरपट्टि मायाको चिनो बेच्ने ठाउँ र कार्यालय बनाउने काम पनि सुरु भएको छ । यहाँ ४ चक्के र २ चक्केको लागि पार्किङसमेत बनाइने छ । यी कामका लागि कुल लागत ८ करोड, १२ लाख ८९ हजार २७ रुपैयाँ लागत अनुमान गरिएको थियो ।

क–कसको बन्यो सालिक ?

१ कर्णेल उजिरसिंह थापा (सबुज) (निर्माण पूरा भएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अनावरण भएको) । २.काजी वीरभञ्जन पॉडे (गुरुबक्स कम्पनी) । ३.कुम्भेदान कृपासुर थापा । ४.दलखम्ब थापा । ५.शमशेर राना मगर । ६. सरदार सूर्जे थापा । ७.लेफ्टिनेन्ट अम्बर अधिकारी । ८.कुम्भेदान वृषसुर थापा । ९.जमदार भीमसेन देउजा । १०.जमदार शूरवीर बोहरा । ११.हवल्दार रणशूर बानियाँ । १२ सिपाही हंशवीर अधिकारी । १३. थरघर नकुल बानियाँ । १४.जुठे बस्नेत ।

यी सालिकको पूर्वमन्त्री छविलाल विश्वकर्माबाट अनावरण भइसकेको छ ।

के भन्छन् फेरिएको जितगढीबारे विज्ञहरु ?

जितगढी बल्ल देखिने, सुनिने र चिनिने भयोः डा.सूर्य जिसी, इतिहासविद्

नेपालको वीरताको किल्ला कागजमा सीमित थियो । अतिक्रमणको चपेटामा थियो र जीर्ण बनिरहेको थियो । जब बुटवलमा जनप्रतिनिधि निर्वाचित भएर आउनुभयो तब जितगढी सुनिने, चिनिने र देखिने अवस्थामा पुगेको अहिलेको अवस्थाले प्रष्ट पारेको छ । अहिले यो किल्ला संरक्षण र सम्बर्द्धन भएर उज्यालो बनेको छ । हालसम्म हुन नसकेका काम जनप्रतिनिधिले यो एउटा कार्यकालमा अगाडि बढाएको छ । गुरुयोजना नै बनाएर बुटवल उपमहानगरले महत्वपूर्ण संरक्षण र सम्बर्द्धनको काम गरेको छ ।

जितगढीलाई आधुनिक, व्यवस्थित र योजनाबद्ध तरिकाले संरक्षण, विस्तार र विकास गर्नु समग्र इतिहासलाई उजागार गर्नुजस्तै हो । तत्कालीन नेपाल–अंग्रेज युद्धका विजेता वीर योद्धा र सपूतका सालिक निर्माण गर्ने, सम्पदास्थललाई संरक्षण र सम्बर्द्धन गर्ने जुन काम भएको छ, यसले बुटवलको पहिचानलाई अझ विस्तार गरेको छ । कर्णेल उजिरसिंहको पूर्णकदको सालिक निर्माण भएको छ र उक्त सालिक अनावरणका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओली आफै सम्पदास्थलमा प्रस्तुत भएर जितगढीको गाथा सुनाउनुभएको थियो । यसले पनि जितगढीको शान र पहिचानलाई विस्तार गर्न मद्दत मिलेको छ ।

बुटवलवासीले गर्व गर्न लायक भएको छ जितगढीः विमलबहादुर शाक्य, वरिष्ठ समाजसेवी तथा पूर्वउपप्रमुख

बुटवल उपमहानगरपालिकाले जितगढी सम्पदाको संरक्षण र विस्तार योजनाबद्ध ढंगले गरेको छ । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बुटवलवासीले गर्व गर्न लायक काम भएको छ, जितगढीको मुहार फेरिएको छ । जितगढीको संरक्षण, सम्बर्द्धन र विकासका लागि उपमहानगरका मेयर शिवराज सुवेदीको नेतृत्वमा उदाहरणीय काम भएको छ । बुटवलवासीले गौरवबोध गर्न मिल्ने काम भएको छ ।

यद्यपि जितगढीका लागि बनाइएको गुरुयोजना साकार पार्न अझै केही काम बाँकी रहेका छन् । जितगढी के हो ? कर्णेल उजिरसिंहलाई त्यसबेला अंग्रेजले के पत्र लेखेका थिए भन्ने कुरालाई नेपालीमा अनुवाद गरेर त्यहाँ राख्नुपर्ने छ ।

गुरुयोजनामा यसलाई समावेश गरिएको मेयरले बताउनुभएको छ । के कसरी युद्ध भएको थियो भन्नेबारेमा भिडियोमार्फत सन्देश दिन सकिनेसमेत व्यवस्था मिलाउने कुरा मेयरले गर्नुभएको छ जुन खुसीको कुरा हो । यो एउटा अवधिमा अर्थात् एक कार्यकालमा यो सबै काम एकसाथ सम्पन्न हुन सक्ने कुरा पनि भएन । तर, जेजति काम भए त्यसले समग्र विकासको असली खाका कोरेको छ र बुटवलवासीले गौरवबोध गर्ने भएको छ ।

इतिहास सम्झाउने, चिनाउने र सिकाउने काम भएको छः झपेन्द्र जिसी,संस्कृतिविद्

बुटवलमा रहेको वीरताको किल्ला जितगढीको संरक्षण र सम्बर्द्धनमा उदाहरणीय काम भएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछिका नौला काममध्येको यो एउटा महत्वपूर्ण काम हो । गुरुयोजना बनाएर सुरु गरिएको यो कामले अहिले सार्थकता पाएको छ । विक्रम स‌वत् १८७१ देखि १८७२ वैशाख ७ गतेसम्मको पटक–पटकको लडाइँमा आफूलाई विश्व विजेता दाबी गर्ने अंग्रेज सेनासँगको युद्धमा डटेर लड्ने एवं विजयी हुने कर्णेल उजिरसिंहसहित वीर योद्धाका सालिक निर्माण गरेर इतिहास सम्झाउने, चिनाउने र सिकाउने काम गरेको छ ।

प्रमुख शिवराज सुवेदीसहित उपमहानगरका सबै जनप्रतिनिधि, कर्मचारीहरु र यसको संरक्षणका लागि खटिएका वडाका नागरिक अगुवा र सबै संरक्षणकर्मीहरु बधाईका पात्र हुनुहुन्छ । तत्कालीन नेपाल–अंग्रेज युद्धमा सहादत प्राप्त सरदार सूर्य थापा, लेफ्टिन अमर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, सुरवीर बोहरा, हवल्दार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ, जुठे बस्नेतलगायतका सयौं जना वीर योद्धाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु ।

बल्ल उज्यालो भएको छ जितगढीः रवीन्द्रगोपाल लाकौल, संरक्षणकर्मी

जितगढी वीरताको किल्ला जितगढी सम्पदाको भूमिमा रहेका नागरिक हौं हामी । यसको संरक्षणका लागि धेरै वर्षदेखि लड्दै आएका थियौं तर सुनुवाइ भएको थिएन । अहिले बुटवलमा जनप्रतिनिधि आएपछि हामी बुटवलबासीका लागि पनि गर्व गर्ने काम भएका छ । बल्ल विजयका गाथा सुनाउने सम्पदाका रुपमा यसको विकास भएको छ । साह्रै खुसी लागेको छ ।

अहिलेका मेयर शिवराज सुवेदी प्रष्ट भिजन भएका, प्रष्ट विचार भएका, दूरदृष्टि भएका सक्षम हुनुहुँदो रहेछ । उहाँले जितगढीलाई संरक्षण र सम्बर्द्धन गरेर सिङ्गो बुटवललाई उज्यालो बनाउनुभएको छ । हामी स्थानीय बासिन्दाहरु यो कामबाट हामी साह्रै खुसी भएका छौं र उत्साहित भएका छौं । जितगढी बुटवलवासीको मात्र सम्पत्ति नभई सिङ्गो राष्ट्रको सम्पत्ति बन्ने गरी बुटवलले काम गरेको छ । योजनाबद्ध विकास र संरक्षण एवम् सम्बर्द्धनका काम कसरी हुँदा रहेछन् भन्ने कुरा हेर्न जितगढीमा आउनुपर्ने भएको छ । वीरताको किल्ला जितगढीको मुहार फेरिएको छ र सिंगो बुटवल उज्यालो भएको छ ।

तस्बिरहरु: अमृत गिरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर