लेटाङ घटना : विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोपित शिक्षक जेल चलान   – Nepal Press

लेटाङ घटना : विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोपित शिक्षक जेल चलान  

विराटनगर ।  छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका मोरङको लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेल  पुर्पक्षको लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गा खड्काको इजलासले शिक्षक पौडेललाई मङ्गलवार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत एक  छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा उनी पक्राउ गरेका थिए ।

सोही प्रकरणमा एक महिला प्रहरी हत्या आरोपमा कर्तव्य ज्यान मुद्दाका १० आरोपी भने धरौटीमा  छुटेका छन् ।  मोरङ अदालतले  उनीहरूलाई  जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएसँगै धरौटी बुझाएर उनीहरू रिहा भएका हुन् ।

मोरङ अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले मङ्गलवार महिला प्रहरी हत्या आरोपमा कर्तव्य ज्यान मुद्दाका १० आरोपी कृष्ण विश्वकर्मा, डम्बरबहादुर कार्की, विशेष मगर, सन्तोष कुँवर, कुमार बहादुर खोक्रेल, कपिल नेपाली, समीर राई, मनकुमार महरा, अनिल विश्वकर्मा र लेखबहादुर मगर जनही ५० हजार धरौटीमा रिहा  गर्न आदेश दिएका थिए ।

आदेश लगतै उनीहरूले ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।  बुढाथोकीका अनुसार उक्त मुद्दाका पाँच आरोपित अझै फरार रहेका छन् ।

उक्त घटनामा अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा खेपेका १५ जना नाबालकलाई पनि न्यायाधीश ढकालको इजलासले अभिभावकको जिम्मा लगाउने आदेश दिएको छ ।

लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यामिक विद्यालयका शिक्षक पौडेलले कक्षा ६ मा अध्ययनरत एक बालिकालाई यौन दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले आक्रमण  गर्दा चैत ६ गते राति २६ वर्षीय महिला प्रहरी जवान उर्मिला श्रेष्ठको घटना स्थलमा मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न भएको भन्दै मोरङ प्रहरीले एक १४ वर्षीय नाबालकसहित १६ जना विरुद्ध आजन्म कैदको माग गर्दै गत बुधवार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

मोरङ प्रहरीले घटनामा ६७ जना प्रत्यक्ष रूपमा संलग्न भएको ठहर गर्दै ६२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । त्यसमध्ये एक नाबालकसहित १६ जना कर्तव्य ज्यानमा संलग्न भएको ठहर गर्दै आजन्म कैदको माग गर्दै कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको थियो ।

श्रेष्ठको मृत्यु  शङ्कास्पद

चैत ६ गते आइतबार साँझ मोरङको लेटाङमा उत्तेजित भीडमा मारिएकी २६ वर्षीय प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेर भएको पुष्टि भएपछि घटनाले थप मोड लिएको छ ।

श्रेष्ठलाई लागेको गोली प्रहरीको हो वा उत्तेजित भीडबाट पनि गोली चलेको थियो भन्ने पुष्टि हुन सकेको छैन । घटनामा प्रहरीले दुई दर्जन बढी हवाई फायर गरेको थियो ।

प्रारम्भिक चरणमा प्रहरीले श्रेष्ठको मृत्यु उत्तेजित भीडले धारिलो हतियार प्रहार गर्दा भएको बताउँदै आएको थियो । तर पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु ‘सक प्रिजेन्ट वाई फायर आम इन्जुरी’ का कारण भएको र घाँटीमा गोली फेला परेको उल्लेख गरेपछि घटना थप शङ्कास्पद बनेको हो ।

श्रेष्ठको घाँटीबाट छिरेको गोली पेटसम्म पुगेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।   लेटाङ–५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षक पौडेलले कक्षा ६ मा अध्ययनरत एक बालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।

त्यसपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरीमाथि उत्तेजित भीडले आक्रमण गर्दा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

उनी विरुद्ध जबरजस्ती करणी उद्योगको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर