‘साक्षर जिल्ला’का निरक्षर आमाहरु भन्छन्- पढ्नुपर्छ भनेर कसैले जोरजुलुम गरेनन् – Nepal Press

‘साक्षर जिल्ला’का निरक्षर आमाहरु भन्छन्- पढ्नुपर्छ भनेर कसैले जोरजुलुम गरेनन्

इटहरी । पाँच वर्ष अगाडि नै तेह्रथुम जिल्लालाई साक्षर घोषणा गरिएको थियो । २०७४ चैत २० गते प्रदेश १ का प्रथम मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथि बनेर साक्षर जिल्ला घोषणासभामा सहभागी भएका थिए । तेह्रथुमलाई साक्षर जिल्ला घोषणा गर्दा स्तम्भ नै बनाइएको छ । तेह्रथुम सदरमुकाम आसपास क्षेत्र समेटिएर बनेको म्याङ्लुङ नगरपालिकाको सहयोगमा बनेको स्तम्भमा लेखिएको छ, ‘तेह्रथुमको समुन्नति र निकास ः ज्ञान, सीप र साक्षरताको विकास’ ।

सरकारी भाषामा ‘साक्षर’ घोषित तेह्रथुममा सबै जिल्लावासी साक्षर छैनन् । निरक्षर आमाहरु हरेकजसो गाउँ गाउँमा भेटिन्छन् । यस्तैमा एक हुन् ७३ वर्षकी मनमाया बिस्ट । तेह्रथुमको लालीगुराँस नगरपालिकामा पर्ने साविक सोल्मा गाविसको वडा नम्बर २ मा जन्मेकी विस्टले पढ्ने मौका नै पाइनन् । उनीसँगै जन्मिएकी जुम्ल्याहा दिदी धनमायाले पनि पढ्न पाइनन् । आफूले पढ्न नपाएको विगत खोतल्दै मनमाया भन्छिन्, ‘हामीलाई त बाआमाले घाँस भने, दाउरा भने, वस्तु भने, खेदेको खेद्यै गरे ।’

उनले तेह्रथुमको मध्य पहाडी राजमार्गले छोएको लसुने बजारमा तीन दशकदेखि सामान्य खुद्रा पसल गर्दै आएकी छन् । औपचारिक शिक्षा लिन नपाएका मनमायाले अनौपचारिक शिक्षासमेत लिन नपाएको बताइन् । ‘घरकाले बालखमा पढाएनन्’, उनी भन्छिन्, ‘बाहिरकाले पनि पढ्न सिकाएनन् ।’

निरक्षर मनमाया पैसा भने चिन्छिन् । तर, धेरै ठूलो गणित गर्ने बेला समस्या र अलमल दुवै हुने उनी सुनाउँछिन् । निरक्षर हुँदा पैसामा ग्राहकले ठग्दैनन् र भन्ने प्रश्नमा हाँस्दै मनमाया भन्छिन्, ‘ठगे भने खाउन न त दुई चार रुपैयाँ ।’

मनमायासँग मिल्दोजुल्दो कथा छ, ७५ वर्षकी गोमादेवी खत्रीको । तेह्रथुमको साविक सुङ्नाम गाविस वडा नम्बर ९ को चारघरेमा जन्मेकी गोमादेवी खत्रीलाई अक्षर चिन्न गाह्रो छ । लेख्न सक्ने त कुरै भएन । पाँच वर्ष कान्छा श्रीमानको पढालेखा भए पनि आफ्नो नभएको उनी बताउँछिन् । गोमादेवी भन्छिन्, ‘हाम्रो पालामा अक्षर सिकाउने चलन थिएन । उमेर बढेपछि पनि पढ्नुपर्छ भनेर कसैले जोरजुलुम गरेनन् । आफूले पनि चासो दिएन ।’

मनमाया र गोमादेवीमात्रै होइन साक्षर जिल्ला तेह्रथुममा अझै पनि धेरै नागरिक निरक्षर रहेको स्थानीय बताउँछन् । खासगरी पाका उमेर समूहका धेरै निरक्षर रहेको उनीहरुको भनाइ छ । विद्यालय छुटेकाहरुलाई अनौपचारिक शिक्षामा जोड्न नसक्दा यो अवस्था आएको बताउँछन् लसुनेका शिक्षक डिजन तिम्सिना । स्थानीय विद्यालयका अंग्रेजी शिक्षक उनी भन्छन्, ‘निरक्षर नागरिकहरु हुँदाहुँदै साक्षर जिल्ला भन्न नमिल्ने हो । सबै नागरिक साक्षर हुँदा साक्षर भने पो सार्थक हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *