महेश आचार्य सम्झिँदै विश्वप्रकाशले अर्थमन्त्री शर्मालाई दिए राजीनामाको सुझाव – Nepal Press

महेश आचार्य सम्झिँदै विश्वप्रकाशले अर्थमन्त्री शर्मालाई दिए राजीनामाको सुझाव

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अप्रत्यक्षरूपमा अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् ।

महामन्त्री शर्माले तत्कालीन अर्थमन्त्री महेश आचार्यको तस्बिर ट्वीटरमा पोष्ट गरेका छन् ।

‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति’, महामन्त्री शर्माले लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाईको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।’

आचार्यले आफू अर्थमन्त्री हुँदा हटाइएका गभर्नर तिलक रावललाई सर्वोच्चले पुनर्वहाली गरेपछि राजीनामा दिएका थिए । सर्वोच्चको निर्ण आउँदा आचार्य रक्षामन्त्री थिए । शर्माले नजिर देखाउँदै सामाजिक सञ्जालमार्फत त्यही संकेत गरेका हुन् ।

सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले हिजो अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश दिएको हो ।

गभर्नरलाई कारबाही नगर्न सर्वोच्चको आदेशसँगै निलम्बन गर्ने निर्णय गरेका अर्थमन्त्री शर्मालाई नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी दबाब परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर