ओखलढुंगाको गठबन्धनबाट जसपा र नेकपा एस आउट, यस्तो छ कांग्रेस–माओवादीको भागबण्डा – Nepal Press

ओखलढुंगाको गठबन्धनबाट जसपा र नेकपा एस आउट, यस्तो छ कांग्रेस–माओवादीको भागबण्डा

काठमाडौं । ओखलढुंगामा कांग्रेस माओवादीले मात्रै चुनावी गठबन्धन गर्ने सहमति भएको छ । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई लिएर एकीकृत समाजवादी र जसपालाई थाहै नदिइ कांग्रेस र माओवादीबिच रातारात भागबण्डामा सहमति भएको हो ।

मंगलबार बिहान मित्रवत् प्रतिस्पर्धा गरेर चुनावमा जाने सहमति भएर सत्तासाझेदार दलहरूको बैठक सकिएको भए पनि माओवादी केन्द्र र कांग्रेसबीच रातारात सहमति भएको छ ।

दुई दलबीच भएको सहमतिमा कांग्रेसले तीनवटामा प्रमुख, उपप्रमुखसहित नेतृत्व लिने भएको छ भने माओवादीले एक स्थानीय तहमा प्रमुख र तीनवटामा उपप्रमुख लिने भएको बताइएको छ ।

ओखलढुंगाका ८ स्थानीय तहमध्ये चिशंखुगढी गाउँपालिका माओवादी केन्द्रले नेतृत्व गर्ने छ भने मोलुङ र चम्पादेवी गाउँपालिका र सिद्धिचण नगरपालिकामा उपप्रमुखमा सहमति भएको छ ।

माओवादीको आधार क्षेत्र भनिएको चम्पादेवीमा पनि माओवादी केन्द्र उपप्रमुखमा चित्त बुझाएर दुई दलीय सहमति गरेकोमा माओवादी कार्यकर्ता भने असन्तुष्ट भएका छन् ।

जिल्लाको खिजिदेम्बा, सुनकोशी र मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष नै नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत भएको छ ।

माओवादी केन्द्रले ओखलढुंगाको माओवादी उद्गम स्थल भनेर चिनिने लिखु गाउँपालिकामा भने आफ्नो दाबी गरेको छ । यो गाउँपालिकामा नेपाली कांग्रेसले पनि दाबी गरेपछि निर्णय गर्न केन्द्रलाई दिने गरी प्रदेश र संघमा पठाउने सहमति भएको नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति अध्यक्ष निशान्त शर्माले बताए ।

यो भागबण्डामा दुईदलबीच भएको र गठबन्धन सहमतिमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आएमा उनीहरुलाई १–१ स्थानमा उपप्रमुख पद दिन सकिनेसमेत निर्णय भएको माओवादीका नेता बाबुराम गौतमको भनाइ छ ।

सहमति नभए  जसपा र समाजवादी एक्लै लड्ने

दुई दलले गरेको निर्णयमा आफ्नो पार्टीको सहमति नभएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य नेत्र भट्टराईले बताए । ‘अहिलेको आवश्यकता देशव्यापी रूपमा गठबन्धनको भए पनि ओखलढुंगामा गठबन्धन नभएर केही पनि असर पर्दैन ।’

जिल्लामा दुई स्थानीय तहमा आफूहरूले नेतृत्व पाउनुपर्ने बताउँदै भट्टराईले भने ‘सिद्धिचरण नगरपालिका र लिखु गाउँपालिका प्रमुख तथा अन्य एक स्थानमा उपप्रमुखमा हाम्रो दाबी हो । यदि गठबन्धन भएन भने पनि एकीकृत समाजवादीले अधिकांश स्थानीय तहका प्रमुख–उपप्रमुख र ५० भन्दा बढी वडामा वडा अध्यक्षमा उम्मेदवारी उठाउने तयारी गरेको छ ।’

जनता समाजवादी पार्टीले पनि दुई पार्टीका बीचमा भएको सहमतिलाई अस्वीकार गरेको छ । आफूहरूको दाबीका विषयमा दुई पार्टीले बेवास्ता गरेपछि ओखलढुंगामा गठबन्धनबाट बाहिरिने सम्भावना बढेको जनता समाजवादी पार्टीका नेता नेत्र बहादुर नेम्वाङ ‘नरेशले’ बताए ।

‘जनता समाजवादी पार्टी ओखलढुंगामा एक्लै भए पनि चुनावी मैदानमा जाने सम्भावना सँगै तयारी थालेको छ ।’ तर यस विषयमा पार्टीको आधिकारिक निर्णय भने हुन बाँकी रहेको छ’, उनले भने ।

जसपाले खिजीदेम्बामा भने स्थानीय निर्वाचनका लागि गाउँपालिका अध्यक्षको उमेदवार समेत घोषणा गरेको छ । जिल्लाका मानेभञ्ज्याङ र खिजीदेम्बामा राम्रो पकड रहेको छ भने अन्य स्थानमा पनि संगठन राम्रो रहेको जसपाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर