आर्थिक सहयोगका लागि श्रीलंका दिगो ऋण मार्गमा हुनुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको भनाई
काठमाडौं । अन्तर्राष्ट्रिय मौद्रिक कोषले श्रीलंकालाई आर्थिक सहयोग गर्नु पूर्व श्रीलंका दिगो ऋण मार्गमा रहेको पर्याप्त आधार हुनु आवश्यक रहेको बताएको छ ।
आईएमएफ श्रीलंका मिसन प्रमुख मासाहिरो नोजाकीले मङ्गलवार रोयटर्सलाई दिएको एक वक्तव्यमा आईएमएफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले मङ्गलवार श्रीलंकाको प्रतिनिधिमण्डलसँग ऋण विकल्प र नीति योजनाबारे छलफल बताइन् ।
उनले आईएमएफ समर्थित कार्यक्रम श्रीलंकाको भुक्तानी समस्याको तीव्र सन्तुलन समाधान गर्ने र अर्थव्यवस्थालाई सकेसम्म चाँडै दिगो विकास मार्गमा फर्काउने हिसाबले डिजाइन गरिन पर्ने प्रारम्भिक निष्कर्ष निस्किएको बताएका छन् ।
चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलकांमा आर्थिक संकट विरुद्धको प्रदर्शन बढ्दै गएपछि श्रीलंकाले हाल अन्तर्राष्ट्रिय मुद्रा कोषसँग द्रुत वित्त साधन (आरएफआई) ऋणका लागि आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले हाल श्रीलंकामा देखा परेको चरम आर्थिक संकट र यसका कारण आम मानिसले भोग्न परेको समस्यालाई लिएर चासो व्यक्त गरेको पनि नोजाकीले जानकारी गराएका छन् । यद्यपि आईएमएफले गत महिना गरेको वार्षिक आर्थिक समीक्षामा श्रीलंकाको सार्वजनिक ऋण अस्थिर रहेको र आकस्मिक आरएफआई सहित कुनै पनि आईएमएफ ऋण अगाडि बढाउनु पूर्व ऋण स्थायित्व पुनर्स्थापित गर्न देशले कदम चाल्नु आवश्यक रहेको भन्ने निष्कर्ष निकालेको नोजाकीको भनाई छ ।
ऋण स्थायित्वको पुनर्स्थापनाको लागि सामान्यतया सार्वजनिक ऋणको पुनर्गठन वा पुनः निर्माण आवश्यक हुन्छ । ऋण स्थायित्व पुनर्स्थापित गर्न श्रीलंकालाई उसको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनबाट सहयोगको आवश्यकता पर्ने कोषको भनाई छ ।
मुद्रा कोषले सामान्यतया प्राकृतिक प्रकोप, द्वन्द्व, महामारी आदीले उत्पन्न हुने भुक्तानी समस्यालाई समाधान गर्नका निमित्त सशर्त आरएफआई ऋण उपलब्ध गराउने गर्छ ।
ऋण स्थायित्व समाधान हुनेछ भन्ने पर्याप्त आश्वासन प्राप्त भएपछि श्रीलंकाका लागि सम्भावित आरएफआईका लागि यी विचारहरूको जाँच गरिने नोजाकीको भनाई छ । तर छलफल अझै पनि प्रारम्भिक तहमा रहेको कारण कुनै ठोस निष्कर्षमा नपुगिएको नोजाकीले बताए ।