कम्युनिस्टको डरले कम्युनिस्टसँगै तालमेल गर्नुपर्ने अवस्था अन्त्य गरौँ : महामन्त्री थापा – Nepal Press

कम्युनिस्टको डरले कम्युनिस्टसँगै तालमेल गर्नुपर्ने अवस्था अन्त्य गरौँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक्लै चुनाव लड्न र जित्न सक्ने कांग्रेस बनाउन अझै संघर्ष गर्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने मत पार्टीभित्र अल्पमतमा परे पनि ढिलोचाँडो एक्लै निर्वाचन लडेर जित् नसक्ने कांग्रेस बनाइछाड्ने बताए ।

‘कांग्रेसको मत ३०–३२ लाख हो । त्यो मत नबढाउने हो भने हामी कुनै न कुनै कम्युनिस्ट पार्टीसँग डराइरहनुपर्छ । अहिले कम्युनिस्टहरू मिल्ने डरले गठबन्धन गरेका छौँ, भोलि जितेर आएपछि उनीहरूले अर्को डर देखाउँछन् । त्यसैले अब डराउने होइन, एक्लै चुनाव जित्ने कांग्रेस बनाउनुपर्छ’, महामन्त्री थापाले भने ।

ढिलोचाँडो नेपालका कम्युनिस्टहरू एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिस्टहरू एकै भए पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने हाम्रो लक्ष्य हो ।

‘हाम्रो मत कहिले पार्टीकै मत बन्छ । कहिले हाम्रो मत अल्पमतमा पर्न पनि सक्छ । अहिले अल्पमतमा परे पनि कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने पार्टी बनाउने उद्देश्यमा हामी विचलित छैनौँ’, थापाले भने ।

नेपालका कम्युनिस्टहरू रातारात एकता वा रातारात विभाजन गर्न माहिर रहेको भन्दै थापाले चुनावपछि पनि गठबन्धनको निरन्तरता निश्चित नहुने बताए ।

‘अहिले हामी मिल्दिम भनेर डर देखाएका छन् । जितेर आएपछि हामीलाई चाहियो भनेर डर देखाउँछन्’, थापाले भने ।

कांग्रेसको केन्द्रीय समितिले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार स्थानीय समितिलाई दिए पनि त्यो कार्यान्वयन हुन नसकेको थापाको भनाई छ ।

‘के हामीले केन्द्रीय समितिको निर्णय कार्यान्वयन गरेका छौँ त ? चुनावी तालमेलबारे स्थानीय समितिले नै अन्तिम निर्णय गर्नुपर्ने हो तर अहिले के भइरहेको छ ? यो सबै विषयको उपयुक्त समयमा समीक्षा गर्नुपर्छ’, थापाले भने ।

युवा विद्यार्थीहरूलाई चुनावका लागि तत्कालै आ–आफ्नो गृह जिल्ला जान निर्देशन दिदैं महामन्त्री थापाले पार्टीले निर्णय नगर्दासम्म लड्नुपर्ने र निर्णय भइसकेपछि मान्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर